काठमाडौं । झापाली साना किसान व्यवसायी सङ्घका किसानले आफूले उत्पादन गरेको चियाको हरियो पत्तीको उचित मूल्य निर्धारण गर्नुपर्ने भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डसमक्ष आफ्ना माग प्रस्तुत गरेका छन् ।
चियाको उत्पादन प्रारम्भदेखि नै चिया कारखानाका व्यवसायी एवम् उद्योगपतिको नियन्त्रण र कार्टेलिङबाट कृषकहरूले वर्षेनि ठूलो नोक्सानी भोग्नुपरेको उनीहरूको गुनासो छ । आफूले उत्पादन गरेको चियाको हरियो पत्तीको उचित मूल्य नपाउँदा पछिल्लो २ दशकमा झापाली चिया किसानले करोडौं रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको साना किसान झपाली चिया व्यवसायी सङ्घका अध्यक्ष पूर्णकुमार कार्कीले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पटकपटक बनाएको कार्यविधि केही दिन पनि सही ढङ्गले कार्यान्वयन नहुँदा आफूहरू त्यसबाट लाभान्वित नभएको अध्यक्ष कार्की बताउँछन् ।
२ दशकअघिसम्म मात्र पनि हरियो चिया पत्तीको मूल्य १८ रुपैयाँ प्रतिकेजीमा विक्री गरिरहेकोमा हालको समयमा भने मूल्य बढ्नुभन्दा पनि झनै घटेको सङ्घका कोषाध्यक्ष पृथ्वीनारायण कार्कीले जानकारी दिएका छन् । हाल झापाली किसानले चियाको मूल्य अधिकतम १३ रुपैयाँ प्रतिकेजीसम्म मात्रै प्राप्त गरेको उनले थप बताए ।
जीवनयापनको स्रोतका रूपमा रहेको कृषियोग्य जमीनलाई चिया उद्योगमा उपयोग गरिरहेका किसानले चियाको अन्तरराष्ट्रिय मूल्यअनुरूप हरियो पत्तीको मूल्य पाउनुपर्ने मुख्य माग उनीहरूको छ । त्यस्तैगरी, चिया प्रशोधन कारखाना सञ्चालनमा सरकारले पूरा लागतको ५० प्रतिशत अनुदान रकम प्रदान गर्ने निर्णय भएको थियो । तर सरकारले पटकपटक गरी केही रकम प्रदान गर्दा व्यवसाय सञ्चालन गर्न निकै कठिनाइ भएको उनीहरूको गुनासो छ । यसरी सरकारीस्तरबाट भएको निर्णय हालसम्म पनि पूरा नभएको र अनुदानको बाँकी रकम एकमुष्ट रूपमा यही आर्थिक वर्षमा प्राप्त हुनुपर्ने सङ्घको आर्को माग छ । तर, आफूले पटकपटक यस्ता मागहरू गरिरहँदा पनि सरोकारवाला सबै निकाय मौन रहेको सङ्घका कोषाध्यक्ष कार्की बताउँछन् ।
हाल झापा जिल्लामा ४ हजार बिगाहाभन्दा बढी जग्गामा चियाखेती भइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ । जिल्लाबाट वार्षिक साढे ३ करोड केजी हरियो चिया उतपादन भइरहेको र उक्त व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५ हजारभन्दा बढी घरपरिवार आबद्ध रहेको बोर्डले बताएको छ ।