म्याग्दी। पछिल्लो समय युवा वर्ग स्वादेशमै मेहनत गर्न थालेकाछन् । म्याग्दी बेनीका युवाले यति बेला गाउँमै नयाँ कामको थालनी गर्न थालेकाहुन् । बेनी नगरपालिका हुलाकीडाँडाका ईश्वर केसीले जिल्लामै पहिलो पटक टर्की जातको पक्षी पालन गर्नुभएको हो ।

गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राख्नुभएका केसीले डेढ वर्षअघि पाल्पाबाट १२ वटा चल्ला ल्याएर टर्की पाल्न शुरु गर्नुभएको हो । एक वर्षयता रु दुई लाखभन्दा बढीको टर्की र चल्ला बिक्री गरेको उहाँले बताउनुभयो । भर्खर जन्मेको टर्कीको चल्लाको मूल्य रु तीन सयदेखि रु चार सय तथा एक महिना पाल्दा रु एक हजार ५०० पर्छ । चार महिनामा चल्ला दिन शुरु गर्ने टर्की छ देखि नौ महिनासम्म मासु खानका लागि उपयुक्त हुन्छ ।

भाले टर्की १२ देखि १३ किलोग्राम तथा पोथी सातदेखि आठ किलोग्राम तौलको हुन्छ । एक किलो टर्कीको मासुको मूल्य रु एक हजार पर्छ । यतिखेर केसी नमूना कृषकका रुपमा चिनिन थाल्नुभएको छ । सञ्चारमाध्यम र इन्टरनेटको माध्यमबाट टर्कीपालनसम्बन्धी जानकारी पाएपछि उहाँ यसतर्फ आकर्षित हुनुभएको हो ।

“टर्कीको मासु गाउँमै बिक्री भइरहेको छ,” उहाँले भन्नुभयो, “बेनीबाट जिउँदो टर्की किन्न ग्राहक घरमै पुग्ने गरेका छन् । स्वदेशीभन्दा विदेशी पर्यटकले यसको मासु मन पराउने गर्छन् ।” अण्डा उत्पादनका लागि ५०० लेयर्स जातका कुखुरा पालन गर्दै आएका केसीले टर्कीको संख्या बढाउने र लोपोन्मुख स्थानीय साकिनी, घाँटीखुइले र उल्टे जातका कुखुरापालन गर्ने योजना बनाउनुभएको छ ।

एक वर्षमा पूर्ण रुपले तयार हुने पक्षी टर्कीलाई कुखुरालाई जस्तै दाना र हरियो घाँसको आहारा खुवाउने गर्नुहुन्छ । उच्च रक्तचाप, मधुमेह, एसिडजस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिन्छ । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने हुँदा यसको मासुको माग बढिरहेको छ ।