बैतडी । नागरिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित जिल्लामा रिट्ठा प्रशोधन उद्योग स्थापनाको तयारी गरिएको छ । कैलाश पवित्र भूपरिधि संरक्षण तथा विकास पहल कार्यक्रमले गरेको अध्ययनअनुसार जिल्लामा वार्षिक ४ सय ४० टन रिट्ठा उत्पादन हुन्छ । उत्पादन भएको रिट्ठालाई प्रशोधन गर्नका लागि उद्योग स्थापना गर्न सके स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन सकिने जिल्ला वन अधिकृत प्रभात सापकोटा बताउँछन् ।
जिल्लाको गोकुलेश्वर क्षेत्र, पाटन नगरपालिका, च्वाँगढ क्षेत्रलगायतका ठाउँमा रिट्ठा बढी मात्राममा उत्पादन हुन्छ । ‘रिट्ठाबाट उत्पादन हुने पाउडरको बजार सम्भाव्यताका विषयमा अध्ययन भइरहेको छ’, उनले भने । जिल्लामा गैरकाष्ठ वनपैदावारमा आधारित उद्योग स्थापनाका लागि सबैसँग पहल भइरहेको अधिकृत सापकोटाले बताए ।