पाल्पा । यहाँका किसान दसँैतिहार सकेर धान काट्न, सुकाउन, खलो बनाउन, दाई लगाउने चटारोमा छन् ।बिहानदेखि साँझसम्म खेतको धान भित्र्याउन किसानको चहलपहल बढेको हो । यस वर्ष समयमा वर्षा भएको र रोग तथा कीराले नसताएकाले धानको बाला राम्रो हुनुका साथै बढी फलेको देखिन्छ ।
रुप्से गाविस– २, खहरेखोलाकी शान्ति कोइरालले विगतका वर्षको तुलनामा यसवर्ष धानबाली बढी फलेको बताउनुहुन्छ । धान काटेर खेतमा सुकाएर राखेको र पानी नपरेमा दाइँ हाली भित्र्याउन सजिलो हुने सम्बद्ध किसानको भनाइ छ ।
धान राम्रो फलेको छ, यसलाई राम्रोसँग भित्र्याउन पाए वर्षभरिको चामल सुरक्षित हुने उहाँ बताउनुहुन्छ । यस वर्ष समयमै मनसुन भएकाले र उन्नत जातको धानबालीमा रोगको प्रकोप नहुँदा विगतका वर्षमा भन्दा धानको उत्पादनमा १५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कसिल अहमद बताउनुहुन्छ ।
उहाँका अनुसार माडीफाँट, कचलफाँट, रामपुरफाँट, अर्गली, हुँगी, पूर्वखोला, झडेवा, सर्देवालगायतमा बढी मात्रामा धान उत्पादन भएको देखिन्छ । छ हजार २२० हेक्टर क्षेत्रफलमा उन्नत तथा स्थानीय जातका धानखेती गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार अनुदानमा सावित्री, खुमलटार, रामलगायतका उन्नत धानको बीउका कारण उत्पादनमा वृद्धि भएको हो । स्थानीय जातका धान भन्दा उन्नत जातका धान बढी फल्ने भएपछि किसान पनि उन्नत जातको धानीखेती प्रति आकर्षित भएका हुन् ।
कृषक कोइरालाका अनुसार रुप्से, पोखराथोक, मदनपोखरा, कसेनी, चिदीपानी, हुमिन, झडेवा गाविसलगायतका क्षेत्रका किसान धानबाली भित्र्याउन जुटेपछि अहिले माडीफाँट रमणीय बनेको हो ।माडी फाँटमा सावित्री, राजा, मनसुली, मलेसिया, सावा मनसुली, हाइब्रिड तथा स्थानीय जातका धान लगाइएको छ । यहाँको पानी प्रशस्त भएका क्षेत्रमा चैते धानबाली पनि गरिएको छ ।उत्पादन बर्सेनि बढेपनि पाल्पा जिल्ला चामलमा आत्मनिर्भर हुनसकेको छैन ।