चितवन। कुखुरा उत्पादनमा झण्डै आत्मनिर्भर बनेको नेपाल कुखुरा उत्पादन आवश्यक पर्ने चल्लामा भने परनिर्भर छ । नेपालमा वार्षिक ६५ करोड ५६ लाख मूल्यबराबरको एकदिने माउ चल्ला आयात हुने गरेको छ । लेयर्स माउ चल्ला अमेरिका र जर्मनीलगायत मुलुकबाट र ब्रोइलर माउ चल्ला श्रीलंका, थाइल्याण्ड, मलेसिना, भारत, फिलिपिन्सलगायतका मुलुकबाट आयात हुँदै आएको छ ।

वार्षिक एक लाख १२ हजार लेर्यसको माउ चल्ला र १२ लाख ब्रोइलरको माउ चल्ला नेपाल भित्रिने गरेको पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईले जानकारी दिए । लेर्यसको प्रति चल्लाको मूल्य ७.५ यूरो र ब्रोइलरको प्रति चल्ला मूल्य ४.५ डलर पर्न आउँछ । यसरी हिसाव गर्दा ५६ करोड १६ लाख ब्रोइलरको माउ चल्ला र ९ करोड ४० लाख लेर्यसको माउ चल्लाखरिदमा जाने गरेको छ ।

एकदिने चल्ला हवाइजहाजबाट मगाइने र ७२ घण्टाभित्र नेपाल आइपुग्ने विज्ञ डा. भट्टराईले बताए । चिक्स बक्सका हालेर चल्ला ल्याउने गरिन्छ । ‘एकदिने चल्लाले खान नपाएपनि केहीदिनसम्म सहजै बाँच्न सक्छ, बढि दिनको ल्याउँदा मर्ने सम्भावना हुनाले एकदिन चल्ला नै ल्याउने गरिएको हो’ डा. भट्टराईले भने ।

लेर्यसको चल्लाले २० हप्ता पालेपछि ८० हप्तासम्म मात्रैं अण्डा दिन सुरु गर्दछ भने, ब्रोइलरको चल्लाले २४ हप्ता पालेपछि ६४ हप्तासम्म मात्रैं अण्डा दिने गर्दछ । ‘यो समयपछि अण्डा त दिन्छ तर प्रोडक्टिभिटी घटेर जान्छ नयाँ चल्ला हाल्नुपर्ने हुन्छ’ डा. भट्टराईले भने, ‘ब्रोइलरमा अझैं बढी मात्रामा ट्रान्ज्याक्सन हुन्छ ।’ नेपालमा १९५ वटा हृयाचरी उद्योगले एकदिने चल्ला आयात गर्ने गरेका छन् ।