काठमाडौं। विगत केहि दिनदेखि परिरहेको अविरल वर्षका कारण देशभर ३३ जनाको मृत्यु हुनुका साथै ४ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । दर्जनौं स्थानमा गएको बाढी र पहिरोमा परी शुक्रबार साँझसम्म दर्जनौं व्यक्ति हताहत भएका छन् । । बस्ती नै जोखिममा पर्दा ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएका छन् । बाढीपहिरोमा परेका परिवारको बिचल्ली भएको छ । मनसुन सुरु भएयता बाढीपहिरोमा परी शुक्रबार रातिसम्म ४३ जनाभन्दा बढीको ज्यान गएको छ ।

बिहीबार रातिदेखि नै काठमाडौं उपत्यकासहित देशभर वर्षा भएको र यो क्रम अझै केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए । ‘मनसुन नेपालमा बढी सक्रिय भएकाले देशभर बदली र वर्षा हुने देखिन्छ, यसअघि वर्षा भए पनि मनसुन धेरै सक्रिय नहुँदा पर्याप्त वर्षा भएको थिएन,’ उनले भने, ‘तराईका पूर्वी र मध्य भेगमा भारी वर्षा हुने सम्भावना छ ।’

जल तथा मौसम विज्ञान विभागले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै नदीमा पानीको सतह बढेको र वर्षा बढी भएकाले पहिरो जानसक्ने भन्दै सतर्क रहन आह्वान गरेको छ ।

पाँचथर

पाँचथरमा चार जनाको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका–३, ताङलेपामा रहेको नेवा खोलामा आएको बाढीसँगै पहिरोले बगाएर शुक्रबार तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विष्णु राई, उनकी छोरी सुस्मिता र नातिनी प्रथा राई छन् । उनकै घरबाट झरेको पहिरोले पावर हाउसमा कुरुवा बसेका उनीहरूलाई थिचेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पहिरोबाट उक्त ठाउँमा आठवटा घर जोखिममा रहेको स्थानीय दिपशन चौहानले जानकारी दिए । त्यस्तै, फालेलुङ गाउँपालिका–२ एकतिनको चुक्पादिनमा पहिरोले पुरिएर ८० वर्षीय त्रिलोचन विकको मृत्यु भएको छ भने तीनवटा घर पुरेको छ ।

इटहरी

अविरल बर्षाका कारण विराटनगर इटहरी लगयत पूर्वका विभिन्न ठाउँमा ठूलो क्षति भएको छ भने सुनसरीको इटहरीमा मात्र छजनाको ज्यान गएको पूर्व क्षेत्रीय प्रहरीले जानकारी दिएको छ ।

इटहरी ३ गैरी गाउँकी ३० वर्षीया माला शाहा र उनकी छोरी सिठी, भोजपुर घोरेटार घर भइ इटहरी ४ मा बस्ने माला राइ र उनका ३ वर्षीका छोरा रुपेश र ८ वर्षकी छोरी रुपसनीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

घरभित्र बाढी पस्दा विद्युत सर्ट भइ सुनसरी इटहरी ४ का ४० वर्षीय इश्वर सुनुवारको ज्यान गएको प्रहरले जानकारी दिएको छ । त्यसगरी इटहरी २० तरहरामा नाम खुल्न नसकेको अन्दाजी ७० बर्षको देखिने राइ थरका एक ब्यक्तीको मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीका असइ सोम सुवेदीले जानकारी दिएका छन् ।

बाढीले बस्ती बगाएपछि हताहतीको संख्या थप बढ्ने अनुमान गरिएको छ । मोरङ र सुनसरी हुँदै बग्ने बुढी खोला, इटहरीको ट्याँग्रा खोला, मोरङको गछिया खोलामा बठुलो बाढी आएका कारण धेरै व्यक्तिको हताहती भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले पुर्व क्षेत्रमा आकाशको पानी परिरहेका कारण उद्धार कार्यमा कठिनाई भएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी उद्धार कार्यमा जुटेका छन् ।

बागलुङ

त्यसैगरी बागलुङस्थित गलकोट नगरपालिकाको बडागाउँमा शुक्रबार अविरल वर्षाका कारण घर भत्किँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । बिहान करिब २ बजेको समयमा घरपछाडिको गाह्रो भत्किँदा पुरिएर ७५ वर्षीय जयलाल बिक र उनका नाति १३ वर्षीय विवेक बिकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । यस्तै गलकोट नगरपालिकाले मृतक परिवारका लागि तत्काल राहतस्वरूप ३० हजार प्रदान गर्ने बताएको छ । घटनास्थलको स्थलगत अवलोकन गरी गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले तत्कालका लागि राहतस्वरूप ३० हजार दिने जानकारी दिए ।

