काउली बाली भन्नाले फूलकोभी, बन्दा ग्याठकोभी, चाइनिज बन्दा, ब्रकाउली, अन्तरकोभी आदी तरकारीहरुलाई बुझाउने भएकाले काउली एउटा सामूहिक नाम हो । यो वालीहरुको वंश क्रुसिफेरी र अनुवंश ब्रासिका हो । यो तरकारीहरुको खाइने भाग फरक–फरक भए तापनि खेती प्रविधि र आवश्यकताहरु मिल्दाजुल्दा नै छन् ।
हावापानी
हावापानीको दृष्टिकोणले सबै कोभीहरु जाडो याममा हुने तरकारी हुन् । अगौटे, मध्यम र पछौटे जातहरुको खेती गर्ने समय फरक फरक हुन्छ । अगौटे जातलाई वानस्पतिक विकासको लागि बढी तापक्रम (२०–२७ डि.से.) को आवश्यकता पर्दछ र विकास भैसकेपछि त्यसमा फूल लाग्न शुरु हुन्छ । त्यस्ता काउलीलाई जाडो याममा रोपिदा वानस्पतिक हुन नपाई पहिले नै न्यून तापक्रमले गर्दा गुच्चा जत्रो मात्र फूल लाग्ने गर्छ । छोटो समयमै काउली तयार हुने हुदाँ अगौटे काउलीलाई तीन महिने काउली पनि भन्दछन् । त्यस्तै मध्यम मौसमी जातलाई १६–१९ डि.से. र पछौटे जातलाई १०–१६ डि.से. तापक्रमको आवश्यकता पर्छ । त्यसैले कम तापक्रम चाहिने मध्यम मौसमी जातहरुलाई गर्मी मौसममा लगाइयो भने पतिपात मात्र लाग्ने र तापक्रम घटेपछि फूल आउँछ । पछौटे जात भन्ने जाडो मौसममा विकास भै केहि तापक्रम बढेपछि फूल लाग्ने भएकाले यो ढिलो लगाएर गर्मी याममा काउली तयार गर्न सकिन्छ । काउली खेती गर्दा यी सबै कुराहरुमा विचार पुर्याई कुन जात कुन समयमा रोप्ने भन्ने निश्चित गर्न जरुरी छ र रोप्ने समय हेरी जातको छनौट गर्नुपर्छ ।
जात
काउलीका जातहरू:
(१) खुला सेचित जातहरू (Open Pollinated Varieties) :
(१.१) काठमाण्डौ लोकल:- बिरुवाको पात ठाडो, ठूलो, नसाहरू जेलिएको र मैन लगाएको जस्तो हरियो । कोपी सेतोदेखि बिगौति (Creamy white) रङ्ग, चेप्टो, सुरुमा कोपी कसिलो, ९०–१२० दिन तयार हुन लाग्ने र तौल १–३ के.जी. सम्म ।
(१.२) डोल्पा स्नोबल:- बिरुवा होचो, पात छोटो, ठाडो, हरियो मैन लगाएको जस्तो, कोपी कसिलो, सेतो, तौल १.५–२ के.जी. र ११०–१२० दिनमा तयार हुन्छ ।
(१.३) सर्लाही दिपाली:- बिरुवा सिधा जाने पात समेत, पात गाढा हरियो, पातको टुप्पो गोलो आकारको, कोपी सेतो, तौल ०.५–१ के.जी. सम्मको, ५५–७० दिनमा तयार हुन्छ ।
(२) वर्णसंकर जातहरू (Hybrid Varieties):-
(२.१) स्नोमिष्टिक:- पात ठूलो, ठाडो, कोपी सेतो, गोलो, तौल १.५–३.० के.जी., १२०–१३५ दिनमा तयार हुन्छ ।
(२.२) रमी:- बोट ठूलो, पात चिल्लो, ठाडो, वर्षा, कालो कुहिने रोग (Black Rot) र डाउनी मिल्ड्यू रोग सहने क्षमता, कोपीको तौल ०.८–१ के.जी र ५०–६०
दिनमा तयार हुन्छ ।
