सिन्धुली। जिल्लामा जुनार अहिलेसम्मकै महँगो मूल्यमा किनबेच भएको छ । अघिल्ला वर्षहरूको भन्दा यस वर्ष दोब्बर मूल्य वृद्धि भएको जुनार किसानहरूले बताएका छन् । अघिल्लो वर्ष प्रतिगोटा २ देखि ३ रुपैयाँसम्ममा किनबेच भएको जुनार यस वर्ष ५ देखि ६ रुपैयाँमा किनबेच भएको रतनचुरा–५ का किसान चूडाराज शर्माले बताए ।
यस वर्ष विगतका वर्षमा भन्दा जुनार उत्पादन कम भएको र माग बढी भएकाले मूल्यमा वृद्धि भएको शर्माले बताए । यस वर्ष जुनार फुल्ने वेलामा पानी कम परेकाले पनि उत्पादन कम भएको शर्माले बताए । जुनारको बगैँचासम्म यातायातको पहँुच पुगेकाले पनि मूल्य वृद्धि भएको अर्का किसान दीपक सापकोटाले बताए ।यस वर्ष सिजन सुरु भएदेखि नै किसानले राम्रो मूल्य लिएर बिक्री गर्न सफल भएको सापकोटाले बताए । ‘विगतका वर्षहरूका किसान र व्यापारीभन्दा पनि विचौलिया बढी नाफा कमाउन सफल हुन्थे भने यस वर्ष कि त किसानले नै नाफा कमाए, कि व्यापारीले मात्र,’ सापकोटाले भने ।
किसानको बगैँचा दानाका हिसाबले किनबेच हुने गरेको भए पनि व्यापारीले भने किलोको हिसाबले बेच्ने गरेका छन् । हाल जिल्लामा जुनार व्यापारीले प्रतिकिलो ६० देखि ८० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । ‘एक किलोमा राम्रो जुनार ४ देखि ५ दाना चढ्छ,’ व्यापारी गोरखबहादुर श्रेष्ठले भने । यसलाई तुलना गर्ने हो भने किसानसँग लिएको मूल्यभन्दा व्यापारीले २ देखि ३ गुणा बढी मूल्यमा उपभोक्तालाई बिक्री गर्ने गर्छन् ।
यस वर्ष जुनार उत्पादन घट्नु वा सवारीको पहुँच पुग्नुभन्दा पनि जुनार धेरैले मन पराउन थालेकाले मूल्य वृद्धि भएको जुनार विकास संघका जिल्ला उपाध्यक्ष कृष्ण गौतमले बताए ।विगतको वर्षमा भन्दा यस वर्ष उत्पादन नबढे पनि जुनारको बगैँचा भने निकै बढेको गौतमले बताए । जिल्लाको महाभारत क्षेत्रका गाविसहरूमा वार्षिक ३५ देखि ४० हजारको हाराहारीमा नयाँ बिरुवा रोप्ने गरेकाले उत्पादन पनि त्यहीअनुरूपमा बढेको गौतमले बताए ।