सप्तरी

भारतीय पक्षले दसगजासित जोडेर निर्माण गरेको पक्की बाँधका कारण विभिन्न खोलानदीको पानी निकास हुन नसक्दा सप्तरीको मल्हनिया गाउँ तीन दिनदेखि टापुमा परिणत भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका १४ को मल्हनिया बस्तीका २ सय ५० घरमा पानी पसेको छ । खाँडो, जिता र कोसी नदीको पानी बस्तीमा पसेपछि त्यहाँका बासिन्दा अग्लो स्थानमा बसिरहेका छन् । खाँडो, जिता र कोसी नदीको बाढी भारततर्फ निकास हुनुपर्ने भए पनि भारतीय पक्षले पक्की बाँध निर्माण गरेकाले आफूहरूको बस्ती टापुमा परिणत भएको स्थानीयको भनाइ छ ।

खाँडो, जिता, महुली र कोसी नदीको बाढीका कारण सप्तरीका ४ सय परिवार विस्थापनमा परेका छन् । तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गत बनरझुला, बरसाइन, कुसहा, टिकुलियाका गरी ४ सय परिवार विस्थापनमा परेका हुन् । त्यस्तै खाँडो खोलाको बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिकाको तिलाठी, सकरपुरा र बेल्हीका ४ सय घर डुबानमा परेका छन् । बिहीबारदेखि नै दुई फिटसम्म पानी जमेको छ ।

झापा

लगातारको वर्षाले झापाका विभिन्न स्थानमा तीन सयबढी घर डुबानमा परेका छन् । कनकाई नदी र निन्दा खोलामा आएको बाढीका कारण ६ सय ५० घरपरिवार डुबानको जोखिममा परेका छन् । त्यस्तै, मेची नदीमा आएको बाढीले भद्रपुर नगरपालिकाको भैंसाबाडी र पृथ्वीनगरमा गरी २ सय ८० घर डुबानमा पारेको छ । कन्काई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका–४ र गौरीगन्ज गाउँपालिका–१ को रंगियाथानमा शुक्रबार बाँध भत्काएको छ । बाँध भत्काएपछि उक्त क्षेत्रका ६ सय घरपरिवार डुबानको जोखिममा परेका छन् ।

तेह्रथुम

लगातारको वर्षाका कारण तेह्रथुममा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । वर्षाका कारण शुक्रबार दिउँसो आठराई गाउँपालिकाको संक्रान्ति बजारमा पहिरोले दुई घरमा पूर्ण रूपले क्षति भएको छ । बजारकै आधा दर्जन बढी घरहरू पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षाका कारण दुर्गा गुरुङ र युवराज बानियाँको घरमा क्षति पुगेको इलाका प्रहरीकार्यालय संक्रान्तिका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए ।

पहिरोबाट संक्रान्ति बजारमा रहेको मिक्चुङ बोर्डिङ स्कुल, तारा बानियाँ, तिलबहदुर इङनाम, राम इङनाम, सुमन नेपाललगायता घर पहिरोको जोखिमा छन् । यसै गरी पहिरोका कारण म्याङलुङ नगरपालिकाको जिरिखिम्ती सुर्केका मोहन गुरुङ, तारा बस्नेत, रामप्रसाद गौतम, इन्द्र सुवेदी, मेनुका तामाङ र भीमबहादुर लिम्बूका परिवार विस्थापित भएका छन् ।

यसैगरी छथर गाउँपालिका–२ शुक्रबारेमा रहेका कृष्ण सुवेदी र दलरूप लिम्बुको घर पूर्ण रूपमा क्षति भएको स्थानीय दीपा खुलालले बताइन् । लगातारको वर्षापछि आङदिम, ओयाक्जुङ, वसन्तपुर, मोराहाङ, श्रीजुङ, पौंठाक, आम्बुङ, दाँगपा साविक गाविसका विभिन्न ठाउँमा गएको पहिरोले स्थानीयलाई क्षति पु¥याएको छ । यसैगरी म्याङलुङ–वसन्तपुर सडकखण्डको लसुने, टुक्रे, जिरिखिम्ती, सुर्के क्षेत्रका दर्जनौं ठाउँमा पहिरो खसेको छ ।