(२.३) स्नोकिङ्ग:- कोपी सेतो, कसिलो, गर्मी र वर्षा सहन सक्ने, कोपीको तौल ०.५ – ०.८ के.जी, ५५–७० दिनमा तयार हुन्छ ।
(२.४) स्नोक्राउन:- पात ठूलो, हरियो, ठाडो, कोपी सेतो, तौल १.५–२ के.जी., ७५–९० दिनमा तयार हुन्छ ।
(२.५) काश्मीरे:- पात ठूलो, कोपी पातले छोपेको, सेतो र कसिलो, तौल ०.८–१ के.जी., १००–११० दिनमा तयार हुन्छ ।
(२.६) अन्ना–६०:- पात हरियो, ठाडो पात, सुख्खा सहन सक्ने हुन्छ ।
(२.७) एन.एस.–९०:- पात ठाडो, ठूलो, कोपीको तौल १–२ के.जी., ९०–१०० दिनमा तयार हुन्छ ।
(२.८) ह्वाईट फ्लस:- पात ठाडो, कोपी सेतो, वर्षा सहन सक्ने, तौल १–२ के.जी., १००–११० दिनमा तयार हुन्छ ।
(२.९) सिल्भर कप–६०:- पात फैलिएको, कोपी सेतो, तौल ०.६–१ के.जी., वर्षा सहन सक्ने, ६०–७० दिनमा तयार हुन्छ ।
(२.१०) ह्वाईट टप:- कोपी सेतो, गोलो, कसिलो, तौल १–१.५ के.जी., ९० दिनमा तयारहुन्छ ।
(२.११) देवी–१:- कोपी गोलो, सेतो, कसिलो, पातले छोपेको, तौल १.५–२ के.जी., ९०–१०० दिनमा तयार हुन्छ ।
(२.१२) देवी–२:- कोपी सेतो, पात ठूलो, हरियो, ठाडो, कोपीको तौल १.५–२ के.जी., १००–११५ दिनमा तयार हुन्छ ।
(२.१३) अन्ना–९०:- पात ठूलो, चौडा, ठाडो, कोपी सेतो, थुँगा–थुँगा उठेको, तौल १.५–२ के.जी., ९०–१०० दिनमा तयार हुन्छ ।
(२,१४) डमी:- पात हरियो, ठाडो, कोपी सेतो, तौल १–१.५ के.जी., ७०–९० दिनमा तयार हुन्छ ।
(२.१५) मिल्की वे:- मध्य आकारको बोट, कोपी सेतो, तौल ०.८–२ के.जी. सम्म, १२०–१३० दिनमा तयार हुने, वर्षा केही सहन सक्छ ।
बन्दाका जातहरू:-
(१) खुला सेचित जातहरू (Open Pollinated Varieties):-
(१.१) कोपनहेगन मार्केट:- बन्दा गोलो, कसिलो, पात सानो, मध्यम आकारको, हल्का हरियो, बिरुवाको काण्ड सानो, बन्दाको तौल १–३ के.जी., ७५–९० दिनमा तयार हुन्छ ।
(१.२) गोल्डेन एकर:- बन्दा सानो, गोलो, पात हल्का हरियो, बन्दा कसिलो, तौल १–२
के.जी., ६०–७० दिनमा तयार हुन्छ ।
(2) वर्णसंकर जातहरू (Hybrid Varieties):-
(२.१) ग्रीन कोरोनेट:- बन्दा चेप्टो, पात गाढा हरियो, बन्दाको तौल १.५–२ के.जी., ८०–८५ दिनमा तयार हुने ।
(२.२) सुपर ग्रिन:- पात हरियो, बन्दा चेप्टो र ठूलो, तौल १.५–२.५ के.जी. ९०–१०० दिनमा तयार हुन्छ ।
(२.३) ग्रीन टप:- बन्दा अर्ध गोलाकार, चाँडै नफुट्ने, कसिलो, पात हरियो, बन्दाको तौल २–३ के.जी., १००–११० दिनमा तयार हुन्छ ।
(२.४) रुबी बल:- पात गाढा रातो, बन्दा गोलो, कसिलो, रातो, तौल १–१.५ के.जी., ६५–७५ दिनमा तयार हुन्छ ।
(२.५) टि–६२१:- पात हरियो, बन्दा गोलो, तौल १–१.५ के.जी., ६०–७० दिनमा तयार हुन्छ ।
(२.६) एन.एस.आर.(TSR):- पात गाढा हरियो, बन्दा नरिवल आकार जस्तो, तौल १–१.५ के.जी., ९०–१०० दिनमा तयार हुन्छ ।
