
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१२ चिप्लेटीका युवा सञ्जय कुँवर शिक्षण पेशासँगै व्यावसायिक बाख्रापालनमा लागेका छन् । करीब १६ लाखको लगानीमा कुँवर बाख्रापालन फर्म दर्ता गरी आधुनिक र वैज्ञानिक खोर व्यवस्थापनसहित शुरुमा २३ ओटा बाख्राबाट व्यवसाय शुरु गरेको उनले बताए । विगत ३ वर्षदेखि व्यावसायिक बाख्रापालन शुरु गरेका युवा कृषक कुँवरको खोरमा अहिले जमुनापारी र बिटोल जातका ७२ ओटा स्थानीय बाख्रा रहेका छन् ।
खोरमा अहिले २४ ओटा माउबाख्रा र बाँकी पाठापाठी, बोका तथा बाख्रा रहेको बताउँदै बाख्रापालनबाटै वार्षिक सातलाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । बाख्राका लागि २० रोपनीको जग्गामा डालेघाँस र भुईघाँस समेत लगाएको कृषक कुँवरले बताए । बाख्रापालनका लागि जिल्ला वन कार्यालय म्याग्दीबाट नगद २४ हजार रुपैयाँ र ११ सयओटा डालेघाँसका बिरुवा सहयोग पाएको उनले जानकारी दिए ।
यसैगरी, पशु सेवा कार्यालयबाट नगद एकलाख रुपैयाँ अनुदानसहित क्षेत्रीयस्तरको तालिमको अवसर पाएको उनले बताए । दुवै कार्यालयबाट प्राप्त सहयोग व्यावसायिक बाख्रापालन र बाख्रा उत्पादन एवम वृद्धिका लागि लगानी गरेको बताउँदै बाख्राको स्रोत केन्द्रका रुपमा विकास गर्ने योजना रहेको कुँवरले बताए । आफ्नो खोरमा उत्पादित बाख्रा खरीदका लागि जिल्लाको विभिन्न ठाउँबाट कृषकहरु खोरमै आउने गरेको उनको भनाई छ ।
आगामी दिनमा गाउँलाई बाख्रामा आत्मनिर्भर बनाउने र नमूना स्रोतको रुपमा विकास गर्ने आफ्को लक्ष्य रहेको कुँवरको भनाई छ ।व्यावसायिक बाख्रापालनबाट खेतीपातीका लागि मल उत्पादन हुने गरेको छ भने मासु खान तथा पुजाआजामा बलिका रुपमा बाख्राको बोकालाई प्रयोग गर्ने गरिन्छ । मध्यपहाडी जिल्ला म्याग्दी व्यावसायिक बाख्रा तथा पशुपालनका लागि प्रचुर सम्भावना रहेकाले सोहीअनुसार कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीले बताएको छ ।