लालीगुराँस नगरपालिकाको वसन्तपुर र फुलेकमा दशक अघिदेखि नै पहिरोले बस्ती तान्ने खतरा बढेको छ । पहिरोको आकार बढ्दै जाँदा किसानका खेतीयोग्य जमिनको क्षेत्रफल समेत घट्दै गएको स्थानीय शिक्षक राम खनाल बताउँछन् । आठराई गाउँपालिकाको खाम्लालुङ, ह्वाकु, इवा, चुहानडाँडाका दर्जनौं बस्तीसमेत पहिरोको जोखिममा रहेको गाउँपालिका उपाध्यक्ष रूपा कन्दंवाले बताइन् । वर्षायाममा बग्न सक्ने पहिरो र त्यसबाट हुने क्षतिबारे प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

धनकुटा

यस्तै पहिरोका कारण धनकुटाको भेडेटार–६ नम्बर बुधबारे सडक अवरुद्ध भएको छ । चौबिसे गाउँपालिका–१ सौरेस्थित सडकमा बिहीबार राति पहिरोसँगै ठूलो ढुंगा खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि शुक्रबार बिहानदेखि नै उक्त सडकमा सवारी आवतजावत ठप्प भएको छ । नेपाली सेनासँग समन्वय गरेर सडक खुलाउने पहल भएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।

बाजुरा

पहिरोले विस्थापित बाजुरा बडिमालिका नगरपालिका–९, उखाडीका नौ परिवारको बिचल्ली भएको छ । उनीहरूलाई गाँस र बासकै चिन्ताले पिरोलेको छ । बस्तीमाथि सडक निर्माण गर्न खनिएको स्थानबाट गइरहेको पहिरोले घर नै पुर्ने डर भएर उनीहरू पालमा बस्न बाध्य छन् ।

सिन्धुली

लगातारको वर्षाका कारण शनिबार बिहान पहिरो जाँदा सिन्धुलीको कमलामाई नगरपालिका–६ मा एकै परिवारका चार जनाको ज्यान गएको छ । पत्रकार महासंघको जमिनमा टहरो बनाएर बस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुर्गा कुमारी खड्का (२७ वर्ष), शोभा खड्का (१५ वर्ष), अनिस खड्का (१० बर्ष) र मनिष खड्का (वर्ष ८) रहेका छन् । शनिबार बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सुतिरहेका उद्यबहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन । शुक्रबार करिव २ बजेतिर पहिरो आउँदा परिवारका चारजनालाई परेको उदयले सुनाए । ‘पहिरोले एक्कासी घर थिचेको रहेछ । मैले थाहा पाउँदा चारजना पुरिइसकेका रहेछन् ।’ उदयले भने लगातार दुई दिन देखि परिरेहको पानी सगै जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिदा उक्त घट्ना घट्ेको हो ।

जिल्ला प्रहरी कार्यालयले भवन बनाउदा माटो थुपारेपछि सम्भावित घट्नालाई मध्य नजर गर्दै पत्रकार महासंघ सिन्धुलीले जिल्ला प्रहरी कार्यालयलाई बारम्वार हटाउन अनुरोध गरेपनि प्रहरीले बेवास्ता गर्दा घट्ना घट्न पुगेको पत्रकार महासंघ सिन्धुलीले जनाएको छ । मृतक चारै जनाको शव जिल्ला अस्पता सिन्धुलीमा राखिएको छ ।

बाँके

बाँकेको राप्ती नदीमा आएको बाढीका कारण राप्ती सोनारी गाउँपालिका-४ वैजापुरमा एक घर भत्किँदा ४ जना पुरिएका छन् । स्थानीय कमीलाल थारुको घर भत्किएपछि उनका श्रीमती, तीन छोराछोरी पुरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी कृष्णबहादुर तामाङले जानकारी दिए । उनका अनुसार घरले थिचिएको अवस्थामा तीन बालबालिकाको शव भेटिएको छ भने उनीहरुका आमाको अवस्था अझै अज्ञात छ । मृतक र वेपत्ताको सनाखत हुन सकेको छैन ।