(२.७) एन.एस.–२१:- बन्दा चेप्टो भइ गोलो आकार लिएको, पात हल्का हरियो, बन्दाको तौल १–१.५ के.जी., ८५–९० दिनमा तयार हुन्छ ।
(२.८) एन.एस.–२५:- पात हरियो, बन्दा गोलो, क्यात च्यत रोग सहन सक्ने, बन्दाको तौल १.५–२ के.जी., ८०–९० दिनमा तयार हुन्छ ।
(२.९) एन.एस.–२७:- पात हरियो, बन्दा गोलो, तौल १–२ के.जी., ८५–९० दिनमा तयार हुन्छ ।
(२.१०) रुबी किङ्ग:- बोट सिधा ठाडो, पात हरियो, बन्दा गोलो, तौल १–१.५ के.जी., ७५–८० दिनमा तयार हुन्छ
ब्रोकाउलीका जातहरू :-
(१) खुला सेचित जातहरू (Open Pollinated Varieties):
(१.१) ग्रीन स्प्राउटिङ्ग:- हरियो पात, मुख्य कोपी लिए पछि हांगाहरू पलाउने र त्यसमा स–सानो कोपी लाग्ने, चिसो कम सम्वेदनशील, १०० दिनमा तयार हुन्छ, कोपी ०.२५–०.६ के.जी. हुन्छ ।
(१.२) डेसिको:- छिटो हुने जात हो । ४५–५० दिनमा तयार हुन्छ । कम तापक्रम प्रति सम्वेदनशील, कोपीको तौल २००–५०० ग्राम हुन्छ |
(२) वर्णसंकर जातहरू (Hybrid Varieties)
(२.१) प्रिमियम कप:- बिरुवा मध्यम उचाइको, बेर्ना सारेको ६०–६८ दिनमा तयार हुन्छ ।
(२.२) एभरेष्ट ग्रीन:- कोपी गाढा हरियो, गोलाकार र तौल १ के.जी., ७५–९५ दिनमा तयार हुन्छ ।
किङ्ग डोम (८५ दिन), साकुरा (९५दिन), अर्ली यू (६५ दिन), ग्रीन डोम–८० (८० दिन), ग्रीन प्रिया (८५ दिन), सेन्ताउरो (६८ दिन) आदि चलनमा रहेका यी ब्रोकाउलीका जातहरू हुन ।
ग्याँठकोपीका जातहरू :-
(१) खुला सेचित जातहरू (Open Pollinated Varieties):-
(१.१) व्हाईट भियना:- ग्याँठकोपीको ग्याँठ हरियो, पृथ्वी आकार देखि चेप्टो गोलाकार हुन्छ । ५०–६० दिनमा तयार हुन्छ ।
(१.२) पर्पल भियना:- ग्याँठकोपीको ग्याँठ प्याजी निलो, पृथ्वी आकार देखि चेप्टो गोलाकार हुन्छ । यो पनि ५०–६० दिनमा तयार हुन्छ । दुबै जातको ग्याँठको तौल २००–२५० ग्रामको हुन्छ ।
(१.३) सम्राट:- हरियो पात भएको जात हो । ग्याठ हरियो, तौल १.६ के.जी. सम्म, ६० दिनमा तयार हुन्छ ।
(२) वर्णसंकर जातहरू (Hybrid Varieties):-
(२.१) नेपा बल:- ६०–६५ दिनमा तयार हुने जात हो ।
चाइनिज बन्दाको जातहरू:
(१) खुला सेचित जातहरू (Open Pollinated Varieties):
(१.१) मिचिली:- हल्का हरियो, पात लाम्चो, किनारा काटिएको, पातमा झुस, बन्दा लाम्चो, तौल १–२ के.जी., ९०–९५ दिनमा तयार हुन्छ ।
(१.२) स्प्रीङ्ग सन–६०:- बिरुवाको उँचाई २५–३० से.मी., ७५–८० दिनमा तयार हुन्छ । उत्पादन २०–२५ मे.टन/हे.।
(२) वर्णसंकर जातहरू (Hybrid Varieties):
(२.१) एन–७:- बिरुवा ४२ से.मी. उचाइ भएको, ९५ दिनमा बन्दा तयार हुन्छ । उत्पादन ४२ मे.टन/हे ।
