धनगढी। प्रविधि प्रसारका लागि अष्ट्रेलियाबाट ल्याइएका उन्नत जातका बाख्राका पाठापाठीमा रोग लागेर मर्ने समस्या देखिएको छ ।कैलालीको बुढेतोलास्थित बाख्रा विकास फर्ममा अष्ट्रेलियाबाट ल्याएर पालिएका‘अफ्रिकन ब्वायर‘ जातका यी बाख्रा ब्याउँदा दुईदेखि तीनवटासम्म पाठापाठी जन्मेपनि कतिपय पाठापाठी मर्ने समस्या देखिएको फर्मका प्राविधिक घनश्याम तिवारीले बताउनुभयो ।
‘फर्ममा २५ वटा बाख्रा गएको फागुनमा ल्याइएकामा दुईवटा मरेका छन्, तिवारीले भन्नुभयो— “यी बाख्राबाट अहिलेसम्म जन्मिएका २९ पाठापाठीमध्ये १४ वटा जन्मिने वितिक्कै मरेको तिवारीले बताउनुभयो ।यी बाख्रा हाल अध्ययनको चरणमा समेत रहेको फर्मका अर्का प्राविधिक गोरखबहादुर धामीले बताउनुभयो ।
कृषि तथा खाद्य सुरक्षा आयोजनाको पहलमा ल्याइएको एउटा बाख्राको रु दुई लाख ५० हजार मूल्यमा अष्ट्रेलियाबाट ल्याएको थियो ।
सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी तथा हिमाली जिल्लामा कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यान्वयनमा छ । आयोजनाले सिफारिस गरेका किसानलाई फर्मले यी बाख्राका पाठापाठी बिक्री वितरण गर्ने लक्ष्य राखेको छ ।
यी बाख्रा नेपालमा पाइने विभिन्न जातका बाख्रा भन्दा बढी तौलका भएकोे बताइएको छ । फर्ममा यसबाहेक खरी जातका बाख्रापालन हुँदै आएको छ । विस २०५८ अघि जमुनापारी जातका बाख्रापालन हुँदै आएको थियो ।पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालय अन्तर्गतको यो फर्मले उत्पादित खरी नश्लका बोका एवम् पाठापाठी स्रोत बीउका रुपमा स्थापनाकालदेखि नै किसानलाई उपलब्ध गराउँदै आएको छ ।
चालु वर्षमा २५० वटा पाठापाठी उत्पादन गर्ने लक्ष्य रहेकामा लक्ष्य पूरा भई बिक्री वितरण हुन भने बाँकी रहेको जनाइएको छ ।