त्यस्तै सोही गाउँमा एक पुरुषको शव फेला परेको छ । उनको पनि पहिचान हुन बाँकी रहेको एसपी तामाङले जनाए । अविरल वर्षाका कारण जिल्लाका सर्सासर्री, धामपुर, ट्रेपरी, राप्ती सोनारी पारी र डुढवा र नरैनापुर गाउँपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । त्यस्तै पूर्व-पश्चिम राजमार्गअन्तर्गत अगैगादेखि चार किमि पश्चिममा कल्भर्ट बगाउँदा यातायात ठप्प बनेको छ । बाँकैकै खजुरा गाउँपालिकाको पेडारी नालाको बाढी राजमार्ग भएर बगेपछि गाडी चल्न सकेका छैनन् ।

बर्दिया

बर्दियाको मानखोलामा आएको बाढीले बाँसगढी-८ वनगौडीका १७ घर विस्थापित भएका छन् । सोही वडाको ककौरामा १५ र भैंसासुरमा ४ घर डुबानमा परेको नेपाल रेडक्रस सोसाइटी बर्दियाका सभापति कृष्णप्रसाद गौतमले जानकारी गराए ।

बिहान बबई नदीको बहाव खतराको चिह्नभन्दा माथि पुगेको जलमापन केन्द्र चेपाङले जनाएको छ । ६।१ तहको पानीलाई खतरा मानिएको छ । बिहान ६।२ मापन गरिएको छ । स्थानीय प्रशासन तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा रहन आग्रह गरेको छ । सेना, प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली तटीय क्षेत्रमा खटाइएको छ ।

जिल्ला आपतकालीन सञ्चालन सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार दाङमा भारी वर्षा भएकोले कुनै पनि बेला बर्दीयामा बाढीको उच्च जोखिम रहेको छ । २०७१ साल साउनको २८ गते आजकै दिन आएको भीषण बाढीले ९० हजार बासिन्दा प्रभावित भएका थिए भने ३२ जनाले ज्यान गुमाएका थिए । झन्डै ३ अर्बको भौतिक क्षति पुगेको थियो ।

धनुषा

चार दिनदेखि जारी अविरल वर्षाका कारण धनुषा जिल्लाको सदरमुकाम जनकपुरसहित धनुषाको जनजीवन कष्टकर बनेको छ । पूर्वी धनुषाको कमला नदीमा आएको बाढीबाट आधा दर्जन धेरै गाउँ डुबानमा परेका छन् । चारनाथ खोलाको छेउमा पर्ने छिहत्तरविघा गाउँका २० घर उच्च जोखिममा छन् । पानीको निकास हुन नसकी जनकपुर उपमहानगर पालिकाका कम्तीमा पाँच वडा जलमग्न छन् । मध्य धनुषाबाट बग्ने जलाद नदीमा पानीको उच्च बहाव छ । स्थानीयवासीका अनुसार वर्षा नथामिए, जलाद नदीमा पनि बाढी आउन सक्छ ।

कमला नदीमा आएको बाढीका कारण छेउछाउका ढालेवज्जा, किरतपुर, बरमझिया, हौवाही, सोनापारालगायत गाउँ जलमग्न बनेको छ । बरमझिया गाउँको घर–घरमा पानी पसेको छ भन्ने चारनाथ खोलामा आएको बाढीको कारण छिहत्तरी विगाह गाउँका २० घर जोखिममा छन् ।

यसैगरी किरतपुरस्थित कमला नहरमा आएको पानीको उच्च बहावका कारण तटबन्ध भत्काएको छ । भत्केको तटबन्ध मर्मत गर्न स्थानीयवासी तथा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्राविधिकहरु घटनास्थलमा पुगेको स्थानीय विशेश्वर यादवले जानकारी दिए ।

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका डिविजनल इन्जिनियर आनन्दकुमार झा कमला नदीको बाढीबाट हालसम्म कुनै क्षति भने भएको छैन । रातिको बाढीबाट किरतपुर नजिकको बाँध क्षतिग्रस्त भए पनि रातिदेखि नै स्थानीयवासीको सहयोगमा मर्मत संभार भइरहेको छ । यसै गरी बाढीको उच्च जोखिममा रहेको ७६ विगाहको २० घर जोगाउन युद्धस्तरमा काम भइरहेको डिई झाले जानकारी दिए ।