(२.२) सी.आर.चुन डाईजील:- बिरुवाको उचाइ १५–२५ से.मी., ६५–७० दिनमा तयार हुन्छ । उत्पादन ४०–५० मे.टन/हे ।
(२.३) लुज:- बोटको उचाइ मध्यम, ५५–६० दिनमा बाली तयार हुन्छ ।
(२.४) विण्टर भिजिटर:- बिरुवाको उचाइ ४२ से.मी., ९० दिनमा बन्दा तयार हुन्छ । उत्पादन ९०–११० मे.टन/हे |
माटो
काउली, बन्दाको उत्पादन विभिन्न किसिमको माटोमा गरिएता पनि केहि गहिरो दोमट माटो भएको ठाँउ राम्रो मानिन्छ । माटो उर्वराशक्तियुक्त प्रांगरिक पदार्थ प्रशस्त भएको र पानी निकास सजिलै हुनुपर्दछ बढी अम्लीय माटोमा यी वालीहरु राम्रो फस्टाउदैनन । तसर्थ राम्रो उत्पादनको लागि माटोको अन्लीय पना ५.५ – ६.५ सम्म भएमा विरुवाले आवश्यक पोषकतत्व सजिलै माटोबाट लिन सक्छन् र उत्पादकत्व समेत बढदछ । बन्दा बालीको लागि अगौटे वालीको उत्पादनमा वलौरे दुमर माटो राम्रो भएता पनि बढी उत्पादन लिनका लागि पांगो दुमर माटो राम्रो हुन्छ ।
बिउदर
अगौटे जात – २५ ग्राम प्रति कठा
१० ग्राम प्रति कठा ( हाइव्रिड )
मध्य मौसमी र पछौटे जात – १५ ग्राम प्रति कठा
१० ग्राम प्रति कठा ( हाइव्रिड )
मलखाद
४० – ४५ डोको कम्पोस्ट मल अर्थात १००० – १५०० के.जी. प्रति कठा । रासायनिक मलको हकमा माटोको उर्वराशक्तिको अधारमा केहि फरक भए पनि साधारण सिफारिस अनुसार ३०५ के.जी. नाइट्रोजन, २.५ के.जी. फरसफोरस र १.६ के.जी पोटास अर्थात ५ के.जी. डि.ए.पी., यूरिया ५.७ के.जी. र म्यूरेट अफ पोटास २.६ के.जी. आवश्यक पर्दछ । डि.ए.पी., म्यूरटे अफपोटास को पुरैमात्रा तथा यूरियाको आधार मात्रा कम्पोस्ट मल संगै जग्गा तयारी गर्न बेलामा बेसल डोजका रुपमा दिनु पर्दछ भने बाँकी आधा यूरियालाई दुई स्पिलिट डोजमा प्रयोग गर्नु पर्दछ । पहिलो टपडे सिग वाली लगाएको २०–२५ दिन पछि (सारेको) र दोश्रोपल्ट ४०–४५ दिन पछि ।
गोडमेल/सिचाई
बिरुवा सारिसकेपछि ४–५ दिनको फरकमा माटोको चिस्यान हेरि पानी लगाउनुपर्छ । १०–१५ दिन पछि बिरुवा वरिपरि गोडी झार निकालि दिनु पर्दछ ।
काउली समुह तरकारी बालीका रोगहरू :
१) क्लब रुट (Club root):
ढुसीको जीवाणु Plasmodiophora brassicae ले गर्दा यो रोग हुन्छ । जमिन माथिको भागहरूमा बीना कुनै सङ्केत रोग बिरुवा भित्र फैलिसकेको हुन्छ । पहिलो लक्षण घाममा पातहरू ओइलिने र बिहान बेलुका ठाडो हुने हुन्छ । संक्रमित जरा सुनिन्छ जरामा ठुल ठुला
गाँठा बनेको हुन्छ जसलाई Club भनिन्छ ।
रोगको रोकथाम:
