दाङ । दाङमा अन्य जिल्लाबाट समेत हजारौं माहुरी व्यवसायीले मौरी चराउन ल्याउँछन् । वर्षेनि करीब ४ हजार मौरीका घार जिल्ला बाहिरबाट चराउन ल्याउने गरेको दाङ मौरी व्यवसायी सङ्घको तथ्याङ्क छ । विशेषगरी, चितवन, नवलपसारीलगायत जिल्लाबाट मौरी चराउन ल्याउने गरिन्छ ।
यो हिसाबले पनि दाङ मौरी व्यवसायका लागि अति उत्तम छ भन्ने देखिन्छ । कृषि हबको सम्भावना रहेको दाङ ‘हनी टुरिजम’को पकेट क्षेत्र बन्न सक्ने सम्बद्धहरू बताँउछन् । अनुकूल हावापानी तथा तोरीलगायत फूल फुल्ने वनस्पतिको उर्वर क्षेत्र भएकाले दाङ मह उत्पादनमा अब्बल मानिन्छ ।
सांस्कृतिक र धार्मिक पर्यटनको हिसाबले उत्कृष्ट मानिने दाङमा कृषिमा आधारित पर्यटन विकासको पनि सम्भावना भएकाले हनी टुरिजमको अवधारणाअनुसारका कार्यक्रम बन्न सके दाङ देशकै उत्कृष्ट हनिजोन बन्न सक्ने दाङ मौरी व्यवसायी सङ्घका सचिव दीपबहादुर बुढाले बताए ।
जिल्ला मह उत्पादनमा देशकै अग्रणी रहेको सरकारी तथ्याङ्क छ । कृषिका सबै आयामले समृद्ध दाङको कृषि ब्राण्ड मह बन्न सक्ने भएकाले दाङलाई हनी टुरिजमका रूपमा पनि प्रवद्र्धन गर्न सकिने पर्यटन व्ययसायी बताउँछन् । कृषिको बजारीकरण, विविधीकरणसँगै व्यवसायीकरणलाई विश्व बजारसम्म पुर्‍याउन हनी जोनको अवधारणा कार्यान्वयन हुनुपर्ने व्यवसायीको धारणा छ । ‘यहाँको महलाई ब्राण्ड दिने हो भने हनी टुरिजम प्रवर्द्धन गर्न सकिन्छ,’ जिल्ला पर्यटन विकास समितिका सदस्यसचिव डा. गोविन्द आचार्यले भने, ‘यसका लागि राज्यले लगानी बढाउनु जरुरी छ ।’
दाङ भ्रमण गर्ने पाहुनालाई मह कोसेली दिन सकिने उनको भनाइ छ । पछिल्लो समय दाङ महमा सफल बन्दै गएकाले दाङलाई हनी जोनका रूपमा विकास गर्न सकिने दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष हेमराज बञ्जाडेले बताए । ‘सरकारी तथा निजीक्षेत्रको पहलमा मह उत्पादनमा दाङ अब्बल बन्दै गएको छ,’ बञ्जाडेले भने । यसलाई कृषि व्यवसायसँगै हनी टुरिजमका रूपमा प्रवद्र्धन गर्न सके दाङको पहिचान बन्ने सक्ने उनको ठम्याइ छ ।
अर्गानिक मह उत्पादनको हिसाबले दाङ उचित हावापानी भएको स्थान भएकाले पूर्वाधारमा सुधार गरी महमा देशकै नमूना पकेट क्षेत्र बनाउन सकिने युवा व्यवसायी माधव केसीको कथन छ ।
करीब डेढ दशकदेखि मौरी व्यवसायमा लागेका केसीले वर्षेनि १५ टन मह उत्पादन गर्दछन् । मौरी पालनमा अनुसन्धानकर्मीको समेत हैसियत बनाएका केसी कृषि पर्यटनको विकास गरी रोजगारीको सृजना गर्न सकिने धारणा राख्छन् ।दाङमा उन्नत मौरीका १० हजार र स्थानीय मौरीका करीब २ हजार घार छन्, जसबाट वर्षेनि करीब ३ सय टनभन्दा बढी मह उत्पादन हुँदै आएको छ । जिल्लामा मौरी व्यवसायमा करीब १५ करोड रुपैयाँ लगानी भएको केसीको अनुमान छ ।