कुखुराको खोर वातावरणको अवस्थामा ध्यान दिएर निर्माण गर्नुपर्छ । खोर निर्माण गर्दा चिसो, तातो, हावा, पानीबाट रक्षा गर्ने हिसाबले बनाउनुपर्छ । कुखुरा रहेको ठाउँमा हावा जाने आउने ठाउँ हुनुपर्छ र बाह्य परभक्षीलाई रोक्ने खोर बनाउनुपर्छ । विभिन्न किसिमका खोरहरू आफूलाई अनुकूल हुने हिसाबले बनाउन सकिन्छ । जस्तै : पक्की इँटाको गारो लगाएर तथा बाँसको चोयाले पनि बनाउन सकिन्छ ।

खोर निर्माण गर्दा यातायातको सुविधा, पानी, बत्तीको राम्रो आपूर्ति भएको, पानीको निकासा भएको, राम्रोसँग घाम लाग्ने, बजारको सुविधा भएको स्थान छनोट गर्नुपर्छ ।

कुखुराको खोर निर्माण गर्दा पूर्व–पश्चिम दिशालाई खुला राख्नुपर्छ, जसले गर्दा सूर्यको प्रकाश खोरमा छिर्नसकोस् ।

सोत्तर प्रणालीमा कुखुरा पाल्दा ब्रोइलर कुखुरालाई १ वर्गफुट तथा लेयर्स कुखुरालाई २ वर्गफुट स्थानको आवश्यकता पर्छ ।

दुईतिरबाट जाली भएको हावाको निकास भएको खोर बनाउनुपर्छ ।

कुखुरापलान व्यवसाय यस्तो व्यवसाय हो जसमा जग्गाको छनौट र खोर निर्माण देखि उत्पादन बजारीकरणको चरणसम्म वैज्ञानिक नियम र सुत्रहरु अवलम्बन गर्नुपर्छ । जग्गाको छनौट व्यवसायको निम्ती सुरुको सबैभन्दा महत्वपूर्ण चरण हो । उपयुक्त जग्गाको छनौट गर्न सकिएन भने व्यवसाय संचालनको क्रममा अनेक बाधा-व्यवधान आउन सक्छन् र लगानी नउठ्दै व्यवसाय धरासायी बन्न सक्छ ।

निम्न गुणहरु भएको जग्गालाई कुखुरापालनको लागि उपयुक्त मान्न सकिन्छ ।

जग्गा छनौट :
१. घना बस्ति तथा आवास क्षेत्रबाट टाढा अवस्थित हुनुपर्ने । व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी संचालन निर्देशिका, २०७१ बमोजिम पंक्षी फार्म मानिस बस्ने घना बस्ति (१५ घरधुरी) बाट कम्तिमा १०० मिटरको दुरीमा हुनु पर्नेछ । यद्दपी सो निर्देशिकामा अन्य जनघनत्व बढी हुनसक्ने ठाउँहरु (जस्तैः स्कुल, कलेज, मन्दिर, मैदान, जात्रा लाग्ने स्थल आदि) बाट कति तथा हुनुपर्ने भन्ने स्पष्ट उल्लेख गरिएको छैन । त्यस्ता जनघनत्व बढी हुनसक्ने स्थलहरुबाट पनि फार्म जतिसक्दो टाढा अवस्थित भएको उपयुक्त हुन्छ ।

२. व्यस्त सडक (ठुलो हाईवे) र बजार क्षेत्रबाट टाढा हुनुपर्ने । व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी संचालन निर्देशिका, २०७१ बमोजिम पंक्षी फार्म राष्ट्रिय राजमार्गबाट कम्तिमा पनि २०० मिटर टाढा हुनु पर्नेछ । राष्ट्रिय राजमार्ग बाहेकको जिल्ला सदरमुकाम जोड्ने सडकको हकमा १०० मिटर टाढा हुनु पर्नेछ । सो बाहेकको अन्य सडकको हकमा ५० मिटर टाढा हुनु पर्नेछ ।

प्रशस्त सफा, स्वस्छ पिउने पानि प्राप्त गर्न सकिने ठाउँ हुनुपर्ने । बोरिङ्ग उपयुक्त उपाय हो ।