सुरक्षात्मक व्यवस्था गर्नमा बढी ध्यान केन्द्रीत गर्नुपर्छ । काउली समूहका परिवारको झारपातलाई मास्नु पर्छ । रोग मुक्त खेतबारी प्रयोग गर्नुपर्छ । संक्रमण मुक्त माटोमा नर्सरी गरी बेर्ना उत्पादन गर्नुपर्छ । लामो अवधिको बाली चक्र अपनाउन पर्छ । तर बाली चक्रमा काउली समूहको बाली पर्नु हुँदैन ।
PH को मान ७.२ गर्नुपर्छ । यसको लागी Hydrated lime प्रयोग गर्नुपर्छ । माटो जँचाई सिफारिस अनुसारको परिमाणमा चूना हाल्नु पर्छ ।
बेनलेटको ०.५% झोलमा बेर्नालाई २० मिनेटसम्म डुबाई रोप्नु पर्छ । त्यस पछि बिरुवालाई १० ग्राम प्रति ली. पानीमा बेन्लेटको झोल बनाइ माटो भिज्ने गरी छर्नुपर्छ ।
नेभेजिन ०.३% डि.पि. २००–३०० के.जी. /हे.जमिन को माटोमा मिसाई बेर्ना सार्नु पर्छ ।
५–८ ग्राम प्रतिबोट हाल्न पनि सकिन्छ । नर्सरीको लागी ३ के.जी. नेभेजिन प्रति १० घन मिटर माटोमा हाली उपचार गरी बीउ छर्नुपर्छ ।
(२) डाउनी मिल्ड्यू (Downy mildew):
यो रोग Peronospora parasitica ढुसीबाट हुन्छ । ढुसिको वृद्धि पातको तल्लो भागमा आउँछ । बहुवर्षीय वैकल्पीक आहारामा बांची रहन्छ र संक्रमणित अवशेषमा पनि रहन्छ ।
यो बीउबाट पनि सर्छ । पातको तल्लो सतहमा प्याजी खैरो दागहरू देखिन्छ । पातको माथिल्लो सतहमा खैरोदेखि पहेँलो घाउको ठाउँमा देखिन्छ ।
रोगको रोकथाम:
(१) खेतको सर सफाइ
(२) स्वस्थ बीउ प्रयोग गर्नुपर्छ ।
(३) यस परिवारको झारपात मास्नु पर्छ ।
(४) ब्रासिकेसी परिवारको बाली नपर्ने गरी ३–४ वर्षे बाली चक्र अपनाउने ।
(५) बीउ उपचार वेभिष्टिनले गर्ने ।
(६) १० दिनको फरकमा ०.२% को मेनकोजेवको झोल बालीमा छर्ने ।
(३) ह्वाईट रस्ट/ह्वाईट बिल्सटर (White rust/White blisters):
पातमा सेतो दागहरू देखिन्छ । पातको तल्लो भागमा बढी हुन्छ । नयाँ डाँठ र डुकुमा आक्रमण गरे पछि विभिन्न विकृतीहरू देखिन्छ । डुकुको हाँगाहरूमा सानो सेतो फोकाहरू देखिन्छ । डुकुको हाँगाहरू सुनिन्छ र फूलहरूले विकृत रुप लिन्छ । यो Albugo candida ढुसीबाट हुन्छ ।
रोगको व्यवस्थापन:
– खेतको सर सफाइ ।
– बालीको संक्रमित अवशेषहरू नष्ट गर्ने ।
– १% को बार्डोमिक्सचर प्रयोग गर्ने ।
(४) ब्ल्याक–लेग (Black leg)
यो रोग Phoma lingam ढुसीद्वारा हुन्छ । नर्सरीदेखि नै बिरुवा संक्रमित हुन्छ साथै बालीको वृद्धि विकासको जुनसुकै अवस्थामा आक्रमण गर्न सक्छ । बिरुवाको फेँदमा माटो नजिक घाउ लाग्छ र यो घाउ फेँदको चारै तीर फैलिन्छ । माटोको नजिक डाँठको घाउ जरा सम्म फैलिन्छ । पातमा र डाँठमा कालो थोप्लाहरू हुन्छ ।
रोगको रोकथाम:
बीउबाट सर्ने हुँदा Hot water treatment गरी बीउ रोप्नुपर्छ । तर पुरानो बीउलाई भने पानीमा उपचार गर्नु हुँदैन । बीउको उमार शक्ति क्षीण भए कम उम्रिन्छ । बीउ उत्पादकहरूले आफ्नो उत्पादित बीउ ताजा अवस्थाको समयमा तातो पानीमा उपचार गर्नुपर्छ ।
