
काठमाडौं। कृषि प्रधान मुलुक नेपालको माटो ५० प्रतिशतभन्दा बढी अम्लीय रहेको एक अध्ययनले देखाएको छ । कृषि विभाग माटो व्यवस्थापन निर्देशनालयले गरेको अध्ययनले आधाभन्दा बढी माटो अम्लीय रहेको पत्ता लागेको हो ।
माटो बन्ने क्रममा अम्लीय हुँदै जाने प्रक्रिया प्राकृतिक नै भए पनि मानवीय गतिविधिसमेतको प्रभावका कारण माटो अम्लीय भएको अनुसन्धानले देखाएको हो । विज्ञहरूका अनुसार माटोको पीएच घट्दै जाँदा अम्लीय बन्छ । जति पीएच घट्यो त्यति अम्लीयपना बढ्ने गर्छ । विज्ञहरूका अनुसार माटोको अम्लीय, तटस्थ तथा क्षारको मापनलाई ‘पीएच’ भनिन्छ ।
यो एक रासायनिक गुण हो, जसले विरुवाको खाद्यतत्वहरूको उपलब्धतामा प्रत्यक्ष प्रभाव पार्छ । पीएच कम वा बढी अर्थात् माटोमा अम्लीय तथा क्षारीयपना बढ्नाले बिरुवालाई आवश्यक पर्ने सम्पूर्ण खाद्यतत्व समुचित रूपमा लिन पाउँदैन । समुचित खाद्यतत्व लिन माटो तटस्थ हुन आवश्यक छ । सैद्धान्तिक रूपमा पीएच मान १ देखि १४ सम्म हुन्छ ।तर साधारणतया खेतीयोग्य माटोमा पीएच ४ देखि ९ सम्म हुन्छ । पीएच मान ६ दशमलव ५ देखि ७ दशमलव ५ सम्म भएको माटोलाई तटस्थ माटो भनिन्छ । यस्तो माटो कृषि कर्मका लागि उपयुक्त मानिन्छ । ६ दशमलव ५ भन्दा तलको माटोलाई अम्लीय र ७ दशमलव ५ भन्दा माथिको माटोलाई क्षारीय भनिन्छ ।
माटो व्यवस्थापन निर्देशनालय र मातहतका ५ विकास क्षेत्रले विभिन्न स्थान, घुम्ति शिविर, प्रयोगशालालगायतका माध्यमबाट गरिएको परीक्षणबाट ५१ दशमलव ४ प्रतिशत माटो अम्लीय रहेको देखिएको छ । करिब डेढ दशकदेखि गरिएको परीक्षणमा अहिलेसम्म मुलुकका विभिन्न स्थानको ५० प्रतिशतभन्दा बढी माटो अम्लीय रहेको देखिएको निर्देशनालयको भनाइ छ ।
अम्लीयपनाले माटोमा रहने सूक्ष्म जीवको क्रियाकलापमा अवरोध हुने, खाद्यतत्वको उपलब्धतामा असर पर्ने लगायतमा समस्या हुने विज्ञहरू बताउँछन् । जसका कारणले केही काउलीका जात, बन्दा, रायोको साग जस्ता बालीको जरामा गाँठो ‘क्लब रुट डिजिज’ गराउने ढुसीलाई बढावा मिल्ने र प्रकोपको रूप लिन्छ ।
माटोमा क्षार बढे विरुवाको खाद्यतत्व नाइट्रोजन, फस्फोरस र पोटास कम उपलब्ध हुन्छ, भने अम्लीय बढे फलाम तथा आल्मुनियमको उपलब्धता अधिक भई बोट–बिरुवाका लागि विषालु बन्छ ।
निर्देशनालयका माटो विज्ञ तथा सहायक सूचना अधिकारी बलराम रिजालले विगत वर्षहरूमा बढीमा ५ देखि १० हजार माटोको नमुना परीक्षण गरिएकोमा पछिल्लो समय करिब २० हजारभन्दा बढी माटोको नमुना परीक्षण गरेको बताए । उनले ललितपुर, पोखरा, कञ्चनपुर, खजुरा, हेटौंडा, झुम्का, सुरुङ्गालगायतका स्थानका प्रयोगशालामा माटो परीक्षण गरिएको जानकारी दिए ।
चुनढुंगा, वसाल्ट, डोलोमाइटलगायतबाट बनेको माटो क्षारीय प्रकृतिको हुने तथा बलौटे ढुंगा, ग्रेनाइटलगायतबाट बनेको माटो अम्लीय हुने निर्देशनालयले जनाएको छ । माटोमा अधिकांश पैतृक पदार्थ अम्लीय प्रकृतिको भएकाले नेपालमा धेरै माटो अम्लीय प्रकृतिको हुन गएको हो । त्यस्तै बढी वर्षा हुनु, प्राङ्गारिक पदार्थ क्षय हुनु, खाद्यतत्वको रूपान्तरण तथा शोषणलगायतका कारणले पनि माटो अम्लीय बन्छ ।
नाइट्रोजनयुक्त रासायनिक मलको अत्यधिक र असन्तुलित प्रयोग, प्राङ्गारिक पदार्थको प्रयोगमा कमी, समुचित बाली चक्रको अभाव, औद्योगीकरणलगायत मानवीय गतिविधिका कारणसमेत माटो अम्लीय बन्ने गरेको छ ।माटो विज्ञहरूले अम्लीय तथा क्षारिय माटोमा हावापानी सुहाउँदो र सोही पीएचमा उपयुक्त हुने बाली लगाएर अम्लीय तथा क्षारीय माटोको व्यवस्थापन गर्न सकिने उपाय सुझाएका छन् ।
उनीहरूले मानवीय कारणले माटो अम्लीय तथा क्षारीय बन्ने गतिविधि भने समस्याको रूपमा रहेको भन्दै नियन्त्रण गर्न पर्नेमा जोड दिएका छन् ।