पाल्पा । रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन व्यवसाय गरेका छन् ।
आठ वर्षसम्म विदेशमा काम गरेका भट्टराईले राम्रो आम्दानी गर्न नसकेका कारण स्वदेश फर्केपछि रू. १० लाखको लगानीमा बाख्रा थालेका हुन् । उनको फार्ममा अहिले स्थानीय जातका ५० ओटा बाख्रा छन् । पाठापाठी बेचेर वर्षमा रू. चार लाखसम्म आम्दानी गर्ने भट्टराईले भने, ‘कमाई हुन्छ कि भनेर विदेश गएँ, खाडीमा लामो समयसम्म पसिना बगाए, मुस्किलले खान बस्न ठिक्क हुन्थ्यो, परिवार चलाउन निकै समस्या पर्‍यो’— ‘यहाँ आएर बाख्रापाल्न थालेपछि महीनैपिच्छे पैसा पाउँदा र परिवारसँग व्यवसाय चलाउँदा आनन्द पनि लागेको छ ।’
आफ्नै करीब तीन रोपनी जग्गामा व्यवसाय चलाएका भट्टराईलाई चरन र घाँसपातको लागि समस्या पनि छैन । यही दशैंमा मात्र उनले ३२ ओटा पाठापाठी बेचेर रू. एक लाख बराबरको आम्दानी गरेका छन् । व्यवसायका लागि केन्द्रीय भेँडाबाख्रा प्रवद्र्धन केन्द्रबाट युवा लक्षित कार्यक्रम अन्तर्गत रू. एक लाख र जिल्ला पशुसेवा कार्यालयबाट बोका खरीदका लागि रू. ६ हजार अनुदान पनि प्राप्त गरेका छन् ।
दुई सय ओटा बाख्रापालेर वार्षिक रू. ६ लाखभन्दा बढी आम्दानी गर्ने सोच बनाएका उनले यही व्यवसायबाट समाजमा राम्रो पहिचान बनाउन सकेको हुँदा दिगो रुपमा व्यवसाय गर्ने अठोट गरेका छन् ।