म्याग्दी। स्वदेशमा काम पाइएन भन्दै वर्षेनी युवाहरु विदेशीने गरे पनि म्याग्दीमा भने केही युवाले सामूहिक लगानीमा कृषि पेसा सुरु गरेका छन् । बेनी नगरपालिका–१२ चिप्लेटीमा तीन युवा मिलेर संयुक्तरुपमा लगानी गरी व्यावसायिक कृषि पेसा सुरु गरेका हुन् ।
चिप्लेटीका युवा सञ्जय कुँवर, बेनपा–११ पुलाडाँडाँका रेशमबहादुर बाँनिया र कृष्णबहादुर बाँनियाले संयुक्त कृषि पेसा अपनाएका छन् । उनीहरुले झण्डै ३० लाख रुपैयाँको लगानीमा १९ रोपनी जग्गा किनेर माछापालन, अलैंची र कागती खेती सुरु गरेको बताएका छन् ।
भूलभूले बहुउद्देश्यीय कृषि फर्म स्थापना गरी आफूहरुले व्यावसायिक कृषि खेती सुरु गरेको उनीहरुको भनाई छ । उनीहरुले आगामी दिनमा माछा, अलैंची, कागतीसहित अन्य फलफूल र तरकारी खेतीको विस्तार गर्ने लक्ष्य राखेका छन् ।
पानीको स्रोत नजिकै भएको हुँदा सुरुमा दुईवटा पोखरीबाट व्यावसायिक माछापालन सुरु गरेको युवा किसान सञ्जय कुँवरले बताउनुभयो । ३०/३० फिट लम्बाई र चौडाइको पोखरी निर्माण गरी माछापालन सुरु गरेको बताउँदै उहाँले भन्नुभयो ‘पोखरीमा अहिले ग्रासकार्प, कमनकार्प, सिल्भर र बिगेट जातका माछाका भुराहरु हालिएको छ ।’
जिल्ला कृषि विकास कार्यालय म्याग्दीको अनुदान सहयोगमा १५ सय वटा माछाका भुराहरु खरिद गरी पोखरीमा राखिएको कुँवरले बताउनुभयो । माछापालन गर्न पोखरी निर्माणमा कृषि कार्यालयले १० हजार रुपैयाँ सहयोग गरेको थियो ।
पोखरीसँगै ६० फिट लम्बाई र ३० फिट चौडाइको अर्को पोखरी पनि बनाइएको छ । नयाँ पोखरीमा उत्पादित माछा पाल्ने तयारी गरिएको छ भने थप तीनवटा पोखरी माछापालनका लागि निर्माणको चरणमा रहेको भूलभूले बहुउद्देश्यीय कृषि फर्मले जनाएको छ ।
माछापालनका साथसाथै युवाहरुले अलैंची खेती पनि सुरु गरेका छन् । कृषि कार्यालयको ५० प्रतिशत अनुदानमा अलैंचीका बिरुवा खरिद गरी दुई हजार वटा बिरुवाहरु लगाइएको अर्का युवा कृष्णबहादुर बाँनियाले जानकारी दिनुभयो ।
यसैगरी परीक्षणका रुपमा पाल्पादेखि खरिद गरेर ल्याएका एक सय ५० बोट कागतीका बिरुवा पनि लगाइएको उहाँले बताउनुभयो । आगामी वर्ष अलैंचीको संख्या बढाएर १० हजार पु¥याउने बताउँदै उहाँले कागती र तरकारी खेतीको बिस्तार गर्ने आफूहरुको लक्ष्य रहेको बताउनुभयो ।
चिप्लेटीमा पर्याप्त पानीको स्रोत भएकाले पनि व्यावसायिक खेतीमा युवाको आकर्षण बढेको हो । बहुउद्देश्यीय कृषि फर्मबाट बेरोजगार युवाहरुलाई रोजगार समेत दिइने उनीहरुले बताएका छन् । स्वदेशमा केही काम पाइएन भन्दै विदेशिने युवाहरुलाई गाउँमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन आफूहरुले संयुक्त लगानीबाट कृषि पेसा सुरु गरेको उनीहरु बताउँछन् ।
कृषि पेसाबाटै बेरोजगारको समस्या समाधान हुने र देशको आर्थिक विकासमा टेवा पुग्ने भएकाले व्यावसायिक कृषि पेसाका लागि अत्याधुनिक कृषि औजार तथा उपकरणको आवश्यकता रहेको युवाहरुले बताए ।
पछिल्लो समय म्याग्दीमा व्यावसायिक रुपमा कृषि पेसा अपनाउने युवाहरुको संख्या बढ्दै जान थालेको कृषि र पशु सेवा कार्यालयको तथ्यांकले देखाएको छ । विदेशबाट फर्किएर वा विदेश जाने मोह त्यागेर स्वदेशमै उद्यम गर्न युवाहरु लागिपरेका छन् । कृषि र पशुपालनका क्षेत्रमा व्यावसायिकता सुरु भएको देखिएपनि युवाहरुलाई त्यसप्रति अझै प्रतिबद्ध बनाउन आवश्यक बजेट तथा उपकरण सहयोगको आवश्यकता देखिन्छ ।