यसै गरी अविरल वर्षाको कारण जनकपुर नगर क्षेत्रको मुसलमानबस्ती, किसोरीनगर, आनन्दनगर, शान्तिनगर, हवाईअड्डा तथा जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालयलगायत क्षेत्र डुबानमा परेका छन् । भानुचोकदेखि शिवचोकबीचको सडक जलमग्न छ भन्ने मिल्स एरिया-जानकी मन्दिर जाने बाटोमा पनि दुई फिटसम्म पानी जमेको छ ।

एशियन विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत ढल तथा सडक निर्माणको क्रममा सडक उप्काइए पनि समयमै नपुरिएकाले मिल्स एरिया–भानुचौक सडक झण्डै तीन सातादेखि अवरुद्ध छ । पानी परेयता यस क्षेत्रमा बसोबास गर्नेहरुलाई आवतजावत गर्न समेत कठिन भएको छ ।

यसैबीच धनुषाको मध्यमा बग्ने जलाद नदीको पानी निरन्तर बढ्दो छ । वर्षा नरोकिए, मध्य धनुषाका एक दर्जनभन्दा बढी गाउँमा पानी पस्न खतरा बढेको छ । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका डिई आनन्दकुमार झाले जलाद नदीको पानीको स्तर बढेको बताए ।

बारा

तीनदेखिको भारी वर्षाले बाराको जनजिवन अस्तव्यस्त बनेको छ । सहरदेखि गाउँ जलमग्न भएको छ । शनिबार घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका ८ कचोर्वाका रामविलास पासवानकी पत्नी ४५ वर्षीया गहनीदेवी पासवानको मृत्यु भएको हो । लगातारको वर्षाले घर भत्किदा पुरिएर मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मी वीरेन्द्र यादवले बताए । स्थानीयहरुले उद्धार गर्दा घरको अन्य सदस्य जोगिएका छन् ।

अविरल वर्षाले जमुनी, तियर, थलही, दुधौरा, बंगरी, पसाहा, अडुवा, लालबकैयालगायत खहरे खोलाबाट बाढी पसेर जिल्लाका अधिकांश ठाउँ डुबानमा परेका छन् । वर्षासँगै जिल्लाको विभिन्न खोलामा आएको बाढीले क्षति पुऱ्याएपछि दैवीप्रकोप उद्धार समितिले क्षति संकलनमा जुटेको छ । दैवी प्रकोप उद्धार समितिको तर्फबाट जिल्लाभरिमा भएको क्षतिको विवरण संकलनसँगै उद्धारको तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए ।

सहरी क्षेत्रमा पानीको निकासको लागि व्यवस्थित नाला र गाउँघरमा कुलो नभएपछि सहर, गाउँ, हाट बजार, विभिन्न विद्यालय जलमग्न भएको छ । पानी परेसँगै मौसमको गडबडीले सिमरा–काठमाडौंको उडान प्रभावित भएको सिमरा नागरिक उड्ययन कार्यालयका एयर ट्राफिक कन्ट्रोलर अमृत पोखरेलले बताए ।

जल तथा मौसम विज्ञान विभाग सिमरास्थित फिल्ड कार्यालयका प्रमुख केशव घिमिरेका अनुसार तीन दिनयता १ सय ४९ दशमलव ४ मिमि वर्षा भएको छ । यसवर्षको मनसुनमा अहिलेसम्कै उच्च वर्षा भएको उनले बताए । वर्षाले तापक्रम घटाएको छ । बिहीबार ३० दशमलव ५ र शुक्रबार २९ डिग्री सेल्सियस तापक्रम मापन भएको उनले बताए ।

अविरल वर्षाले विद्यार्थी विद्यालय जान पाएका छैनन् । गाउँका कच्ची सडक तहसनहस भएपछि सावारी आवागमन ठप्प भएको बस व्यवसायी संघका विक्रम पटेलले बताए । सदरमुकामबाट गाउँमा ओहोरदोहोर गर्ने बसहरु चलेका छैनन् । बजार र सहरमा किनमेल गर्ने तथा अन्य कामले आउने मानिसको आवागमन निकै कम भएको छ । सरकारी कार्यालयहरुमा सेवाग्रही घटेका छन् । विकास निर्माणका काम ठप्प भएको छ । अधिकांश खेत डुबानमा परेको छ । डुबानले धान गल्ने र बसोबासका कमजोर कच्ची घर भत्किने सम्भावना बढेको छ ।

-स्रोत : विभिन्न पत्रपत्रिका