काठमाडौं। सरकारले बंगुर,कुखुरा प्रवर्द्धन कार्यक्रम विस्तार गरेको छ । बंगुर र कुखुराको उत्पादन वृद्धि र व्यवसायीकीकरण गर्नका साथै उत्पादित मासु मुलुकबाहिर समेत निकासी गर्ने उद्देश्यले कार्यक्रम विस्तार गरेको हो ।
केन्द्रीय बंगुर, कुखुरा प्रवर्द्धन कार्यालयका सूचना अधिकारी तथा पशु विकास अधिकृत रमेशकुमार सिंहले गत वर्षदेखि सुरु भएको पिग एन्ड पोर्क अभियान ‘पिक मिसन’ कार्यक्रमलाई थप पाँच जिल्लामा विस्तार गरिएको बताए । उनले धनकुटा, मकवानपुर, नवलपरासी, सुर्खेत र कञ्चनपुरमा कार्यक्रम विस्तार गरेको जानकारी दिए ।कार्यक्रमको सहयोगले बंगुरको उत्पादन वृद्धि तथा बजारीकरणमा सहयोग पुग्ने विश्वास रहेको उनको भनाइ थियो ।
गत वर्ष झापा, सुनसरी, काभ्रे, चितवन, कास्की, तनहुँ, बाँके, बर्दिया, दाङ र कैलालीमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमको बजेट चालू वर्षमा २४ प्रतिशत वृद्धि भएको छ । यस वर्षको बजेट ३ करोड ५५ लाख ४४ हजार रुपैयाँ विनियोजन भएकोे छ भने गएको वर्ष २ करोड ८७ लाख ४९ हजार छुट्याइएको थियो ।त्यस्तै नयाँ कार्यक्रमका रूपमा झापा र कास्कीमा बंगुर औद्योगिक पार्क स्थापना हुने भएको छ । स्थापना गरिने दुइटा औद्योगिक पार्कका लागि १२ करोड ५० हजार रुपैयाँ विनियोजन गरेको केन्द्रले जानकारी दिएको छ ।
“पार्क अन्तरराष्ट्रिय मापदण्ड अनुसारका हुनेछन्,” सिंहले भने, “मासु चिकित्सकले प्रमाणित गरिने मासुको खरिद बिक्री हुने ती स्थानमा बंगुर फार्मिङ तथा विदेशमा समेत मासु निकासी गर्ने लक्ष्य सरकारले लिएको छ ।”
त्यस्तै गत वर्षदेखि सञ्चालनमा रहेको बंगुर र कुखुराको सहकारी कार्यक्रम र युवा लक्षित बंगुर कार्यक्रमलाई निरन्तरता दिइएको छ । जसअनुसार यो वर्ष ४९ जिल्लामा सहकारी कार्यक्रम सञ्चालनमा आउने छन् । युवा लक्षित कार्यक्रम भने यो वर्ष खुम्चिन गएको छ । गएको वर्ष ३० जिल्लामा सञ्चालन भएको उक्त कार्यक्रम यो वर्ष घटेर १७ जिल्लामा सिमित गरिएको छ ।
त्यसैगरी यो वर्ष पहिलो कार्यक्रमका रूपमा सरकारले ल्याएको अण्डामा आत्मनिर्भर तथा पारिवारिकस्तरमा पोषण सुरक्षाका लागि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रम ४० जिल्लामा सञ्चालन गरिने भएको छ । त्यसका लागि सरकारले १ करोड २० लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ ।
उक्त कार्यक्रमअन्तर्गत मासु र अण्डा दुवैका लागि उपयुक्त चल्ला तथा व्यवसायिक चल्ला वितरण गरिनेछ । साथै चल्ला हुर्काउन चाहिने आवश्यक सहयोग र कुखुराको खोरमा अनुदान दिनेलगायतका कार्यक्रम समावेश गरिएका छन् ।