धनकुटा। दश वर्षको जनयुद्धमा बन्दुक बोकेर मुलुकको शासन व्यवस्था परिवर्तन गर्न हिँडेका भिम विक्रम लिम्बु कागती खेतीबाट आर्थिक व्यवस्था परिवर्तन गर्ने अभियानमा छन् ।

धनकुटाको साँगुरीगढी गाँउपालिका – ५ बेगनाका लिम्बुले ४० रोपनी जग्गामा क्षेत्रफलमा कागती र अकबरे खेती सुरु गरेका छन् । राजनितिमा निष्क्रिय बसेका लिम्बुले बर्षौँ अघिदेखि बाँझो रहेको जमिनमा कागतीको विरुवा हुर्काउन र अकबरे खुर्सानीको गोडमेल गर्न थालेपछि गतिलो आम्दानी पनि गर्न थालेका छन् ।

२०४३ साल देखि इलामको जनता माध्यमिक विद्यालय चुलाचुलीमा शिक्षण गरेका लिम्बु केही वर्ष लिम्बुवानको इतिहास खोजीमा समेत सक्रिय थिए । पूर्वमा जनयुद्ध प्रभाव बढ्न थालेपछि बन्दुक बोकेर राज्य व्यवस्था परिवर्तनको लागि पूर्वी पहाड र तराईमा सक्रिय भए ।
युद्धकालमा त खासै पैसाको समस्या परेन । तर खुल्ला राजनीतिमा रहेको बेला आर्थिक समस्या पर्न थाल्यो । राजनीति मुद्दामा होइन । स्वार्थमा केन्द्रित भयो । राजनीतिप्रति वितृष्णा उत्पन्न भएपछि आर्थिक समृद्धिको लागि कृषि पेशालाई लिम्बुले बताए ।

२०६७ सालदेखि कागती खेतीमा लागेका लिम्बुले एक हजार बोट कागती विरुवा लगाएका छन् । अहिले ४ सय विरुवाले उत्पादन दिइरहेको छ । कागती बेचेरै बार्षिक २ लाखभन्दा बढी आम्दानी भइरहेको लिम्बुले बताए । कागती खेती गरेकै जमिनमा अकबरे खेतीसमेत सुरु गरेका छन् । गएको वर्ष अकबरे खुर्सानी विक्री गरेर ३ लाख कमाए ।

यो वर्ष अझै बढाएर खेतीगर्ने योजना रहेको उनले बताए । लिम्बुले गाउँमा व्यवसायिक कागती र खुर्सानी खेती गर्न थालेपछि छिमेकीहरुले समेत खेती गर्न थालेका छन् । गाउँका किसानलाई भेला गरेर सुर्योदय कृषक समूह बनाएका छन् ।
त्यही समूहमार्फत जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय र गाउँपालिकाबाट उन्नत कृषि प्रविधिको तालिम र सहयोग भित्र्याएको लिम्बुले बताए । कागती खेती व्यवस्थापन र अन्य खेतीका लागि गाँउमै दैनिक ५ जनासम्मलाई रोजगार दिइरहेका छन् ।