ताप्लेजुङ । ताप्लेजुङमा यसवर्ष साढे पाँच अर्व रुपियाँ बराबरको अलैंची उत्पादन भएको छ । कालो सुनको उपमाले चिनिने पहाडी जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंचीको उत्पादन बढेसँगै आम्दानी पनि बढेको छ । जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार यो वर्ष जिल्लामा कुल दुई हजार चार सय १० मेट्रिकटन अलैंची उत्पादन भएको छ ।

यो उत्पादन गत वर्षकोभन्दा एक हजार मेट्रिकटनले बढी हो । गतवर्ष एक हजार चार सय १० मेट्रिकटन मात्र अलैंची उत्पादन भएको थियो । हालको स्थानीय बजार मूल्य न्युनतम् ९० देखि ९२ हजार रुपियाँ प्रतिमन मूल्य रहेको छ । उक्त मूल्यले यो वर्ष उत्पादन भएको अलैंचीले साढे पाँच अर्व रुपियाँभन्दा बढी रकम साट्ने भएको छ ।

कृषि विकास कार्यालय ताप्लेजुङका बागवानी विकास अधिकृत उमेश राउतले दिएको तथ्याङ्कअनुसार यो वर्ष जिल्लामा ६० हजार दुई सय ५० मन अर्थात कुल २४ लाख १० हजार किलोग्राम अलैंची उत्पादन भएको छ । हालको मूल्य ९२ हजार रुपियाँ प्रतिमनका दरले एक किलोग्राम अलैंचीको मूल्य दुई हजार तीन सय रुपियाँ पर्दछ ।

बागवानी अधिकृत राउतले गतवर्षको जस्तो अलैंचीको मूल्य अहिलेसम्म नभए पनि उत्पादनमा वृद्धि भएकाले आम्दानी बढेको बताए । अलैंची मूल्य यो वर्ष गतवर्ष भन्दा प्रतिमन १३ हजार रुपियाँले कमी रहेको छ । गतवर्ष यसै सिजनमा एक लाख पाँच हजार रुपियाँ प्रतिमनका दरले अलैंची खरिद विक्री भएको थियो ।

यस जिल्लामा अलैंची उत्पादनको तीन वर्षे तथ्याङ्कलाई हेर्दा गत वर्ष तीन अर्व ७० करोड १२ लाख ५० हजार रुपियाँ नगद भित्रिएको थियो भने अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष ०७०र०७१ मा अलैंचीबाट जिल्लामा तीन अर्व १५ करोड रुपियाँ मात्र भित्रिएको थियो । उक्त वर्ष अलैंची मूल्य पनि प्रतिमन ८० हजार रुपियाँका दरले मात्र किनबेच भएको थियो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार ताप्लेजुङमा अलैंची खेती पनि वर्षेनी विस्तार हुँदै गएको जनाएको छ । एक नगरपालिका र ४८ गाविस रहेको जिल्लामा ओलाङ्चुङगोला बाहेक सबै क्षेत्रको कुल चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिन्छ । जिल्लाको सुरुम्खिम, तेल्लोक, इखाबु, लिम्बुदिन, सिकैंचा, हाङ्देवा लगायतका गाविसमा सबैभन्दा बढी अलैंची उत्पादन हुने तथ्याङ्क रहेको बागवानी विकास अधिकृत उमेश राउतले बताए ।