(५) अल्टरनेरिया लिफ स्पट (Alternaria leaf spot)
यो रोग Alternaria brassicicola ढुसीद्वारा हुन्छ । बीउबाट र संक्रमित बिरुवाको अवशेषबाट पनि फैलिन्छ । कालो स–साना थोप्लाहरू पातमा देखिन्छ र पछि चक्का जस्तो हुन्छ । डाँठ र कोसामा पनि आक्रमण गर्छ ।
रोगको रोकथाम:
– संक्रमित बालीको अवशेष नष्ट गर्ने ।
– बाली चक्र अपनाउने ।
– तातोपानीबाट उपचार गर्नुपर्छ ।
– Copper oxychloride ०.५–०.७५% झोल बनाइ बिरुवाको शुरुको अवस्थामा प्रयोग
गर्नुपर्छ ।
(६) ब्ल्याक रट (Black rot)
शितोष्ण एवं उपोष्ण क्षेत्र जहाँ वर्षा र शित बढी हुन्छ र तापक्रम १५–२२ डी.से. हुने क्षेत्रमा यो रोगले गम्भीर समस्या उत्पन्न गर्छ । यो रोग Xanthomonas compestris साकाणु (Bacteria) द्वारा हुन्छ । सानो बेर्ना देखि बिरुवाको वृद्धि विकासको कुनै पनि अवस्थामा आक्रमण गर्न सक्छ । पातको किनाराबाट सक्रमण शुरु भइ भित्र पट्टी जान्छ । किनाराको पात पहेँलो हुन्छ र अङ्ग्रजीको भि (V) को आकार लिन्छ ।
रोगको रोकथाम:
– बीउ उत्पादकले बीउ उत्पादन लगतै ५० डी.से.को तातो पानीमा आधा घण्टासम्म बीउलाई डुबाएर राख्ने ।
– २–३ वर्षे बाली चक्र अपनाउने ।
– बेर्ना उत्पादन गर्न बीउको उपचार Antibiotics ले गरेको हुनुपर्छ ।
– Streptocycline ५० पी.पी. एम. झोल बेर्ना सारे केही दिन मै छर्ने र अर्को पटक कोभी बन्न शुरु भए पछि छर्ने ।
– १२.५ के.जी. स्टेबल बिलिचिङ्ग पाउडर (Stable bleaching powder) को झोलले खेतको माटोलाई ड्रेंच (Drench) गर्ने । यसले सफ्ट रटलाई पनि नियन्त्रण गर्छ
(७) ब्याक्टेरियल सफ्ट रट (Bacterial soft rot)
यो रोग Erwinia cartovora साकाणुद्वारा हुन्छ । बिरुवामा चोट–पटक लागी घाउ भएको ठाउँबाट पस्छ । बढी आद्रतामा तिब्र गतीले फैलिन्छ । संक्रमित बिरुवा सड्न थाल्छ । डाँठमा लागेपछि यसले स्टम्प रट (Stump rot) भई डाँठलाई कुहाउँछ ।
यसको रोकथाम/व्यवस्थापन Black rot जस्तै गर्नुपर्छ ।
(८) टर्निप मोज्याक (Turnip Mosaic virus)
यसको सम्बाहक लाही हो । पात गाढा हरियो र हल्का हरियो रङ्गको छिरविरे दागहरू देखिन्छ र गाढा हरियो भागहरू माथि उठेको देखिन्छ (Puckering leaves) ।
रोगको रोकथाम:
– संक्रमित बिरुवा उखेली नष्ट गर्ने ।
– लाही कीरालाई नियन्त्रण गर्ने ।
काउली बालीमा लाग्ने विनाशकारी कीराहरू:
(१) बन्दाको पुतली (Cabbage butterfly)