जमिन सधै चिसो भइराख्ने हुनु हुदैन र सुर्यको प्रकाश पर्ने खालको हुनुपर्छ ।

गर्मीेयाममा तापक्रम अत्याधिक नहुने र सापेक्षिक आद्रता पनि अत्याधिक नहुने ठाउँ रोज्न सके उत्पादनमा तुलनात्मक लाभ रहन्छ ।

दाना, औषधि, भ्याक्सिन, इक्युपमेन्ट तथा उत्पादन बजारबाट फार्म र फार्मबाट बजार ओसार-पोसार गर्न मिल्ने खालको हुनुपर्ने ।

खोर बनाउने जग्गा खाला परेको एवं पानी जम्ने किसिमको हुनु हुदैन । केहि उच्च परेको भूभाग र वरीपरि पानी नजम्ने र ढल निकाश बनाउन सकिने खालको भएको राम्रो हुन्छ ।

अन्य स्थापित पोल्ट्री फार्म देखि टाढा हुनुपर्ने । व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी संचालन निर्देशिका, २०७१ बमोजिम एक ह्याचरी देखि अर्को ह्याचारिको दुरी कम्तिमा २०० मिटरको फरकमा हुनुपर्नेछ । २० हजार भन्दा बढी संख्यामा पंक्षी पालन गरिने स्थानको हकमा फार्महरु बीच १०० मिटर दुरी हुनु पर्नेछ । अन्य फार्मको हकमा १० मिटर फरक हुनुपर्नेछ । त्यस्तै ग्राण्ड प्यारेन्ट फार्मबाट अन्य फार्मको दुरी कम्तिमा १ किलोमिटर हुनु पर्नेछ भनि उल्लेख भएको छ । जैविक सुरक्षाको दृष्टिकोणबाट हेर्दा उपरोक्त दुरीहरु असाध्यै कम उल्लेख भएको छ । उपरोक्त दुरिहरु जतिसक्दो धेरै कायम गर्न सक्यो पंक्षी पालन व्यवसाय उति नै सुरक्षित हुनेछ ।

खोर निर्माण :
कुखुराको खोर यसरी निर्माण गर्नुपर्छ ताकि कुखुरा सुरक्षित त रहोस् नै साथ-साथै अधिकतम उत्पादनको लागि उपयुक्त वातावरण पनि मिलोस् । खोरको बनौट उपयुक्त भएन भने विभिन्न स्वास्थ्यजन्य समस्या आइपर्छ र सोचे अनुरुप उत्पादन लिन सकिदैन । कुखुराको खोर निर्माण गर्ने क्रममा निम्न लिखित कुराहरुमा ध्यान दिनुपर्छ ।

१. खोरको लम्बाई पुर्व-पश्चिम र चौडाई उत्तर-दक्षिण हुनेगरी निर्माण गर्नुपर्छ । लम्बाई पुर्व-पश्चिम बनाई सुर्यको ताप सिधै खोरमा पर्नबाट जोगाउन सकिन्छ अर्थात् सुर्यको तापलाई अधिकतम रुपमा छल्न सकिन्छ ।

२. पुर्व-पश्चिमको मुखमा दिवाल लगाउने (घाम छेक्न) र उत्तर—दक्षिणको मुखमा तार जाली लगाउने ९स्वच्छ हावा संचारको लागि० । उत्तर र दक्षिण साईडको छोटो दिवाल जम्मा एक देखि डेढ फुट उठाई त्यसमाथि तार जाली लगाउने ।

३. पुर्व-पश्चिम लम्बाई चाहे जति लामो बनाउन सकिन्छ । जग्गाको उपलब्धता र कृषकले गर्नसक्ने लगानीको आधारमा ५०० फिटसम्म लामो बनाउन सकिन्छ । तर लामो खोरमा पर्याप्त ढोका राख्न र जालीले पार्टिसन वा खण्डिकरण गर्न आवश्यक हुन्छ ।

