सिन्धुली। मध्यपहाडी लोकमार्गसँगैका ग्रामीण सडक निर्माणपछि महाभारत क्षेत्रका स्थानीय व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् । राजमार्ग निर्माणले उत्पादित आलुको बिक्री र ढुवानी सहज भएको छ ।
अहिले आलुखेती उनीहरूको आम्दानीको मुख्य स्रोत भएको छ । व्यापारीहरू घरमै आई खरिद गरी लैजाने हुँदा आफूहरू आलुखेतीतर्फ आकर्षित भएको कृषकहरूको भनाइ छ ।
जापान सरकारको सहयोगमा निर्मित बीपी राजमार्ग आसपासका भद्रकाली, रतनचुरा, जलकन्या, बासेश्वर, भीभेश्वर, शीतलपाटी, पुरानो झाँगाझोली, झागाँझोली रातमाटा, भुवनेश्वरी र कुशेश्वर दुम्जा गाविसका कृषकहरूले राजमार्गको फाइदा उठाइरहेका छन् ।
कृषकहरूले आलुखेती मात्र नभई सिजनअनुसारका अकबरे खुर्सानी, काउली, आलु, लसुन, प्याजलगायतका तरकारी उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन् । बीपी राजमार्ग गाउँ हुँदै जाने भएकाले उत्पादित तरकारी बिक्री गर्न बजारको कुनै समस्या नभएको स्थानीय कृषकहरू बताउँछन् ।
उनीहरूका अनुसार तरकारी उत्पादनले धेरै कृषक आत्मनिर्भर बन्दै गएका छन् । केही वर्ष अघिसम्म घरमा उपभोग्य तरकारीका लागि बजार खोज्दै हिंड्ने कृषकहरू अहिले आफंै तरकारी बिक्री गर्न थालेका हुन् ।
जलकन्या, भद्रकाली, भीमेश्वर, भुवनेश्वरी गाविसका कृषकहरूले आलुखेतीबाटै बर्सेनि लाखौं रुपैयाँ आम्दानी लिने गरेका छन् ।