सुनसरी। तीन वर्षको अनुसन्धानपछि क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरीले किसानले लाभ लिन सक्ने नयाँ प्रजातिका माछाका भुरा उत्पादन गरी वितरण सुरु गरेको छ ।

केन्द्रले वितरण गरेको नयाँ प्रजातिका माछाका भुरा वितरणपछि किसानले परम्परागत जातका माछा उत्पादन क्रमशः घटाउँदै लगेका छन् ।क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराकी माछा वैज्ञानिक उमिता शाहका अनुसार तीन वर्षको अनुसन्धान र अध्ययनबाट पंगास प्रजातिका माछा भुरा उत्पादन गरी सुनसरी, मोरङ र झापाका माछापालक किसानलाई वितरण गरिएको छ ।

गत जेठदेखि हालसम्ममा सो प्रजातिका १ लाख ५० हजार भुरा किसानलाई वितरण गरिसकिएको शाहले बताइन् । उनका अनुसार परम्परागत जातका माछाभन्दा नयाँ प्रजातिका माछा दश गुणाभन्दा बढी छोटो समयमा उत्पादन हुने भएकाले पनि किसान अन्य जातका माछापालन छाडेर पंगास जातकै माछामा आकर्षित भएका छन् ।

अहिले केन्द्रमा सो जातको माछाका भुरा माग गर्ने किसानको चाप थामिनसक्नु रहेको माछा वैज्ञानिक शाहको भनाइ छ ।कृषि वैज्ञानिक शाह, शिवनाराण मेहता, अभिलासा झालगायत ८ जनाको समूहले तीन वर्षको अनुसन्धान र अध्ययनपछि सो जातका भुरा उत्पादन गरी किसानलाई वितरण गरिएको हो । शाहले भनिन्, ‘पहिलो वर्ष प्रजनन गराई भुरा उत्पादन गरे पनि पानीको तापक्रम मिलाउन नसक्दा उत्पादित भुरा बचाउन सकिएन ।

दोस्रो वर्षको अध्ययनमा केन्द्रले एक टन माछा उत्पादन गर्न सफल भएको थियो । तेस्रो वर्ष भुरा उत्पादन गरी किसानलाई वितरण गर्न सक्ने अवस्थामा पुगेका थियौँ ।’ नेपालमै पहिलोपटक तरहरा केन्द्रमै सो जातको माछाका भुरा उत्पादन गर्न कृषि वैज्ञानिक समूह सफल भएको उनको दाबी छ । उनका अनुसार सो प्रजातिको माछाका भुरा धेरै संख्यामा पोखरीमा राखेर उत्पादन गर्न सकिन्छ । एक मिटर स्क्वायर मिटरमा ५० वटा भुरासम्म राखेर पाल्न सकिन्छ । पोखरीमा हालेको ६ महिना १ किलोको हुने शाहले बताइन् ।

वर्षमा दुईपटकसम्म पाल्न सकिने र एक हेक्टर जमिनको पोखरीबाट कम्तीमा १ सय मेट्रिकटन उत्पादन गर्न सकिने शाहको भनाइ छ । नयाँ प्रजातिका माछामा मेरुदण्डबाहेक अरू केही नहुने उनले बताइन् । अन्य प्रजातिका माछामा जस्तो नयाँ प्रजातिका माछामा काँडा र कत्ला नहुने भएकाले बालबालिका र वृद्धवृद्धाले सजिलै खान सक्ने शाहले जानकारी दिइन् ।उनका अनुसार यो प्रजातिको माछा २५ देखि ३२ डिग्री तापक्रम रहने पानी भएको पोखरीमा पाल्न सकिनेछ ।

जाडो मौसममा भने २० डिग्रीभन्दा कम पानीको तापक्रम भए यो प्रजातिका माछाका भुराका लागि खतरा हुन सक्ने उनको भनाइ छ । त्यसका लागि कसरी जाडो मौसममा पानीको तापक्रम मिलाउन सकिन्छ भनेर वैज्ञानिक समूहले अनुसन्धान गरिरहेको शाहले बताइन् । उनका अनुसार नयाँ प्रजातिका माछाका भूराका लागि जेठमा प्रजनन गरिँदै आएको छ । सो प्रजातिका माछापालन खासगरी तराईका जिल्लामा व्यावसायिक रूपमा गर्न सकिन्छ ।

किसानलाई नयाँ प्रजातिका माछापालनमा प्रोत्साहन गर्न सके नेपाललाई माछा उत्पादनमा आत्मनिर्भर बनाउन सकिने शाहको दाबी छ । नयाँ प्रजातिका माछाको स्वाद हाल बजारमा पाइने अन्य माछाको भन्दा स्वादिष्ट रहेको उपभोक्ताले प्रतिक्रिया दिएको उनले बताइन् । उनका अनुसार यो प्रजातिका माछाका भुरा उत्पादन गरी किसानलाई वितरण गर्न थालिएपछि अन्य पेशा व्यवसाय गरिरहेकाले त्यसलाई छाडेर माछापालन थालेको शाहको भनाइ छ । यो प्रजातिका माछाका भुरा सबैभन्दा बढी मोरङका किसानले पालन गर्दै आएको उनले बताइन् ।

मोरङको हसन्दहका कृषक नन्दन थापाले करिब ३ बिघा क्षेत्रफलमा ११ वटा माछा पोखरी निर्माण गरी व्यवस्थित माछापालन सुरु गरेका छन् । उनले ६ वटा पोखरीमा पंगास जातका माछाका भुरा लगाएका छन् ।

बाँकीमा टिलापिया जातका माछा लगाएको उनी बताउँछन् । विराटनगरा होटेल व्यवसाय सञ्चालन गर्दै गरेका थापा अहिले व्यवसाय छाडेर माछापालनमा लागेका छन् ।क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका प्रमुख डा.हरिकृष्ण श्रेष्ठले पूर्वमा धेरै प्रजातिका माछा पाल्ने गरिएकाले कृषकलाई नयाँ जातका माछाका भुरा उत्पादन गरी बेच्दै आएको बताए ।

कृषकले माछा पाल्दा नयाँ प्रजाति र प्रविधिलाई भित्र्याउन सुझाब दिइँदै आएको उनको भनाइ छ । नेपालमा हाल निजी क्षेत्रले अत्यन्तै कम मात्रामा भुरा उत्पादन गर्ने भएकाले पनि केन्द्रमा भुरा माग अत्यधिक बढेको डा. श्रेष्ठले जानकारी दिए ।