४. ओपेन हाउस प्रणालीमा उत्तर-दक्षिण चौडाई २८ देखि ३० फिट भन्दा लामो बनाउन हुदैन । व्रोइलर कुखुराको हकमा चौडाई २० देखि २२ फिट मात्र राख्न सके अझै राम्रो हुन्छ । अनावश्यक धेरै चौडाई भएको खोरमा हावाको संचार राम्रोसँग हुन पाउँदैन । फलस्वरूप दुर्गन्ध हुने र सोत्तर चिसो हुने समस्या रहन्छ । चिस्यानको कारणले विविध ब्याक्टेरिया जन्य संक्रमणको समस्या पैदा हुन्छ ।

५. खोरको कुखुरा बस्ने सतह जमिन भन्दा केहि माथि (अवस्था हेरी २-४ फिटसम्म) उठेको हुनुपर्छ ताकि वर्षाको समयमा जमेको पानि खोरभित्र छिर्न नपाओस् ।

६. सकभर कुखुरा बस्ने सतह पक्का ढलान गरेको हुनुपर्छ । माटोको सतह भएमा रोग संक्रमणको समस्या व्यापक हुन्छ । अघिल्लो लटको वयस्क कुखुराले खोरमा अनेक संक्रमणका किटाणुहरु छोडेर गएका हुन्छन । तसर्थ खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा खोरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । यसरी एकै खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा गरिने खोरको विशेष प्रकारको सरसफाईलाई कम्प्लिट हाउस क्लिन आउट (Complete House Clean-Out) भनिन्छ । माटोको सतह भएको खोरमा कम्प्लिट हाउस क्लिन आउटको प्रक्रिया अवलम्बन गर्न सम्भव हुँदैन ।

७. जग र सतहको ढलान पक्का किसिमको निर्माण गर्नुपर्छ ताकि मुसा, सर्प, स्याल, विरालो आदि प्वाल बनाएर खोरभित्र छिर्न नसकुन् । कतिपय राम्रो आधुनिक खोरमा मुसाबाट जोगिन मुसा निषेधक (Rat Proof) प्रविधि अपनाइएको हुन्छ ।

८. खोरको साईडको उचाई कम्तिमा ९ देखि १० फिट हुनुपर्छ । उचाई कम भएमा हावाको संचार कम हुन्छ साथ-साथै गर्मिमा हिट स्ट्रेसको समस्या व्यापक हुन्छ ।

९. खोरको बीचको उचाई कम्तिमा १३ देखि १४ फिट हुनुपर्छ ।

१०. टिनको छानो प्रयोग गर्न सकिन्छ । गर्मि मौसममा कुखुरालाई हिट स्ट्रेसको प्रभावबाट जोगाउन छाउने बेलामा नै टिनको बाहिरी भागलाई सेतो रंगले पोत्दा उपयुक्त हुन्छ । टिनलाई खरले ढाकेर गर्मीको तनावलाई न्यूनीकरण गर्न सकिन्छ ।

११. साईडमा टिनको पाता तार-जाली भन्दा २-३ फिट परसम्म फैलिएको हुनुपर्छ ताकि वर्षामा छड्के बाछिटो पर्दा खोर भित्र नपरोस् ।

१२. तार-जालीको बाहिरतिर प्लास्टिक पर्दा झुन्ड्याउने र आवश्यकता अनुरुप खोल्ने लगाउने गर्नुपर्छ । तलबाट माथि खोल्ने खालको भन्दापनि आधुनिक पुल्ली सिस्टममा जडित माथिबाट तल खोल्न मिल्ने खालको पर्दा उपयुक्त हुन्छ । पुल्ली सिस्टमले गर्दा एकै ठाउँमा उभिएर पुल्ली घुमाई पुरै खोरको पर्दा सजिलै लगाउन वा खोल्न सकिन्छ । यसबाट कामदारको पनि बचत हुन्छ ।

१३. खोरको वरी-परि पक्का पेटी भए राम्रो हुन्छ । यसले कामदारलाई हिडडुल गर्न सजिलो हुनुको साथ-साथै बाहिरी वातावरणबाट कुखुराको सम्पर्कलाई टाढा बनाउछ (जैविक सुरक्षाको नजरले पनि राम्रो हुन्छ ।) यसले गर्दा सर-सफाई गर्न पनि सजिलो हुन्छ ।

