वीरगञ्ज । औद्योगिक तथा व्यापारिक घराना क्याल समूहले वीरगञ्ज–पथलैया करिडोरमा अत्याधुनिक दाना उद्योग सञ्चालनमा ल्याएको छ । १२ करोड रुपैयाँको लगानीमा बाराको जितपुरमा पिएलसी प्रविधिमा स्थापना भएको गोर्खा फिड इण्डष्ट्रिज प्रालिले अहिले कुखुरा र माछाको दाना उत्पादन गरिरहेको क्याल समूहले जनाएको छ ।
सो उद्योगले स्वदेशी बजारमा अनुपम ब्राण्डको दाना ल्याएको छ । उद्योगका प्रबन्ध सञ्चालक सुरेशकुमार क्यालले यो ब्राण्डको दाना खुवाइएका चल्लाको वृद्धि चाँडो हुने गरेको प्रतिकृया पाएको दाबी गरे । उनले आफ्नो उत्पादनका बारेमा बजार प्रतिक्रिया अत्यन्तै उत्साहजनक पाइएको पनि बताए ।
अनुपम दाना खुवाइएका चल्लाको वृद्धि तुलनात्मक तीव्र भएको पाइएको र बजारमा यसको माग पनि तीव्र गतिमा बढेको क्यालको भनाइ छ । ‘यो उत्पादनका बारेमा बजारको प्रतिक्रिया अत्यन्तै सकारात्मक पाएका छौं,’ उनले आर्थिक अभियानसित भने । नेपालमा दाना उत्पादनको बजार सम्भाव्यता अधिक रहेको उनको भनाइ छ ।
अहिले स्वदेशी बजारलाई लक्षित गरी विभिन्न स्थानमा उत्पादन पु¥याइएको समूहले जनाएको छ । बजार विस्तारको काम तीव्र गतिमा भइरहेको उद्योगले जानकारी दिएको छ । क्याल समूहका निर्देशक अनुज क्यालले उद्योगले स्तरीय र नवीन प्रविधिबाट उत्पादनमा उच्च गुणस्तर कायम गरेको बताए । निर्देशक क्यालले पिएलसी प्रविधिमा आधारित यो उद्योगबाट स्वचालितरुपमा दानाको गुणस्तर कायम हुने जानकारी दिए । यो प्रविधि कच्चा पदार्थको मात्रा निर्धारणमा विश्वसनीय र प्रभावकारी हुने उनले बताए ।
दानामा गुणस्तरका लागि कच्चा पदार्थको छनोटमा पनि विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ । उत्पादनका लागि कच्चा पदार्थ मकै र सोयाबिन मिलको छनौटमा विशेष सतर्कता अपनाइएको कम्पनीले जानकारी दियो । उद्योगले निकट भविष्यमा पशुपालनका लागि दाना उत्पादनको योजनासमेत राखिएको जनायो ।