पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रको रुपमा रहेको जिल्लाको उत्तरी गाविस बाँसखर्कमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशत सुन्तला उत्पादन भएपछि गाविसमा दुई करोड रूपैयाँ भित्रिने अनुमान गरिएको छ ।
अनुकूल मौसम तथा वातावरण, सुन्तलाको बगँैचा र क्षेत्रफल विस्तार तथा सुन्तला खेतीमा कृषकको बढ्दो आकर्षणका कारण गत वर्षको तुलनामा यसवर्ष ६० टन सुन्तला उत्पादन बढ्ने अनुमान गरेको पर्वत सुन्तला व्यवसायी समितिका अध्यक्ष समेत रहेका स्थानीय कृषक जगत बहादुर खत्रीले बताए । उनका अनुसार बाँसखर्कमा गत वर्ष रू. एक करोड ६० लाख बराबरको सुन्तला निर्यात भएकोमा यस वर्ष २५ प्रतिशतका दरले सुन्तला उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषकहरुले सुन्तला उत्पादन बढेको कारण मूल्य राम्रो पाएमा गाउँमा रू. दुईकरोड भित्रिने अनुमान गरेका छन् ।
बाँसखर्कबाट गत वर्ष २ सय टन सुन्तला उत्पादन भएको खत्रीले बताए । बाँसर्खकमा हालसम्म १६ सय रोपनी क्षेत्रफलमा सुन्तला खेती विस्तार भएको बताइएको छ । त्यहाँ उत्पादन भएको सुन्तला स्थानीय बजारसँगै पोखरा, काठमाडौं, नारायणघाट, बुटवल सम्म निर्यात हुने गरेको छ । यस गाउँका अधिकांश कृषकहरुले सुन्तला खेतीलाई प्रमुख आम्दानीको स्रोत बनाएका छन् । गाउँमा हरेक वर्ष सुन्तला खेती विस्तार गर्ने अभियान चल्दै आएको छ ।
सुन्तला खेतीसँगै बाँसखर्कका किसानले कागती, मौसमलगायतका फलफूल खेती समेत गर्दै आएका छन् । कृषकहरुलाई जिल्ला कृषि विकास कार्यालय र स्थानीय सहकारीले आवश्यक अनुदान, तालिम, गोष्ठीसँगै सुन्तला बगँैचा र फलफूलको स्याहारबारे जानकारीहरु उपलव्ध गराउन थालेपछि सुन्तला खेतीतर्फ कृषकहरुको आकर्षण बढेको स्थानीय ज्योति मण्डल मावि बाँसर्खकका शिक्षक विनय चापागाँईले जानाकारी दिए । कृषि विकास कार्यालयले भने कृषकले उत्पादन गरेको सुन्तलालाई प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत ढुवानीमा छूट दिने तयारी गरिएको जिल्ला कृषि विकास कार्यालय पर्वतका कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।
कार्यालयले पाङ्गराङसहित बाँसखर्क, शालिजा, देउपुर, धाईरिङ लगायतका गाविसलाई पकेट क्षेत्र घोषणा गरेर कृषकहरुलाई मल, क्यारेट, औषधी, बिरुवा दिई सहयोग गरिरहेको रेग्मीले बताए । कृषितर्फ आकर्षण बढाउन कार्यालयले विभिन्न यूवालक्षित कार्यक्रमहरु समेत सञ्चालनमा ल्याएको छ ।