बन्दाको पुतली (Pieris brasicae nepalensis) ले बन्दा, काउली, ब्रोकाउली, ग्याठकोभी, रायो, मूला आदिलाई क्षति गर्छ । वयस्क कीरा सेतो, मध्यम आकार, अगाडीको पखेटाको भागमा कालो थोप्लाहरू हुन्छ । लार्भाको शरीर भरी रौं र काला थोप्ला हुन्छ । शरिरको माथी भागमा तीनवटा धर्साहरू हुन्छ । पातहरू र कमलो डाँठ खाई क्षति गर्छ ।
रोकथाम:
– हातले फूल, लार्भा र प्यूपाहरू टिपी नष्ट गर्ने ।
– इट्रेपिड किटनाशक १.५–२ एम.एल. प्रतिलिटर पानीमा १ एम.एल. स्टीकर हाली छर्ने ।
– वा, साइपरमेथ्रिन (२० र्इं.सी.) १ एम.एल. प्रति लीटर पानीमा झोल बनाइ छर्ने ।
(२) डायमण्ड व्याक पुतली (Diamond back moth) :- ईट बुट्टे पुतली
डायमण्ड व्याक मोथ (Plutella xylostellea) ले काउलीका पातहरू प्वाल गरी कलिलो अवस्थादेखि बिरुवाहरूलाई खाई क्षति गर्छ । वयस्क पुतली खैरो रङ्ग र ३ वटा त्रिकोणाकार दागहरू अगाडीको पखेटाको पछाडी तीर हुन्छन् । लार्भा हरियो, दुवै छेउ सानो र छोए पछि गोलो आकारमा बेरिन्छ ।
रोकथाम:
काउली समूहका तरकारी बालीहरूको अवशेष नष्ट गर्ने । बेर्ना सारेको २० दिनदेखि निम मार्क ३–५ एम.एल/ली. पानीमा झोल बनाइ छर्ने र १५–१५ दिनको फरकमा पुनः छरी रहनु पर्छ । ब्यासिलस थुरेन्जेन्सिस (बि.टि.) Bacillus thuringiensis नामक साकाणु युक्त पदार्थ ०.५ किलोग्राम/हे.को दरले प्रयोग गर्ने । किटनाशक रसायनको प्रयोग :फेनवेलरेट २ ०.७५–१.०/ केलडान ५० ए.पी. २ २.०/न्यूकिल्न १० ई.सी. १.५/डुनेट १२.५ एल २ ६–९ एम.एल. वा ग्राम प्रति लीटर पानीमा १ एम.एल. स्टीकर मिसाई छर्नुपर्छ । बेर्ना सारेको १० दिन पछि २५ के.जी. केलडान (४ जी.) माटोमा छर्नुपर्छ ।
(३) उफ्रने खप्टे (Flea beetle)
उफ्रने खपटे (Phyllotreta Cruciferae) ले कोल क्रप (Cole crop), जरे बाली (गाँजर बाहेक)
जस्तै रायो, तोरी आदि बालीको पातहरू वयस्क कीराले दुलो पारी खान्छ र पातमा दुलो-दुलै देखिन्छ । वयस्क कीरा कालो टल्कने हुन्छ र उपियाँ जस्तो फड्कन्छ । लार्भाका रङ्ग सेतो र शरीर लाम्चो एवं पातलो हुन्छ ।
रोकथाम:
-निममार छर्ने ।
(४) तोरीको करौंते झिङ्गा (Mustard sawfly)
तोरीको करौंते झिङ्गा (Athalia lugens) ले काउली लगायत कोल क्रप (Cole crop) आदिलाई क्षति पुर्याउँछ । वयस्क झिङ्गा घर झिँगा जस्तै हुन्छ । टाउको कालो शरीरको रङ्ग पहेँलो र यसको शरीरको पछाडी भागमा करौंती जस्तो कालो धर्साहरू शरीर माथी हुन्छ, आठवटा खुट्टा हुन्छन् । छोए पछि बेरिन्छ । लार्भाले पातहरू खाई क्षति गर्छ ।
रोकथाम :
– बन्दाको पुतलीलाई गरिने रोकथामका उपाय यसको लागी पनि अपनाउने ।
(५) लाहीहरू (Aphids)
