पर्वत। पहाडी जिल्लाको मुख्य खाद्यबालीको रूपमा रहेको कोदोको उपभोग घटेपछि उत्पादन पनि घटेको छ । ग्रामीण तथा पहाडी क्षेत्रमा समेत आयातित धानको उपभोग हुन थालेसँगै कोदो लोप हुने अवस्थामा पुगेको छ ।
जिल्लामा कुल खेतीयोग्य २८ हजार ५ सय ९२ हेक्टर जमीनमध्ये ८ हजार ८ सय ७० हेक्टरमा मात्रै अहिले कोदोको खेती हुँदै आइरहेको छ । जिल्लाका सबै गाविसमा कोदोको उत्पादन हुने भए पनि कृषकले उपभोग गर्न छाडेपछि कोदोको खेती विस्तारै हराउँदै गएको हो ।
सिँचाइ नचाहिने भए पनि कोदोको व्यावसायिक खेती हुन सकेको छैन । अर्कोतर्फ जिल्ला कृषि विकास कार्यालयले कोदोखेतीमा अनुदानको कार्यक्रम नराख्दा तथा यसमा लाग्ने रोगका बारेमा कृषकमा जानकारी नहुँदा पनि उत्पादन घटेको हो । सरकारीस्तरको सहयोग र राहतका कार्यक्रम नहुँदा यसलाई व्यवसायीकरण गर्न नसकिएको कृषकको गुनासो छ ।
सरकारले धान, मकै, गहुँलगायत तरकारी खेतीका लागि वर्षेनि अर्बौं अनुदान दिने गरेको भए पनि कोदो खेतीका लगि हालसम्म कुनै आयोजनाको नाम नसुनेको कुश्मा नगरपालिका १३ का सुरेन्द्र पराजुलीले बताए ।
कोदोलाई पछिल्लो समय गाउँका किसानले अखाद्य वस्तुका रूपमा उपयोग गर्न थालेका कारण पनि यसमा खासै सरकारी चासो घटेको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले बताए । स्थानीयको खानपानमा सुधार नआएसम्म कोदो विकास नहुने रेग्मीले बताए । कोदोखेती गर्ने कृषकले नै यसको उपभोग गर्न छाडेको उनको भनाइ छ ।
गाउँका किसानले रक्सी पार्न कोदोको प्रयोग गर्ने गरेका कारण पनि कोदोको नयाँ जातबारे नार्कले पनि खासै अनुसन्धान गर्न चासो नदिएको कार्यालयको भनाइ छ । अहिले प्रायः सबै जिल्लामा डल्ले र झ्याप्ले जातको कोदोको खेती हुँदै आइरहेको छ । कृषिले नयाँ जातको खोजी नगर्ने र भएको कोदोको पनि संरक्षणका कार्यक्रम नहुँदा खेतीमा कमी आएको हो ।