रौतहट। उद्योगी र दलाल मिलेर उखु खरिदमा किसानलाई ठगी गरिरहेको खुलासा भएको छ।नियमनकारी निकायको मौनताका कारण उद्योगीले छुट्टाछुट्टै स्थानमा उखु खरिदका लागि काँटा राखेर दलालमार्फत निर्धारित दरभाउभन्दा निकै कम मूल्यमा किसानको उखु खरिद गरिरहेका छन्।
उखु उत्पादक किसान संघ र चिनी उत्पादक उद्योगीबीच काठमाडौँमा अर्को भाउ नतोकुन्जेल प्रतिक्विन्टल उखुको मूल्य मिलमा ५३१ रुपैयाँ २० पैसा निर्धारण गरिएको थियो। निर्धारित दररेटमा किसानको उखु खरिद गर्नुपर्नेमा गरुडास्थित श्रीराम सुगर मिल्स, रिलायन्स सुगर मिल तथा एभरेस्ट सुगर मिल्सले २६ रुपैयाँ २० पैसा कम मूल्यमा खरिद गरिरहेको किसानले गुनासो गरेका छन्।
जिल्लामा २० लाख क्विन्टलभन्दा बढी उखु उत्पादन हुन्छ । श्रीराम सुगर मिल गरुडाले प्रतिक्विन्टल ६ रुपैयाँ २० पैसा कम मूल्यमा खरिद गरिरहेको छ। सो मिलले दलालमार्फत उखु खरिद गरिरहेको कटहरिया नगरपालिका–१ हर्षाहाका गणेश साहले बताए।
त्यसैगरी, रिलायन्स र एभरेस्ट मिलका केही कर्मचारी र दलाल मिलेर समनपुर, बडहरवा, विजयपुर, दुधिअवा लगायत स्थानमा काँटा खोलेर प्रतिक्विन्टल उखु रु १६ देखि रु २६ भन्दा कममा खरिद गरिरहेको पीडित किसानले बताएका छन्। उखु उत्पादक किसान संघका अध्यक्ष अशोककुमार यादवले तीन वटै मिलका कर्मचारी र केही व्यापारी मिलेर किसानलाई ठगी गरिरहेको बताए।