रुकुम । स्यालापाखा–४ कैलदेउ रुकुमका आइते बुढाले परीक्षण उत्पादन गरेको गड्यौला मल प्रभावकारी हुन सकेको छैन । आर्थिक अभावका कारण गड्यौलाको खोर व्यवस्थापन र आहारा पूर्ति गर्न नसक्दा गड्यौला मल उत्पादन परीक्षण कार्यक्रम असफल भएको हो ।
पछिल्लो समय रुकुमको माटोमा रासायनिक मलको प्रयोगका कारण अम्लीयपना बढ्दै जानु र माटोको उत्पादन घटेका कारण किसानलाई कम्पोष्ट मलतर्फ आकर्षण गर्ने उद्देश्यले पहिलोपटक गड्यौला मल परीक्षण उत्पादन गरिएको थियो । जिल्लामा पहिलोपटक परीक्षण गरिएको गड्यौला मल उत्पादन प्रभावकारी नभएको जिल्ला कृषि विकास कार्यालय रुकुमले जानकारी दिएको छ ।
विशेषगरी गड्यौलाका लागि उपयुक्त खोर व्यवस्थापन हुन नसक्दा र आहाराको पूर्ति गर्न नसक्दा गड्यौला मल उत्पादन प्रभावकारी नभएको कार्यालयले बताएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक खिमबहादुर रोकायाका अनुसार गड्यौलालाई आहाराको रुपमा कागती, तरकारी, खरलगायतका आहारा चाहिने गर्दछ । तर, किसानले त्यसको पूर्ति गर्न नसक्दा गड्यौला मल उत्पादन परीक्षण कार्यक्रम असफल भएको हो ।
रासायनिक मलको प्रयोग बढ्दै गएको तर, उत्पादन घटेको भन्दै जिल्लामा पहिलोपटक गड्यौला मल परीक्षण उत्पादनमा गरिएको वरिष्ठ कृषि विकास अधिकृत सहदेप्रसाद हुमागाईंले जानकारी दिए । उनले भने, ‘गड्यौलाको लागि आवश्यक पर्ने आहारा र बास व्यवस्थापनमा समस्या भएका कारण गड्यौला अप्ठ्यारोमा परेका हुन् ।’ पहिलोपटक गड्यौला मल उत्पादन परीक्षण गर्दा केही कमजोरी देखियो, अब थप योजनाका साथ गड्यौला मल उत्पादन कार्यक्रम अगाडि बढाउने योजना बनाएको हुमागाईंले बताए ।