काठमाडौं। सरकारले चालू वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मुलुकभर धान थन्क्याउने चटारो चलिरहेका बेला सरकारले पनि किसानको धानको न्यूनतम समर्थन मूल्य तोकेको हो ।
आपूर्ति मन्त्रालयका अनुसार धानको यो न्यूनतम समर्थन मूल्य करीब एक साताअघि मन्त्रिपरिषद्ले पारित गरेको हो । कृषि विकास मन्त्रालयको सिफारिशका आधारमा आपूर्ति मन्त्रालयले न्यूनतम समर्थन मूल्यको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो । ‘मन्त्रालयको प्रस्ताव पारित भएको छ,’ आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार यसपटक मोटो धानको प्रति क्विन्टल २ हजार ७० रुपैयाँ र मध्यमको प्रति क्विन्टल २ हजार २ सय ३० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको छ ।
मोटो धानको प्रति क्विन्टल : २ हजार ७० रुपैयाँ
मध्यमको प्रति क्विन्टल : २ हजार २ सय ३० रुपैया
लामो समयपश्चात् यसपटक सरकारले न्यूनतम समर्थन मूल्य तोकेको हो । गत साल यस्तो मूल्य तोक्ने प्रयास भएपनि भूकम्प, नाकाबन्दी लगायतका अवरोधका कारण सफल हुन सकेको थिएन ।
धान उत्पादन बढ्ने
कृषि विकास मन्त्रालयका अनुसार यस वर्ष धान उत्पादन बढ्ने देखिएको छ । मन्त्रालयका अनुसार यस वर्ष करीब ७ लाख मेट्रिक टनले उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । यस वर्ष करीब ५० लाख मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयको अनुमान छ । गत साल यस्तो उत्पादन ४३ लाख मेट्रिक टन थियो ।
धान रोप्ने बेलाको पर्याप्त वर्षा, मौसमको अनुकूलता, बिउबिजन, रासायनिक मलको उपलब्धता लगायतका कारण यस वर्षको धान उत्पादन बढ्न लागेको हो । कृषि विकास मन्त्रालयका अनुसार हालसम्म करीब आधा भागमा धान थन्क्याइसकिएको छ ।
के हो न्यूनतम समर्थन मूल्य ?
किसानलाई उत्पादित बालीप्रति विश्वस्त तुल्याउन र जोखिम न्यूनीकरण गर्न न्यूनतम समर्थन मूल्य तोक्ने चलन छ । अन्तर्राष्ट्रिय रूपमा पनि यस्तो प्रचलन रहेको छ । न्यूनतम समर्थन मूल्यको मान्यताअनुसार किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउन सक्ने स्थिति नआए सरकारले नै किनेर उपभोग गर्छ ।
धान, फापर, सिमी र उवा किन्न संस्थानले दियो निर्देशन
त्यस्तै, नेपाल खाद्य संस्थानले खाद्य बाली धान, फापर, सिमी र उवा खरिदका लागि सम्बन्धित जिल्लास्थित संस्थानका डिपोहरूलाई निर्देशन दिएको छ । ती खाद्यवस्तु खरिदका लागि कोटासहित सम्बन्धित जिल्लामा निर्देशन दिइएको संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले बताए ।
कर्णालीका विभिन्न ५ जिल्लाबाट फापर र सिमी खरिद गर्ने प्रक्रिया बढिसकेको र छिट्टै गोरखाबाट उवा खरिद गरिने उनले बताए । त्यस्तै विभिन्न ९ जिल्लाबाट धान खरिद गरिनेछ ।