तनहुँ । उचित मूल्य नपाएपछि तनहुँका अदुवा उत्पादक कृषकले यो वर्ष बारीबाट अदुवा खनेका छैनन् । व्यापारीले किसानसँग खरिद गरी भारत निकासी गर्दै आएका करोडौंको अदुवा पठाउन बन्द भएपछि यति बेला अदुवा बारीमै छ ।

अघिल्लो वर्ष १६ करोड रुपैयाँको अदुवा बिक्री भएको भीमादमा यस वर्ष लाख रुपैयाँको पनि बिक्री भएको छैन । मूल्य नपाएपछि कतिपय किसानले हालसम्म पनि अदुवा खनेका छैनन् ।

अदुवाको पकेट क्षेत्र मानिने माझकोट, रिसिङ, भीमादलगायतका स्थानमा अघिल्ला वर्षको तुलनामा २० प्रतिशत पनि मूल्य नपाएपछि किसान निराश भएका छन् । अघिल्लो वर्ष साढे दुई लाखको अदुवा बिक्री गरेका माझकोट–७ का हरिबहादुर थापाले यो वर्ष १० हजार रुपैयाँको पनि बिक्री गर्न नसकेको बताए ।

भारतदेखि आउने व्यापारी पनि यो वर्ष नआएको उनले बताए । माझकोटको ९ वडाबाहेक अन्यका एक हजारभन्दा बढी घरले व्यावसायिक अदुवा खेती गरेका छन् । उनीहरूले अघिल्ला वर्ष प्रतिकेजी २ सय १० रुपैयाँसम्ममा बिक्री गरेको अदुवाको भाउ यसपालि ४० रुपैयाँभन्दा कम छ ।

थापाले अघिल्लो वर्ष २ लाख रुपैयाँ कमाएका थिए । भारतीय नोटको सटहीमा आएको समस्या र अघिल्लो वर्षको नाकाबन्दीपछि भैरहवा र गोरखपुरका व्यापारीले माग गर्न छाडेको भीमादका व्यापारी रमेशचन्द्र सुवेदीले बताए ।

अदुवा निकासीकर्ता भीमादकै हर्कमान श्रेष्ठ र सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले पनि अहिले किसानको बारीमा पुग्ने आँट गरेका छैनन् । दमौलीलगायतका स्थानीय बजारमा किसानले थोरै मात्रामा अदुवा पठाएका छन् ।

तत्कालै खानका लागि ‘बोसे’ र केही समयसम्म टिकाउनका लागि ‘नसे’ जातको अदुवा किसानले लगाएका छन् । भीमाद बजारमा पनि रिसिङ, माझकोट, स्याङ्जाको चित्रेभञ्ज्याङ, नवलपरासीको डेढगाउँदेखिको अदुवा आउने गर्छ ।

जिल्ला कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले किसानलाई बजारको खोजीमा सहयोग गर्ने बताए । तनहुँमा वार्षिक ६ सय हेक्टरमा ७ हजार १ सय टन उत्पादन हुने गरेको तथ्यांक छ । किसानले अदुवा बेचेर वर्षेनी १६ करोड रुपैयाँसम्म कमाउने गरेका छन् ।