कञ्चनपुर । वनमा खेर गएको असारेको तेल बेचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले आम्दानी गर्न थालेका छन् ।

वनमा प्रशस्त रहेको असारेको महत्व बुझेपछि समूहमा आवद्ध महिलाले आम्दानी लिन थालेका हुन् । प्रगति महिला सामुदायिक वनबाट महिलाले पालैपालो असारेका पात टिपेर जडीबुटी प्रशोधनका लागि जडान गरिएको प्लान्टमा लगेर तेल निकाल्ने गरेका छन् ।

दुई जनादेखि चार जनाको समूहमा महिलाले असारेको पात टिप्ने गरेको स्थानीय राधिका साउदले बताए । प्लान्ट सञ्चालन गर्ने प्राविधिक र प्लान्टको खर्च कटाएर बाँकी रहेको रकम महिलाले बाँडेर लिने गरेका छन् ।

दैनिक महिलाले रु ५०० देखि रु एक हजारसम्म आम्दानी लिँदै आएको अर्की महिला बाटुदेवी साउदले बताए। वनमा रहेको आसारेको महत्व नबुझदा विगतमा घाँस र सोतरका रुपमा प्रयोग हुने गरेको थियो उनले भने, ‘जडीबुटीको प्लान्ट जडानसँगै असारेको तेल निकाल्न सकिने र बजारमा महँगोमा बिक्री हुने थाहा पाएपछि तेल निकाल्ने कार्यमा लागेका छौँ ।’ वनमा जताजतै रहेको असारे आम्दानीको श्रोत बन्न थालेपछि आफूहरु निकै खुशी भएको उनले बताए ।

असारेको तेल प्रतिकिलो रु चार हजारमा बिक्री हुँदै आएको छ । सम्बद्ध महिलाले हालसम्म रु ५६ हजारको तेल बिक्री गरेका छन् । अझै ४० किलो तेल विक्रीका लागि तयार छ, जसको बजार मूल्य रु एक लाख ६० हजार पर्छ ।

गाँउकै वीरबहादुर ऐरले तेल संकलन गरी नेपालगञ्ज पु¥याएर बिक्री गर्दै आउनुभएको छ । घरमै बसीबसी आम्दानी हुन थालेपछि असारे जोगाउनमा समेत महिलाले उत्तिकै चासो दिन थालेका छन् । कामै नलाग्ने झार भनेर नासिदै आएको थियो, सिता देवी साउदले भने, ‘आम्दानीको गतिलो माध्यम भएपछि जोगाउन लागेका छौँ ।’

वनको बाँझो जग्गाको सदुपयोग गर्दै सामुदायिक वनका चार वटा समूहमा आवद्ध ८० महिलामध्ये १५ जनाले मेन्थाको खेती गरी मासिक रु ३७ हजार ५०० आम्दानी गरेका छन् ।

अझै चार विघा जग्गामा उनीहरूले क्यामामाइलको खेती पनि शुरु गरेका छन् । जडीबुटी खेती थोरै मिहिनेतमा बढी आम्दानी हुने, जंगली र घरपालुवा जनावरले नखाने भएकाले पनि यसतर्फ यहाँका किसानको आकर्शण बढ्दो छ ।

अन्न र तरकारी बालीभन्दा जडीबुटी खेतीबाट बढी आम्दानी हुने भएकाले धेरैको रोजाइमा यो खेती परेको छ स्थानीय सुरत साउदले भने, ‘प्रतिवर्ष जडीबुटी खेती गर्नेको संख्या बढ्दो छ ।’