निजगढ । भारतको हैदरावादबाट आयात गरिएको बीउ लगाउँदा मकैको घोगामा दाना नलागेपछि बाराका किसान मारमा परेका छन् । निजगढ नगरपालिकाको रतनपुरी र कृषि भवनटोल, कोहलवी नगरपालिकाको नयाँबस्ती र आसामटोल, जितपुुर सिमरा उपमहानगरपालिकाको रामनगर, जैतापुर र डुमरवाना, सिम्रौनगढ नगरपालिकाको बेवापुर, कोर्चोवा र भगवानपुर तथा पचरौता नगरपालिकाको कुडवा र बाजुपट्टिका किसान मारमा परेका हुन् ।

यस्तै, आदर्शनगर कोतवाल गाउँपालिकाको चिउटाहा र कोतवाली, बारागढी गाउँपालिकाको पथरा, पिपरा, वसन्तपुर र खोपवा, करैयामाई गाउँपालिकाको करैया, इटहर, बिल्हीलगायत गाउँका किसानले लगाएको करिब दुई हजार हेक्टर क्षेत्रफलमा लगाएको मकैको घोगामा दाना नलाग्दा किसानले करोडौँ रुपैयाँ घाटा व्यहोर्नुपरेको जिल्ला कषि विकास कार्यालयका कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिए ।

‘घोगा लागे पनि दाना नलाग्ने कारणबारे अनुसन्धान भइरहेको छ,’ उनले भने । जिल्लामा किसानले चार हजार ६३५ हेक्टरमा हिउँदे मकैबाली लगाएका छन् भने त्यसमध्ये दुई हजार हेक्टरमा रहेको मकैको घोगामा दाना नलाग्दा किसानलाई दुई करोड रुपैयाँभन्दा बढीको घाटा भएको कार्यालयले जनाएको छ ।

सरकारबाट सूचीकृत भएका ड्रागन, बन्नी, श्रेष्ठा, यनएम एच १२४७, ७३१, ७१३ लगायत जातका मकैको घोगामा दाना नलागेको कार्यालयले जनाएको छ । भारतको हैदरावादस्थित निजी बीज उत्पादन कम्पनीबाट नेपाल आयात गरिएका बीउ कलैयास्थित अरविन्द एग्रो सेन्टरले तथा ड्रागन बन्नी र श्रेष्ठा जातका मकैको बीउ स्थानीय एग्रोभेटले किसानलाई बिक्री गर्ने गरेको पाइएको छ ।

मकैको घोगामा दाना नलागेपछि क्षेत्रीय कृषि अनुसन्धानका निर्देशक रमन पौडेल नेतृत्वको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी सोबारे पीडित किसानसँग जानकारी लिएको छ ।

प्रदेश नं २ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले यसबारेमा छानबिन गरिने बताएका छन् ।