चितवन । रत्ननगर–८ बैरियाकी ईश्वरी पुरीले ११ वर्ष विदेशमा पसिना बगाइन् । नेपालमा रोजगारीको अवसर नदेखेपछि रोजगारीकै लागि उनी २०५९ सालमा कोरिया गइन् । कोरियामा दुई वर्ष काम गर्दा पनि सोचेजति पैसा कमाउन नसकेपछि उनी २०६१ सालमा धेरै पैसा कमाउने दाउमा इजरायल गइन् । इजरायलमा ९ वर्ष काम गरेर उनले राम्र्रै पैसा कमाइन् । उनका श्रीमान शंकर पुरी पनि वैदेशिक रोजगारीको लागि तीन वर्ष दुवईमा बसे । श्रीमानले कमाएको पैसाले खासै जीवनमा परिर्वतन ल्याउन नसके पछि ईश्वरी इजरायल गइन् । इजरायलमा उनले पैसा त कमाइन् तर परिवारको सामिप्यताको दूरी टाढा भएकाले कहिल्यै सन्तुष्ट हुन सकिनन् । पैसा भन्दा परिवारको साथ ठूलो हो भन्ने सम्झेर उनी २०६९ सालमा नेपाल फर्किइन् । विदेशमा दिनरात काम गर्ने बानी लागेकाले पुरी दम्पती यहाँ त्यसै बस्न सकेनन् । साढे तीन वर्ष अघिदेखि श्रीमान श्रीमती मिलेर व्यवसायिक रुपमै गाईपालन सुरू गरेका छन् ।
अर्काको देशमा गरेको दुःख आफ्नै ठाउँमा गर्न सके पैसा यही कमाउन सकिन्छ भन्ने उनीहरुले राम्ररी बुझिसकेका छन् । पुरी दम्पतीले घरमै सफलमाली पशुपालन फर्म सञ्चालन गरेर गाईपालेका छन् । ‘विदेशमा कमाएको पैसाले घर बनाए’, उनले भनिन्’, ‘घर नजिकै जग्गा पनि किनेकी छु ।’ घर बनाउदा र जग्गा किन्दा विदेशमा कमाएको पैसा सकियो उनले भनिन्, ‘अब जीवन चलाउन केही न केही गर्नु प¥यो भनेर गाईपालन सुरू गरेका हौैं । उनको फर्ममा अहिले ३६ वटा गाई छन । दूध दिने २० वटा माउ छन् भने अन्य बाच्छाबाच्छी छन् । ‘दैनिक १५० लिटर दूध उत्पादन हुन्छ’, श्रीमान शंकर पुरीले भने, ‘अहिले गाईपालनबाटै राम्रो आम्दानी हुने गरेको छ ।’ उनीहरुले उत्पादन गरेको दूध प्रतिलिटर ६० रूपैयाँसम्म पर्ने गरेको छ । दूध बिक्रीबाट उनीहरुले खर्च कटाएर मासिक ८० हजार आम्दानी गर्ने गरेका छन् ।
‘विदेशमा पनि कमाइ हुने यतिनै हो’, ईश्वरीले भनिन्, ‘दुःख गर्न सके आफनै ठाउँमा पैसा रहेछ ।’ गाईपालनबाट भएको आम्दानी कमाइ छोराछोरीलाई उच्च शिक्षा अध्ययन र जीवन सहज बनाउने कार्यमा खर्चगर्ने योजना रहेको पुरीले बताए । उनीहरुले गाईकै लागि डेढ बिघा क्षेत्रफलमा घाँस लगाएका छन् ।
परिवारका अन्य सदस्यहरुले पनि सहयोग गर्दैै आएका छन् । गोठ सुधारलाई प्राथमिकता दिएका कारण गाईपालनमा पुरी दम्पतीको लगनशिलताका कारण छिमेकीहरु लोभिने गरेका छन् । ‘अहिले हामीलाई यही विदेश छ’, ईश्वरीले भनिन्, ‘पैसा पनि कमाएका छौं, परिवारसँग पनि सँगै छौं । गाईपालन व्यवसायलाई व्यस्थित रुपले अगाडि बढाएको भन्दै उनीहरुको फर्मले राष्ट्रपति कृषक पुरस्कार जितेको छ । ‘पुरस्कार राशी धेरै थिएन’, ईश्वरीले भनिन्, ‘सरकारले हामीलाई सम्मान ग¥यो, हामी यसैमा खुसी छौं ।’ गुणस्तर दूध उत्पादनमा उनी उनीहरु अब्बल छन् । गुणस्तर दूध उत्पादन गरेको भन्दै स्थानीय तथा जिल्ला स्तरका संस्थाहरुले पनि पुरी दम्पती र उनीहरुको फर्मलाई पुरस्कृत गरेका छन् । जिल्लाको उत्कृष्ट किसानको रुपमा उनीहरुलाई जिल्ला पशु सेवा कार्यालय भरतपुरले पनि २ लाख अनुदान रकम उपलब्ध गराएको ईश्वरीले बताइन् ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डिल्लीराम सेढाईले रत्ननगरका युवाहरु गरेको व्यवस्थित गाईपालन व्यवसाय उदाहरणीय रहेको बताए । पशुपालनको विकासको लागि जे काम गर्नुपर्ने हो त्यही काम भएको पाए रत्ननगरका गाईफर्महरुको अवलोकनपछि उनले भने, ‘पुरी दम्पतीले गरेको जस्तो गाईपालन गर्न सके मुलुक छिट्टै दूधमा आत्मनिर्भिर बन्नेछ ।