लमजुङ । लमजुङकको बेसीशहर–१८, चम्डिलाका युवा बेनबहादुर गुरुङको बिहान मौरीको स्याहारसुसारमै बित्छ । बिहान उठेदेखि मौरीको घार सफा गर्ने, मौरीलाई चास्नी दिने र मह काट्ने उनको दिनचर्या नै बनेको छ ।२ दशकदेखि शिक्षण पेशामा आबद्ध गुरुङ व्यावसायिक मौरीपालन सफल बनेका छन् । उनको यो पेशासँगै आम्दानी पनि रहरलाग्दो छ । मौरीपालन व्यवसायबाट वार्षिक १२ लाख आम्दानी हुने गरेको उनले बताए ।
गाउँकै चैतन्योदय प्राविका शिक्षक रहेका गुरुङले शिक्षण पेशा र मौरीपालन एकसाथ गर्दै आएका छन् । विद्यालय समयबाहेक बिहान र बेलुकाको समय मौरीको स्यारसुसारमा खर्चंदै उनले यो पेशामा आफूलाई घरपरिवारबाट पनि उत्तिकै सहयोग मिलेको बताए । ‘फाल्तु समय बिताउन मन लागेन, उनले भने, ‘त्यसैले, मौरीपालन व्यवसाय शुरू गरेँ । १० वर्षअघि दुईओटा आधुनिक घारबाट मौरीपालन शुरू गरेका उनका यतिबेला ९० ओटा मौरीघार छन् । हालसम्म आफूले मौरीसहितका घार १ हजारभन्दा बढी विक्री गरिसेकेको उनको भनाइ छ ।
मौरीपालनबाट छोटो समयमै धेरै आम्दानी गर्न सकिने र मह विभिन्न प्रयोजनमा उपयोग हुने भएकाले आफू व्यावसायिक मौरीपालनमा लागेको गुरुङले बताए । उनले उत्पादित मह पोखरा र काठमाडौं मा समेत पठाउने गरेका छन् । ‘जिल्लाका विभिन्न गाउँमा पनि उत्तिकै माग रहेको छ,’ उनले भने ।
गुरुङले आफ्नो घरनजिकै करीब ४ रोपनी जग्गामा मौरीको घारलाई छुट्टाछुट्टै व्यवस्थापन गरेका छन् । जिल्ला कृषि कार्यालय लमजुङबाट मौरीसहितको २० घार सहयोग मिलेको उनले बताए । उनले भने, ‘कृषिकै सहयोगमा विभिन्न तालीमसमेत पाएँ, अहिले मह व्यवसायमा आकर्षित किसानलाई तालीम दिँदै आएको छु ।’ । गाउँघरमै बसेर व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएका उनी रोजगार नपाएर विदेशिनेहरूका लागि स्वदेशमै सफल उद्यमी बन्न सकिने गतिलो उदाहरण बनेका छन् । आफ्नो ज्ञान र शीपलाई स्थानीय स्तरमा परिचालन गर्न सके अवश्य सफल बन्न सकिने उनको विश्वास छ ।