नवलपरासी ।नवलपरासीका किसानहरु भारतीय बिउमा निर्भर रहन बाध्य छन् । व्यवसायिकरुपमा आलुको बिउका लागि खेती नगरेकाले जिल्लामा बिउका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ ।
जिल्लामा आलुको बिउ नपाइएपछि यहाँका किसानहरु भारतबाट आयात गरिएको बिउ किन्न बाध्य भएका हुन् । जिल्लाको सीमावर्ती क्षेत्रका ९० प्रतिशत किसान सस्तोमा पाइने भन्दै सीमावर्ती भारतीय बजार ठुठीबारी, बरगदवा, निचलवलतर्फ आर्कषित भएका छन् । नेपाली बजारभन्दा भारतीय बजारमा आलुको बिउ निकै कम मूल्यमा पाइने भएपछि उनीहरु भारतीय बिउ ल्याइरहेका छन् । वर्षौंदेखि यहाँका किसान भारतीय आलुको बिउमा निर्भर हुँदै आएका छन् । यसवर्ष यहाँका बजारमा २५ देखि ३० रुपैयाँ प्रतिकिलोसम्म आलुको बिउ बिक्री वितरण भइरहेको किसानहरु बताउँछन् । जिल्लामा उत्पादन भएको आलु र आलुको बिउलाई व्यवस्थितरुपमा राख्नका लागि कोल्ड स्टोर नभएका कारणले बिउका लागि छिमेकी मुलुक भारतको मुख ताक्न परेको किसानहरुको गुनासो छ ।
यहाँका केही किसानहरु आलुको बिउ भण्डारका लागि चितवनका भरतपुर र भैरहवासम्म जाने गरेका छन् । तर, साधन स्रोत नभएका अधिकांश किसान टाढासम्म लैजान बाध्य छन् । सुक्रौली गाविसका किसान हृदयेश गुप्ताले यहाँको भन्दा भारतमा बिउ सस्तो भएकाले किसानहरु उता जाने गरेको बताए । जिल्लामा आवश्यक पर्ने कूल आलु र आलुको बिउको ८० प्रतिशत भारतबाट नै आयत हुने गरेको छ ।
जिल्लामा उत्पादित आलुलाई संरक्षण गरेर राख्न कोल्ड स्टोरको विकल्प नभएको र जिल्लामा हाल कोल्ड स्टोर नभएका कारण आलुको लागि भारतको भर पर्नुबाहेक कुनै विकल्प छैन । जिल्लामा कूल क्षेत्रफलको १ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ । यहाँका किसानहरुले कार्डिनल, सेवन, खुकुरी वादशाह, लालगुलाल, साठा, टि.पी.एस तथा लोकल जातका आलुको खेती गर्ने गरेका छन् ।