१४. खोर सर—सफाई गर्दा निस्किने फोहोर पानिलाई निकास दिने नालाको व्यवस्था हुनुपर्छ

१५. एकै फार्मभित्र एक भन्दा बढी खोर भएको अवस्थामा, एक खोर देखि अर्को खोर बीचको दुरी कम्तिमा पनि ४० फिट हुनुपर्छ । सो भन्दा नजिक भए हावाको संचार पर्याप्त नभई अनेक किसिमका स्वस्थजन्य समस्या आइपर्छ ।

१६. लम्बाई अनुसार खोरमा पर्याप्त संख्यामा ढोका राख्नुपर्छ ताकि काम गर्न सहज होस् ।

१७. ढोका अगाडी फुट-बाथ बनाउनुपर्छ । फुट-बाथमा नियमित रुपमा ताजा निसंक्रमण झोल राख्नुपर्छ । खोरभित्र पस्दा अनिवार्य रुपमा फुट बाथमा खुट्टा चोपेर मात्र पस्नुपर्छ । फुट बाथ कम्तिमा २ इन्च गहिरो होस् ताकि खोरभित्र पस्ने क्रममा जुत्ता-चप्पल राम्रो संग भिजोस् ।

१८. पानीको ड्रम उचाइमा तर छायाँ पर्ने गरी राख्नुपर्छ ताकि गर्र्मीमा घामको किरणले तातिन नपाओस् । सकभर खोरभित्रै राख्ने व्यवस्था मिलाउन सके उचित हुन्छ । तातिएको पानि कुखुराले कम खान्छ । पानि कम हुनाले गर्र्मीको तनाव बढी हुन्छ । पानिको खपत कम भएपछी दानाको खपत पनि कम हुन्छ र उत्पादनमा ह्रास आउँछ । साथै घामले तातिएको पानीमा ब्याक्टेरियाको वृद्दि पनि व्यापक हुन्छ ।

१९. फार्ममा कुकुर, विरालो, स्याल लगायत अन्य वन्यजन्तु साथै अनावश्यक व्यक्ति प्रवेश नगरुन् भन्नको लागि फार्म परिसर वरिपरि तार-जालीको बाउन्ड्री बनाउने ।

२०. झिंगा-किराको प्रकोप नहोस् भन्नको लागि फार्मको वरिपरि झाडी रहन नदिने, खाल्डा-खुल्डी पुर्ने र पानि जम्मा हुन नदिने साथै सर-सफाईमा विशेष ध्यान दिने ।

२१. कहिँ-कतैबाट चरा प्रवेश गर्न नमिल्ने गरि प्वाल रहित खोर निर्माण गर्ने ।

२२. दाना भण्डारण गर्नको लागि खोर बाहिर नै छुट्टै दाना भण्डारण कक्षको निर्माण गर्ने । खोरभित्र दाना भण्डारण गर्नु उपयुक्त हुदैन ।

२३. बिरामी कुखुरा स्वस्थ कुखुरादेखि अलग्गै राख्नको निम्ति छुट्टै कक्षको निर्माण गर्नु उपयुक्त हुन्छ ।

२४. प्रत्येक फार्मको मरेको कुखुरा गाड्नको निम्ति खोरभन्दा पर डिस्पोजल पिट बनाउनु पर्छ । पिटको मुखमा ढकनको व्यवस्था हुनुपर्छ ताकि मरेको कुखुरा पिटभित्र खसालेपछि दुर्गन्धन फैलियोस् । १००० कुखुरा क्षमताको खोरलाई ६-८ फिट गहिरो र २ फिट व्यास भएको मोर्टालिटी पिट वा डिस्पोजल खाल्डो आवश्यक पर्दछ । राम्रो फार्ममा पोस्टमार्टम गर्न छुट्टै ठाउँको व्यवस्था गरिएको हुन्छ ।

नोट : खोर बनाउँदा बिज्ञ संग आवश्यक सल्लाह लिनु आवश्यक छ । यदि थप जानकारी चाहियमा कमेन्ट गर्नुहोस आवश्यका जानकारी लिई शुझाव दिने छौं ।