विराटनगर। एक वर्षअघि विराटनगर–५ कंचनबारीकी शान्ता बस्नेतले शिक्षण पेशा छाडेर बोइलर कुखुरा पाल्ने सोच बनाइन्। सहकारीमा घर धितो राखेर ३ लाख रुपैयाँ ऋण निकालिन् र आधुनिक खोर निर्माण गरिन्। तर, जब ब्रोइलर कुखुरा पाल्न थालिन्, उनले नाफाको सट्टा घाटामात्रै ब्यहोर्नुपर्यो। अहिले यो ब्यवसाय छाडेकी उनले भनिन् ‘कुखुरा पालेर ऋणमा परेँ, अहिले ऋणको ब्याज तिर्दैछु,’ उनले भनिन्, ‘कुखुरा पालेर ऋणमा परें ।’ ६ सय कुखुरा अट्ने उनले बनाएको खोर अहिले खाली छ।
विराटनगर–५ कै सन्तोष माझीले १ वर्षअघि ६ सय वटा ब्रोइलर कुखुराबाट व्यवसाय सुरु गरे। तर नाफाको सट्टा घाटा बढ्दै गएपछि उनले विदेश जाने सोच बनाएका छन्। ‘खोर निर्माण र कुखुरालाई खुवाएको दानाको रकम तिर्न पनि सकिनँ, विदेश जाने सोचमा छु,’ उनले भने, ‘हामीले पालेको कुखुराको मूल्य अरुले तोकेको आधारमा हुने भएपछि समस्या भयो।’कुखुरा सप्लायर्सले उचित मूल्य नदिँदा सानो लगानीमा कुखुरापालन ब्यवासय गर्नेहरु समस्यामा परेका छन्। यस्ता धेरै किसान निरन्तरको घाटाका कारण ब्यवसायबाटै पलायन भएका छन्।
भौडाहा–१ मोरङकी शान्ति खड्का, विराटनगर–४ का धनकुमार राउतले पनि आफूले पालेको कुखुरा व्यवसायबाट हात झिकेका छन्। पछिल्लो समय कृषि क्षेत्रमा भएको विकासप्रति प्रभावित भएर कुखुरा पाल्ने साना कुखुरा व्यवसायीको दुःख खपिनसक्नु छ। ‘चल्ला किन्ने बेलामा भाउ बढ्छ, माउ बेच्ने बेलामा भाउ घट्छ’, व्यवसायी शान्ता बस्नेतले भनिन्, ‘सप्लायर्सले बेलैमा पैसा पनि दिँदैन, दानाको मूल्य बढाउँछ, कुखुराको मूल्य घटाउँछ, हामीले पालेका कुखुराको मूल्य उसैले राखिदिन्छ।’
कुखुरा पालक किसानको हितका लागि खोलिएका संघ संस्थाले पनि केही गर्न नसकेको उनीहरुको गुनासो छ । ‘सामान्यतया ६ सय कुखुरा पाल्नका लागि खोर निर्माण गर्न एक देखि डेढ लाखसम्म लाग्छ,’ कुखुरा व्यवसायी बलराम थापाले भने, ‘खोरको लगानी बाहेक ६ सय कुखुरालाई बेच्ने अवधिसम्ममा झण्डै १ लाख ७० हजार लागत खर्च पर्छ, तर विक्री गर्दा १ सय ८० देखि १ सय ९० रुपैयाँ किलोग्रामले बेच्दा लागत पनि उठ्दैन, हाम्रो मेहनत र खोरको लगानी खोई ?’
चल्ला तथा दानाको मनपरी मूल्य निर्धारण गर्ने तर, उत्पादित ब्रोइलर कुखुराको मूल्य पनि तीनै विचौलियाले गरिदिँदा किसान मारमा परेका छन् । सरकारले सदाबहार मूल्य नतोकिदिँदा पनि समस्यामा परेको उनीहरुको गुनासो छ।
बजारमा उपभोक्ताले कम मूल्यमा कुखुराको मासु पाउँदैनन्। तर, उत्पादक किसानलाई मूल्य घटाएर विचौलियाले लाखौं कुम्ल्याइरहेका किसानहरुको गुनासो छ। कुखुरापालक किसानमाथि ह्याचरी, दाना उत्पादक तथा दाना डिलरहरुले सिण्डिकेट लगाएका छन्। ‘सुली र बोरा बेचेर कुनै पनि किसानको जिविका चल्दैन,’ कुखुरापालक किसान भीम तामाङले भने, ‘सरकारले कुखुरा पालक व्यवसायका लागि लोककल्याणकारी नीति बनाउनु आवश्यक छ।’ कुखुरा व्यवसाय सञ्चालनका लागि चल्ला र दानाले मात्रै नपुग्ने भएको कारण अन्य कच्चा पदार्थ औषधि, सोत्तर (भुषा) विजुली, खोर निर्माण, जग्गा भाडा, ढुवानी र कामदारको ज्याला तिरेर उत्पादन गरेको कुखुराको लागत मूल्य अनुसारको मूल्य निर्धारण सरकारले गर्नुपर्ने किसानको माग छ।
जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख कृषि विकास अधिकृत मनोज यादवले कृषि कार्यालयले न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने विषयमा छलफल गरिरहेको बताए।