रौतहट । रौतहटको उत्तरी भेगमा व्यावसायिक रुपमा च्याउखेती हुने गरेको छ । चन्द्रपुर नगरपालिका १२ सन्तपुर मटिऔनका महिलाहरुले व्यावसायिक रुपमा च्याउ खेती गरेका छन् ।
कृषि सेवा केन्द्रले सल्लाह र सुझाव अनुसार उनीहरुले च्याउ खेती गरेका हुन् । अहिले एक कठ्ठा जमिनमा झाप्रो बनाएर व्यतिmगत र सामूहिक रुपमा च्याउखेती गरेका छन् । पाँचओटा झाप्रो बनाएर व्यावसायिक रुपमा च्याउखेती गरेको सन्तपुरकी पुनम खड्काले बताईन् । एक पटकमा ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने उनले बताईन् । कृषि सेवा केन्द्रबाट बिउ लिएर व्यावसायिक च्याउखेती शुरु गरेको उनको भनाई छ ।
च्याउ बजारमा प्रति किलो रू. २ सयले बिक्री गर्ने गरेको पुनमले बताईन् । सामूहिक रुपमा गिता खड्का, ईन्द्र कुमारी मल्ल, हेमा खड्का, पार्वती गौतम, अम्बिका थापा लगायत २० जनाका समूहले पनि सोही स्थानमा व्यावसायिक रुपमा च्याउखेती गरेका छन् । दश वर्षदेखि उनीहरुले च्याउ खेती गर्दै आएका छन् । च्याउ खेती गर्न सजिलो भएपनि बिउ र बजारको समस्या रहेको उनीहरुको गुनासो छ । करीव रू. एक लाख भन्दा बढी खर्च गरेर झाप्रो बनाएको र अहिले व्यवसाय फस्टाउँदै गएका उनीहरुले बताएका छन् । सामूहिक रुपमा च्याउ खेतीबाट करीब रू. ८ लाख रकम आम्दानी भैसकेको गिता खड्काले बताईन् ।
आफूहरुले उक्त रकम एक रुपैयाँ ब्याजमा समूहमा नै लगानी गर्ने गरेको बताईन् । बैङ्कको व्याज महङ्गो र धेरै प्रक्रिया भएकाले व्यवसायबाट आम्दानी भएको रकम समूहमा नै राख्ने गरेको उनले बताईन् । च्याउखेती गर्ने सजिलो र आम्दानी धेरै हुने भएकाले महिलाहरु यस तर्फ आकर्षित भएका हुन् । चन्द्रपुर नगरपालिकाभित्र ६० जना भन्दा बढीले व्यावसायिक रुपमा च्याउ खेती गरेको कृषि सेवा केन्द्र सन्तपुरका प्रमुख रामकृपाल चौधरीले बताए । बर्षमा दुईपटक गरेर एक हजार मिनिकेट च्याउको बिउ आउने गरेको उनले जानकारी दिए । ५ हजार मिनिकेट च्याउको बिउ आवश्यक पर्ने उनको भनाई छ ।
आफूहरुले च्याउ खेतीका लागि प्राविधिक ज्ञान तथा अन्य सल्लाह समेत दिने गरेको उनले बताए । च्याउ खेतीतर्फ महिलाको आकर्षण बढेपछि दिनहुँ सुझाव र परामर्शका लागि कार्यालय आउने गरेको कृषि सेवा केन्द्र सन्तपुरले बताएको छ ।