रुपन्देही । तीनवर्ष पहिलेसम्म बाँझो र उजाड रहेको रुपन्देहीको सिक्टनहन गाविस वडा नं. ७ छोट्की गुम्बीस्थित जग्गा अहिले हराभरा भएको छ । त्यसबेला किसानले पालेका पशुको चरण क्षेत्र रहेको सो स्थान अहिले उर्बर क्षेत्रको रुपमा परिणत भएको छ ।
स्थानीय विद्यालयको नाममा रहेको खाली जग्गामा माछा, कुखुरा, मौरी पालनका साथै तरकारी लगायत विभिन्न खेती सुरु गरिएपछि त्यो क्षेत्र कृषि पर्यटनको गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।
अहिले दैनिकरुपमै कृषि क्षेत्रमा चासो राख्ने व्यक्ति अवलोकनका लागि त्यहाँ जाने गरेका छन् । कृषि क्षेत्रबाटै आफ्नो र देशकै आर्थिक स्तर उकास्न सकिन्छ भन्ने सोंचका साथ रुपन्देहीका केही युवाले सुरु गरेको कृषि फार्म रुपन्देहीको नमुना फार्मको रुपमा स्थापित हुँदै गएको छ ।
विभिन्न पेशा व्यवसायमा रहेका युवाको पहलमा स्थापना गरिएको सामुहिक बहुउद्देश्यीय कृषि उपज तथा वितरण समुह मार्फत् माछा, मौरी तथा पशुपंक्षीसँगै तरकारी र विभिन्न खेती गरिदैँ आएको छ ।
फार्मले कुनै निश्चित वस्तु मात्र उत्पादन गर्दैन । २४ विगाहा क्षेत्रमा फैलिएको कृषि फार्म माछा पोखरी, कुखुरा फार्म, मौरीका घार तथा बेसार र अडहरसँगै विभिन्न प्रकारका मौसमी तथा बेमौसमी तरकारी खेतीले हराभरा बनाएको छ ।
समुहका अध्यक्ष प्रकाश खनालका अनुसार तरकारी लगाएर बाँकी रहेको जग्गामा सिजन अनुसार धान, गहुँ, मकै जस्ता खाद्यबाली लगाउने गरिएको छ । फार्ममा उत्पादित वस्तु बिक्रीको लागि बजार पुग्न पर्दैन । उत्पादित वस्तु लिन व्यापारी आफै फार्मसम्मै पुग्ने गरेको अध्यक्ष खनालको भनाई छ ।
झाडी र बाँझो रहेको जमिनमा व्यावसायिक खेती गर्ने योजना सुनाउँदा नपत्याउनेहरु पनि आफ्नै अगाडि हराभरा भएको देख्दा अचम्म मान्छन् । पहिलो वर्ष कुखुरा र अन्नबाली बिक्री गर्न सुरु गरेको समूहले गत वर्षदेखि माछा, मह, बेसार लगायतको उत्पादन बजार पु¥याउन थालेका छन् ।
मौरीको १ सय घारबाट यस वर्ष एक क्विन्टल मह बजार पु¥याएको अध्यक्ष खनालले बताउनुभयो । २०७० सालमा फार्म सुरु गर्दा ५० लाख लगानी गरेको समुहले लगानीलाई पनि बढाउँदै लगेको छ ।
सिक्टहन माविको १८ बिघा बाँझो जमिन र व्यक्तिगत ६ बिघा गरी १० वर्षका लागि २४ बिघा जग्गाको वार्षिक १ लाख ७२ हजार बुझाउने गरी भाडामा लिएर सुरु गरिएको फार्ममा ३ बिघा जग्गामा पाँचवटा पोखरी खनी माछा पालन गरिएको छ ।
२५ वटा भैँसी पाल्न मिल्ने गोठ निर्माण गरिसकिएको छ र केही महिनामै सुरु गरिने समूहका उपाध्यक्ष नवराज फुल्लेलले जानकारी दिनुभयो । दूधको लागि गाई र भैंसी तथा मासुको लागि बंगुर पाल्ने समुहको योजना रहेको उहाँले बताउनुभयो ।
समूहले गरेको मेहनत र लगानीलाई प्रोत्साहन गर्दै कृषि कार्यालय रुपन्देहीले मौरीपालन, माछापालन तथा अर्गानिक तरकारी खेतीमा पनि विभिन्न समयमा सहयोग उपलब्ध गराउँदै आएको छ । कार्यालयले गरेको सहयोगबाट दुई बिघा खेतमा चैते धान रोपिएको छ भने वर्षे धानखेतीको लागि पनि बीउ राख्ने तयारी गरिएको छ ।४ वर्ष पहिले पूर्वी झापामा गरिएको सामूहिक कृषि फार्मको अवलोकन भ्रमणपछि त्यहाँको कामबाट प्रभावित भई सामूहिक कृषि फार्म सुरु गरिएको अध्यक्ष खनालले बताउनुभयो ।यो सँगै रुपन्देहीमा अन्य क्षेत्रमा पनि व्यावसायिक कृषिखेती बढ्दै गएको छ । जग्गा भाडामा लिएर व्यावसायिक कृषि गर्ने झण्डै एकदर्जन समूह रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ।
रुपन्देहीमा तरकारी खेती, पशु, अष्ट्रिच र कुखुरापालन व्यावसायिक रुपमै अगाडि बढिसकेको छ । सरकारले कृषि क्षेत्रमा लाग्ने किसानलाई विभिन्न अनुदान र राहत उपलब्ध गराउन थालेपछि व्यावसायिक कृषिका लागि बाँझो जमिन खोज्ने क्रम पनि सुरु भएको छ ।