हेटौंडा । थाहा नगरपालिका १४–बज्रबाराही, चुुलीपरानका किबी कृषक फणिन्द्रनाथ सुवेदीलाई अहिले किबीखेतीका बारेमा सोध्नेहरु धेरै बढेका छन् । उनको बारीमा लटरम्म पाकेको किबी हेर्ने अवलोकनकर्तासँगै खरीद गर्ने ग्राहकको पनि घुँइचो लाग्न थालेको छ । जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जिल्लाका विभिन्न विधामा उत्कृष्ट १९ जना कृषकलाई पुरस्कृत गर्ने क्रममा किबी कृषक सुबेदीलाई पनि उत्कृष्ठ ठह¥याएपछि सुबेदीको बारीमा अवलोकनकर्ताको भीड लागेको हो ।
विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ठ कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कारले सम्मान गरिएको हो । एक गाउँ एक उत्पादन कार्यक्रम अन्र्तगत किबी खेती गर्न सुबेदीलाई मकवानपुर उद्योग वाणिज्य सङ्घले सहयोग गरेको थियो । मकवानपुरमा किबीखेती शुरु गर्ने फणिन्द्रका बाबु माधबप्रसाद सुबेदी हुन् । उनले ७ बर्ष अघि काभ्रेबाट १० ओटा किबीको बिरुवा ल्याएर बज्रबाराहीमा पहिलो पटक किबीखेती गरेका थिए । त्यसैलाई फणिन्द्रले निरन्तरता दिएका मात्र होईन उनले व्यावसायिक उत्पादन नै गर्न थाले ।
किबीको बारेमा प्राविधिक ज्ञान पाएपछि खेती गर्न सजिलो भएको फणिन्द्रले बताए । गतबर्ष उनले ४ लाख रुपैयाँको किबीफल बिक्री गरेका थिए । अहिले फणिन्द्रको नर्सरीमा १० हजार बिरुवा पनि उत्पादन हुँदै गरेका छन् । ‘बिरुवा उत्पादन गर्न दुई तीन बर्ष लाग्ने रहेछ’– फणिन्द्रले भने । गतवर्ष उत्पादन गरेको बिरुवा अव बिक्री गर्न योग्य भएको उनले बताए । बिरुवा र फल बिक्रीबाट ७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको फणिन्द्रले बताए । उनको बारीबाटै प्रतिकेजी ३ सय ५० रुपैयाँमा किबीफल बिक्री भइरहेको छ । काठमाडौंमा धेरै माग भएको तर, माग धान्ने उत्पादन मकवानपुरमा नभएको उनले बताए । बज्रबाराही बजारमा रहेको फणिन्द्रको पसलबाट पनि किबी बिक्री भइरहेको छ । बज्रबाराहीमा एक दर्जन किसानले अहिले किबीखेती गरिरहेको मकवानपुर उद्योग वाणिज्य सङ्घका कार्यकारी सचिव तथा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमका अधिकृत बिबेक मानन्धरले बताए ।
‘एक गाउँ एक उत्पादन’ कार्यक्रममार्फत् बज्रबाराहीसँगै नामटार र दामनमा पनि किबी उत्पादन गर्ने किसानलाई प्राविधिक तालिम दिइएको मानन्धरले जानकारी दिए । मकवानपुरको किबीलाई ब्राण्डिङ गर्नका लागि पहल भइरहेको र अन्तरराष्ट्रिय बजारमा निर्यातयोग्य उत्पादन गर्ने लक्ष्य लिइएको मानन्धरले बताए । मकवानपुरमा अहिले विभिन्न ६ प्रकारका किबी उत्पादन भइरहेको छ ।
नयाँ फलको रुपमा रहेको किवीको अनुसन्धान, प्राविधिक ज्ञान र सीपको कमीले विगतका दिनमा उल्लेखनीय सफलता हासिल गर्न नसकेको किबीखेती गर्ने किसानहरुले बताएका छन् । किबीखेतीमा देखिएको चुनौती सामना गर्न सरकारी निकायको पर्याप्त ध्यान जानु पर्ने किबी किसान सुबेदीले बताए ।