दोलखा। किबी खेती गर्ने किसानको संख्या बढेसँगै दोलखामा किबी उत्पादनमा वृद्धि भएको छ ।जिल्ला कृषि विकास कार्यालयले किबी उत्पादक किसानसँग गरेको अन्तक्र्रियाका क्रममा यस वर्ष १० टन किबी उत्पादन भएको जानकारी दिएको हो ।
दोलखामा १ सय ५० हेक्टरमा किबी खेती भइरहेको छ ।दोलखाका किसान केही वर्षयता किबी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कृषि विकास कार्यालयका नारायण श्रेष्ठले सरकारले दोलखालाई किबी र अलैंचीको पकेट क्षेत्रका रूपमा राखेकाले किसानको आकर्षण बढेको बताए ।
उनले किबी खेती विस्तारका लागि कार्यालयले थप पहल गरिरहेको जानकारी दिए । यहाँका ५ सय किसानले किबीको व्यवसायिक खेती गरिरहेका छन् ।
कृषि विकास कार्यालयका बागवानी अधिकृत मनोहर कँडेलले जिल्लाका १० वटा नर्सरीबाट यस वर्ष ५० हजार बिरुवा उत्पादन हुने जानकारी दिए । हिमाली आयोजनाले १५ जना किसानलाई सहयोग गरेको छ ।दोलखाको बोचमा रहेको बागवानी केन्द्रलाई सरकारले किबीको स्रोत केन्द्र बनाएको छ । बागवानी बोचले ४ वर्षयता किबीको अनुसन्धान, परीक्षण, किसानलाई तालिम र बिरुवा उत्पादनको कामसमेत गर्दै आएको छ ।
बागवानी केन्द्र बोचका प्रमुख शम्भुप्रसाद ढकालले किबीमा अरू फलमा भन्दा बढी पौस्टिक गुण भएको बताए । उनले संसारमा छोटो समयमै सबैभन्दा छिटो फैलिएको फल भएकाले बजार पनि राम्रो भएको बताए ।
“देशका पहाडी भेगमा १० लाख हेक्टरमा किबी खेती गर्न सकिने देखिएको छ,” उनले भने । दोलखामा उत्पादित किबी काठमाडौंमा लगेर बिक्री वितरण हुँदै आएको छ ।
कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख मिनबहादुर बुढाथोकीले किबीको बजार विश्वभर रहेकाले किसानले चिन्ता लिनु नपर्ने बताए । “दुबईमा ८ टन किबीको माग आएको छ,” उनले भने, “गुणस्तरीय उत्पादन र व्यवसायिकतामा ध्यान दिन सके यसबाट राम्रो आम्दानी गर्न सकिन्छ ।”
नेपालमा ८ किसिमका किबीको खेती हुँदै आएको छ । हेवाड, ब्रुण, ऐलिसन, मन्टी, रेड किबी, गोल्डेन किबी, मिनी किबी र एबोड किबीको खेती नेपालमा हुने गरेको छ ।
रेड किबीको परीक्षण सफल
यसैबीच दोलखामा औषधिय गुण र अफ सिजनमा पाक्ने विशेषता भएको ‘रेड किबी’को सफल परीक्षण भएको छ । आर्थिक वर्ष ०७१/७२ देखि दोलखाको बोचस्थित शितोष्ण फलफूल रुटस्टक विकास केन्द्रले सुरु गरेको ‘रेड किबी’को परीक्षण उत्पादन सफल भएको हो ।
कृषि अनुसन्धान परिषद् नार्कका वरिष्ठ वैज्ञानिक डा. सूर्य पाण्डेले काभ्रेपलाञ्चोकको पातलेखेतबाट ५० वटा विरुवा ल्याएर गरेको परीक्षण उत्पादन सफल भएको शितोष्ण फलफूल रुटस्टक विकास केन्द्र, बोचका कृषि प्राविधिक गुणराज पौडेलले जानकारी दिए ।
सामान्य किबीभन्दा २ महिनाअघिनै खानयोग्य हुने ‘रेड किबी’लाई दोलखाको १ हजार २ सयदेखि १ हजार ७ सय मिटरको उचाइसम्म खेती गर्न सकिने परीक्षणबाट देखिएको छ ।
किबी उत्पादक किसान संघ गठन
यसैबीच किबी उत्पादक किसान संगठित भएका छन् । भीमेश्वर नगरपालिका १० सीमपानीका किबी उत्पादक श्याम खड्काको अध्यक्षतामा दोलखाका किबी उत्पादक किसानहरूको संगठन गठन भएको हो ।
जिल्ला कृषि विकास कार्यालय दोलखाको पहलमा गठन भएको संघको सचिवमा किरण खड्का, कोषाध्यक्षमा पासाङ तेन्जी शेर्पा चयन भएका छन् ।