कावासोती। नवलपरासीको धौवादी गाविस– ३ पोखरी गाउँका बासिन्दा अम्रिसो खेती र महबाट समृद्ध बन्दै गएका छन् ।जङ्गलमा रहेको अम्रिसोको मुना ल्याएर यहाँका किसानले बारीका कान्लैभरी अम्रिसो लगाएका छन् । अम्रिसो खेतीले भूक्षय रोक्नुका साथै गाईभैँसीका लागि घाँसको समेत काम गरेको छ ।असारमा रोपेको अम्रिसोबाट मङ्सिरदेखि नै आम्दानी गर्न सकिन्छ । “ एक पटक रोपेपछि १०/१५ वर्षसम्म आम्दानी गर्न सकिन्छ,” स्थानीय विष्णुमाया सारुले भन्नुभयो । एकतीस घरधुरी रहेको सो गाउँका प्रत्येकले बर्सेनि रु ८० हजारदेखि रु दुई लाख ५० हजारसम्म कमाउने गरेका छन् ।
यहाँ अम्रिसोसँगै घरपिच्छे मौरीका घार छन् । जङ्गलको मौरीलाई मुढे घारमा पालेका यहाँका किसानले महबाट रु ५० हजारदेखि रु तीन लाखसम्म कमाउँछन् ।
धौवादी पोखरीकै ओमबहादुर राना पनि अम्रिसो खेतीले जीवनस्तर उकासेको बताउनुहुन्छ । “अम्रिसोबाट पैसा र घाँस दुवै मिलेको छ,” उहाँले भन्नुभयो । यहाँका १० घरमा मगर होमस्टे समेत सुरु गरिएको छ । विसं २०६५ देखि स्थानीयवासी घोरलको संरक्षणमा समेत जुटेका छन् । हाल यहाँको जङ्गलमा करिब ४० वटा घोरल रहेका छन् । महाभारत जैविक विविधता संरक्षण सरोकार समाजका कोषाध्यक्ष मेखबहादुर पुलामी प्रति माना मह रु ५०० मा गाउँमै बिक्री भइरहेको बताउनुहुन्छ । रासस