तोरीको लाही, काउलीको लाही आदि (Lipaphis erysini, Brevicioryne brassicae आदि) ले कोलक्रप तरकारी बालीबाट रस चुसेर क्षति गर्छ । वयस्कहरू पखेटा भएका वा नभएका दुवै हुन्छन् । नली जस्तो दुईबटा अङ्गहरू यसको शरीरको पछिल्लो भागमा हुन्छन् । जसलाई cornicles भनिन्छ । यी बाली अनुसार विभिन्न प्रजातीका हुन्छन् । बिरुवाबाट रस चुसे पछि बिरुवा पहेँलो हुन्छ ।
रोकथाम:
इमिडाक्लोप्रिड (Imidachloprid ०.७. एस.एल.) २ ०.२–०.२५ एम.एल प्रति लीटर पानीमा १ एम.एल. स्टीकर मिसाई छर्ने । तीन सप्ताह पछि डायमण्ड व्याक मोथको लागी प्रयोग गरिने किटनाशक रसायनहरू प्रयोग गर्न सकिन्छ । निममार छर्ने ।
पौष्टिकतत्वको कमीबाट हुने विकृतिहरू:
(१) कोभी कुहिने (Curd rot):
प्रायः वोरनको कमीले काउलीमा देखिन्छ । तराई र पहाड सबै ठाउँमा बोरनको कमी देखिन्छ । कोभीमा पानीले भिजेको जस्तो देखिन्छ ।
कोभीका रङ्ग खैरो हुन थाल्छ । अत्यधिक कमीमा बिरुवाको डाँठ खोक्रो हुन्छ । अझ B (बोरोन) कमीमा कोभी गुलाफी रङ्गको हुन्छ । बिरुवाको शुरुको अवस्थामा नयाँ पात पहेँलो हुन्छ र टुप्पा खैरो रङ्गको हुन्छ । द्य (वोरन) तत्वको कमीबाट प्रभावित कोभीको स्वाद फिका हुन्छ । बोरेक्स करिब ३०–४० के.जी.÷हे. माटोमा हाल्नु पर्छ । बोरोनको गम्भीर कमीमा ०.२५–०.५% को बोरेक्स झोल छर्ने । सामान्य अवस्थामा बिरुवाको शुरु देखि शुक्ष्मतत्वको मिश्रण २ ग्राम/ली. पानीमा झोल बनाइ तीन पटक छर्ने ।
(२) Whiptail (व्हीपटेल):
मोलिव्डेनम (M0) तत्वको कमीले गर्दा कलिलो बिरुवाको नयाँ पातहरूमा हरियो रङ्ग कम हुँदै जान्छ र पातको किनारा सेतो हुन्छ । समस्या गम्भीर भयो भने पात कपको आकार जस्तो हुन्छ, ओइलिन्छ र मर्छ । छिपि सकेको बिरुवामा पात आकार चौडाइमा कम हुँदै जान्छ र बीच मुख्य नसा मात्र देखिन्छ जसलाई Whiptail भनिन्छ । २५० पी.पी. एम. को सोडिय मोलिब्डेट झोल छर्नाले यो निको हुन्छ । नर्सरी देखि
नै शुक्ष्म तत्वको मिश्रण छर्दा यो समस्या आउँदैन ।
अन्य विकृतीहरू:
(१) सानो कोपी लाग्नु (Buttoning):
यसका केही कारणहरू बढी उमेरका बेर्ना, नाइट्रोजन तत्वको कमी तथा अनुपयुक्त बाली लगाउने समय आदि हुन् । तर मुख्य कारण काउली सानो कोभी लाग्नुमा वानस्पतिक वृद्धि अवरुद्ध हुनु र तापक्रम बढी हुनु हो ।
(२) कोभी खुकुलो र कोपिला देखिनु (Raicyness/Granulation):
उपयुक्त (Optimum) तापक्रम भन्दा अधिक र कम तापक्रमले काउली बालीको आवश्यकता पुरा नगरी गोभी फक्रेको हुन्छ र फूलको कोपीला खुकुल्लो देखिन्छ ।
(३) कोभी नलाग्नु (Blind):
कीराले बिरुवा मुन्टो खाई दिँदा वा खेतमा काम गर्दा मुन्टो चुडिए पछि त्यस्तो बिरुवामा कोभी लाग्दैन र यस अवस्थालाई व्लाइण्ड (Blind) भनिन्छ ।
-कृषि पोष्ट बाट