काठमाडौं । गाईभैसी पालक किसानको लागि खुशीको खवर छ । सरकारले मिल्किङ्ग मेसिनको परल खरिद मूल्यमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । पशुपन्छी विकास मन्त्रालय मातहतको पशु उत्पादन निर्देशनालयले कात्तिक एक गते सूचना  प्रकाशित गर्दै यो सुविधा उपलब्ध गराउने घोषणा गरेको हो । यो सुविधा ७५ वटै जिल्लामा उपलब्ध गराइनेछ ।

आर्थिक बर्ष २०७४।७५ को स्वीकृत बार्षिक कार्यक्रमअनुसार २० वटाभन्दा बढी दूधालु गाईभैसी पालन गरी व्यवसायिक रुपमा दूध उत्पादन गरिरहेका व्यवसायिक गाईभैसी फार्म वा फार्म सञ्चालक किसान, सहकारी कम्पनी, समितिको हकमा यो सुविधा उपलब्ध गराउने मन्त्रालयले सूचना सार्वजनिक गरेको छ ।

अनुदान प्राप्त गर्ने शर्तहरु

१. व्यवसायिक रुपमा दूध उत्पादन गरिरहेका व्यवसायिक गाईभैसी फार्म वा फार्म सञ्चालक किसान, सहकारी कम्पनी, समिति जिल्लास्थित पशु सेवा कार्यालयमा दर्ता भएको हुनुपर्छ ।

२. प्रस्तावमा कृषक सहकारी, कम्पनी, समितिआदिको लागत इष्टिमेटसहितको यो कार्यक्रम सञ्चालनका लागि स्वीकृत कार्यविधिको अनुसूची २ बमोजिमको निवेदन र अनुसूची ३ बमोजिमको कार्य योजनासहितको प्रस्ताव सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा सम्बन्धित जिल्ला पशु सेवा कार्यालयमा पेश गर्नुपर्नेछ ।

३. मिल्किङ्ग मेसिन खरिदमा पर्ने मूल्यको ५० प्रतिशत अनुदान प्राप्त गर्न चाहने प्रस्तावकले प्रस्तावना स्वीकृती पश्चात अनिवार्य रुपमा पशु बिमा गरेको हुनुपर्नेछ ।

४. पशु उत्पादन निर्देशनालयले सूचना प्रकाशित गरी प्रतिस्र्पधी दरभाव मार्फत तोकिएको गुणस्तर र मापदण्ड बमोजिमको मिल्किङ्ग मेसिन खरिद गर्न स्वीकृत भएका कम्पनी वा संस्थाबाट नियमानुसार खरिद गरिएको हुनुपर्नेछ ।

५. नेपाली नागरिकताको प्रमाणित कागजात, सम्बन्धित सरकारी निकायमा फार्म दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी, कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता पत्र संलग्न गर्नुपर्नेछ ।

६. संघ संस्था वा फार्मसँग सम्बन्धित अन्य प्रमाणपत्रका प्रतिलिपीहरु(तालिम, शैक्षिक योग्यता) र संघसंस्था, सहकारी र कम्पनीको हकमा निवेदकको आधिकारिकताको सक्कलै कागजात संलग्न गर्नुपर्नेछ ।