काठमाडौं । कृषिमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने बिषयमा प्रमुख राजनीतिक दलका नेताहरु एक कित्तामा उभिएका छन् । वैदेशिक लगानी भित्रिँदा नेपालको किसान वैदेशिक संस्थाको दास बन्न बाध्य हुने र राष्ट्रिय अस्मिता संकटमा पर्ने भन्दै नेताहरुले कृषिमा वैदेशिक लगानी भित्र्याउन नदिने प्रतिवद्धता जनाएका छन् ।

राजधानीमा बिहिबार राष्ट्रिय किसान आयोगले आयोजना गरेको कृषिमा प्रत्यक्ष वैदेशिक लगानी बिषयक गोष्ठिमा सहभागी नेताहरुले प्रतिबद्धता जनाएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व पुष्पकमल दाहाल(प्रचण्ड), नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला तथा नेकपा एमालेका नेता केशब बडाललगायतका नेताहरुले राष्ट्रिय स्वाभिमान, अस्तित्व, किसान र मौलिक उत्पादनलाई विस्थापित हुने गरी वैदेशिक लगानी भित्र्याउन नदिने प्रतिवद्धता जनाएका छन् ।

प्रचण्डले सिंचाई, कृषिजन्य बस्तुको प्रशोधन, कृषि उद्योग, भौतिक पूर्वाधार, शित भण्डारण, कृषि सडक र कृषिजन्य सेवा क्षेत्रमा मात्रै आवश्यकताको आधारमा शर्तभित्र रहने गरी वैदेशिक लगानी भित्र्याउन दिने जानकारी दिए । उनले प्राथमिक तहको कृषिजन्य बस्तुको उत्पादनमा भने प्रत्यक्ष वैदेशिक लगानीलाई निषेध गरिने बताए ।

प्राथमिक तहमा वैदेशिक लगानी भित्रिंदा जमिनबाट साना किसानको स्वामित्व गुम्ने, उत्पादनबाट साना किसानको पहुँच नहुने, किसानको बसाई सराई भएर अन्त्यमा किसान वेरोजगार बनी विदेशीको दास बन्न बाध्य हुने जानकारी गराउदै उनले वैदेशिक लगानीका कारण नेपालको खाद्य सुरक्षा संकटमा पर्नुका साथै खाद्य पदार्थमा वैदेशिक लगानी भित्रयाउने कम्पनीको एकाधिकार कायम हुनेजस्ता समस्या निम्त्ने जानकारी दिए ।

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले वैदेशिक लगानीका कारण संसारमा धेरै मुलुक धरासायी बनेको जानकारी दिए । उनले कुनै पनि वहानामा वहुराष्ट्रिय कम्पनी, व्यक्ति र संस्थाको कृषिको प्राथमिक तहमा वैदेशिक लगानी भित्र्याउन नदिने अडान राखे । यस्तै नेकपा एमालेका नेता केशब बडालले नेपालको कर्मचारीतन्त्रले आफ्नो जिम्मेबारी पुरा गर्न पछि पर्ने तर वैदेशिक लगानी भित्र्याउन मरिहत्ते गरेको जानकारी दिए । केही सिमित व्यक्तिको इशारामा कृषिमा वैदेशिक लगानी भित्रयाएर सम्पूर्ण राज्यलाई नै दास बनाउन नमिल्ने बताए ।

उद्योग मन्त्रालयका सहसचिब प्रदिपकुमार कोइरालाले कृषिमा वैदेशिक लगानी भित्र्याउनु पर्ने आशयसहित कार्यपत्र प्रस्तुत गरेका थिए । कृषि बिज्ञ डा. पे्रम दंगालले कृषिमा वैदेशिक लगानी भित्र्याउदा ग्रामिण भेगबाट कृषि मजदुर विस्थापित भएर बसाई सराईको खतरा बढ्ने, किसानले स्रोतमाथिको पहुँच र नियन्त्रण गुमाउन सक्ने, प्राकृतिक स्रोतमा हस्तक्षेप बढने जानकारी दिएका थिए । कृषि विकास मन्त्रालयका उप सचिब इन्द्रहरी पौडेल, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. चन्द्रप्रसाद पोखरेलले कृषिमा वैदेशिक लगानीका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कृषि बिज्ञ डा. कृष्ण पौडेल, नहेन्द्र खड्कालगायतले उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै कृषिजन्य बस्तुको उत्पादन ठूलो परिमाणमा नहुँदासम्म प्रशोधन र उद्योग क्षेत्रमा पनि वैदेशिक लगानी आवश्यक नरहेको औल्याएका थिए । सरकारले आधारभूत कृषि उत्पादन, मौरिपालन, माछापालन, कुखुरा पालन र ग्रामिण पर्यटनमा वैदेशिक लगानीलाई निषेध गरेको छ । नेपालमा गत् आर्थिक बर्ष २०६४।६५ देखि हालसम्म वैदेशिक लगानीमा कृषि र वन क्षेत्रमा दुई सय ५८ वटा उद्योग सञ्चालनमा छन् ।

न्युज एग्रो डट कम