अर्घाखाँची।सन्धिखर्क–१० किमडाँडाका कृष्णप्रसाद पराजुलीले पशुपालनबाटै मासिक ५० हजार आम्दानी गर्छन् । पशुपालन फर्म सञ्चालन गरेका उनी यो पेसाबाट निकै सन्तुष्ट छन् ।
उनले ५ वटा गाईसँगै फ्रेस हाउस पनि सञ्चालन गरेका छन् । गाई पालनबाट मासिक ६५ हजार र फ्रेस हाउसबाट १० हजार आम्दानी हुने गरेको उनी बताउँछन् ।उनले पालेका ४ वटा गाईले नियमित दूध दिन्छन् । “दैनिक ५५ देखि ६० लिटर दूध बिक्री हुन्छ, खर्च कटाएर वार्षिक ६ लाख आम्दानी हुन्छ,” उनले भने, “विदेश गएर पनि सोचेजस्तो काम पाइएन, कामका लागि धेरै देश गएँ, तर अहिले गाउँमै पशुपालन व्यवसाय गरेपछि सन्तुष्ट छु ।”
०७२ सालबाट फर्म खोलेर गाई पाल्न सुरु गरेका पराजुली अहिले आफैं सदरमुकाममा दूध लिएर बेच्न थालेका छन् । उनी अब कर्मचारी राखी फर्म अझै विस्तार गर्ने सोचमा छन् । ‘दूधको माग बढ्दै छ । सबैले आफूसँगै दूध माग गर्दा गौरव लाग्छ,” उनले भने ।
गाई पालनबाट राम्रो आम्दानी भएपछि पराजुलीले भैंसी पनि पाल्ने सोच बनाएका छन् । भैंसीको दूधको माग निकै बढेकाले अब दुईवटा भैंसी पाल्न लागेको उनले बताए ।५ लाख रुपैयाँको लगानीबाट व्यवसाय सुरु गरेका उनले लगानीसमेत उठाइसकेका छन् । अब भएको आम्दानी फर्ममै खर्च गर्ने योजना उनले बताएका छन् ।“जिल्लामै नमुना फर्म बनाउने योजनामा छु” उनले भने, “राम्रो गरेर अरू युवालाई पनि कृषिमै आकर्षित गर्ने सोच छ ।” उनले रोजगारीका भौतारिनुभन्दा गाउँमै पशुपालन व्यवसाय गर्न युवाहरूलाई सुझाव दिए ।