सिन्धुपाल्चोक। सुर्यमुखी साना किसान कृषक सहकारी संस्थाले ‘लर्न एन्ड अर्न कार्यक्रम’ का लागि १३ युवाको नाम सिफारिस गरेको छ । सिन्धुपाल्चोकको भोटेचौरमा रहेर ग्रामीण क्षेत्रमा प्रभावकारी सेवा दिएको सहकारीले संस्थामा आवद्ध सदस्य तथा उनीहरुका छोराछोरीलाई लिखित तथा मौखिक परीक्षाको आधारमा छनौट गरेको हो ।

साना किसान विकास बैंकले इजरायल सरकारको सहयोगमा प्राप्त गरेका उक्त कार्यक्रममा वार्षिक ५ सय कृषक युवाहरुले सहभागिता जनाउने गरेका छन् । सहकारीले छनौट गरेका प्रशिक्षार्थी युवाहरुलाई साना किसान विकास बैंकले गोला प्रथा र अन्तरवार्ताका आधारमा अन्तिम छनोट गर्ने गरेको छ ।

हाल ‘लर्न एन्ड अर्न कार्यक्रम’ अन्तरगत सुर्यमुखी सहकारीबाट ३० जना भन्दा धेरै युवाहरुले सहभागिता जनाइसकेका छन् । गोला प्रथाबाट छानिने भएकाले यो प्रणालीलाई अन्त्यान्तै स्वस्च्छ प्रतिस्पर्धा मानिएको छ ।

लर्न एन्ड अर्न (सिकौ र कमाऔं) भनिने यो कार्यक्रममा काम गराइबाट सिक्न पाइन्छ । यसबाट आकर्षक तलबसमेत मिल्ने गरेको छ । नेपालको निर्वाहमुखी कृषिलाई ब्यवसायीकरण गर्न इजरायलले सहयोग गर्ने भएपछि यो कार्यक्रम अझै प्रभावकारी देखिएको हो । कृषि प्रविधी मात्र नभई प्रणालीलाई समेत नेपालमा भित्र्याउन यो कार्यक्रमले सहयोग गरेको सहकारीको भनाई छ ।

नेपाली युवाहरुलाई इजरायले विश्वास गरेका कारण पनि नेपालीको कोटा संरक्षण हुँदै आएको छ । नेपाली श्रमिकहरू इमान्दार, कर्तव्यपरायण र मेहनती भएकाले इजरायको विश्वास नेपालले प्राप्त गर्न सकेको हो ।

सुर्यमुखी सहकारीमा अघिल्ला बर्षहरुमा १० देखी १५ जना युवाहरुले आवेदन दिने गरेका थिए । सहकारीका यो वर्ष २९ जनाले दिएको परीक्षामा कोटा अनुसार १३ जना युवालाई छनौट गरिएको हो । ‘हामीले यो कार्यक्रम अन्तरर्गत हाम्रा सेयर सदस्यका छोरा छोरीलाई इजरायल जानका लागि सिफारिस गर्ने गरेका छौं’, सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंले भने,‘विशुद्ध कृषि कर्म र सिपका लागि पठाउने भएकाले यो कार्यक्रम अन्यान्तै प्रभावकारी देखिएको छ ।’ उनले यो कार्यक्रबाट आफ्ना सेयर सदस्यहरुको जीवनस्तर र परम्परागत कृषि प्रणालीमा सुधार आउने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा २२ वर्ष देखी तीस वर्षसम्मका युवाले सहभागिता जनाउन पाउने छन् । ‘११ महिनाको छोटो अवधिमा राम्रो कमाई र सीप प्राप्त हुने भएकाले धेरै युवाको यसमा अकर्षण छ’, अध्यक्ष चौलागाईंले भने, ‘हामीले लिखित तथा मौखिक परीक्षाको आधारमा उच्च अंक ल्याउने १३ जना युवाहरुलाई कोटा अनुसार छनौट गरेका हौ ।’

इजरायलमा प्रभावकारी र सुक्ष्म सिचाई प्रविधि, पानीको स्रोत व्यवस्थापन, उच्च उत्पादन विधि, पोष्ट हार्भेस्ट, आधुनिक डेरी फार्मिङ प्रचलित छन् । साना किसान इजरायको प्रविधि सिक्न आउनेलाई पछिल्ला चार वर्षयता नेपालको साना किसन विकास बैंकमार्फत प्रशिक्षार्थी युवाहश्रलाई पठाउँदै आएको छ । सन २०१० मा नेपाल–इजराय कृषि सहयोग आदान–प्रदानबारे सम्झौता भएपछि यो कार्यक्रमले निरन्तरता पाउँदै आएको छ ।