धनकुटा । वैदेशिक रोजगारबाट फर्किएर धनकुटा परेवादिन गाविसका एक यूवाले आफ्नै गाउँमा करोडौं रूपैयाँ खर्च गरेर आधुनिक गाई फार्म सञ्चालनमा ल्याएका छन् ।वैदेशिक रोजगारका क्रममा सात वर्ष कतार बसेर फर्किएका नाम्जाङ ७ का ४४ वर्षिय भरत गुरुङले तीन करोड रूपैयाँको लगानीमा आफ्नै गाउँमा उक्त फार्म खोलेका हुन् ।
विदेशबाट फर्किएर २०६८ सालबाट रू. पाँचलाखकोे लगानीमा तीनओटा गाईबाट व्यवसाय शुरु गरेका थिए । उनीसँग हाल प्रति गोटा एकलाख रूपैयाँदेखि दुईलाख ५० हजार रूपैयाँसम्मका २५ ओटा होलस्टेन र जर्सी जातका उन्नत गाई छन् । हाल ५० लाख रूपैयाँको लगानीमा आधुनिक गोठ पुनर्निमाणको चरणमा रहेको उनको फार्ममा परेवादिनको सिँधुवा बजारमा रहेको कामाधेनु दूग्ध सहकारीको एक करोड ३० लाख रूपैयाँ र अन्य व्यक्तिगत लगानी रहेको उनले जानकारी दिए ।
व्यावसायिक गाईपालनमा नाम कमाएको इलाम, गोरखा र काठमाडौं भ्रमण पछि गोरखाका राजेन्द्र पन्तको कामाधेनु गाई फार्मबाट प्रेरित भएर आफू गाई पालनमा लागेको उनले बताए । ‘आफ्नै देशमा केही गराँै भनेर विदेशबाट फर्किएको थिएँ’,उनी भन्छन्,‘गाईपालनमा राम्रो सम्भावना देखेर लगानी गरेको हुँ ।’
२०७० सालमा मकालु गाई फार्म दर्ता गरेर आफूले विदेशमा कमाएको थप २० लाखको लगानीमा सातओटा गाई थपेका उनले यो बर्ष कूल ३ करोड रूपैयाँमा फर्म पुरा हुने बताए । हाल दैनिक एकसय ५० लिटर दूध बेचिरहेका उनले फर्म पूर्ण रुपमा सञ्चालनमा आएपछि ५० ओटा उन्नत जातका गाईबाट दैनिक पाँचहजार लिटर दूध उत्पादन गरेर बेच्ने लक्ष्य राखेको बताए । विदेशमा रहँदा मासिक ५० हजार रूपैयाँ कमाउने गरेका उनले हाल मासिक एक लाख ५० हजार रूपैयाँको कारोबार गरेर एक लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेको बताए । गाई पालनको लागि एकसय ५० रोपनी जग्गामा उन्नत जातको घाँस खेती लगाएका उनले हाल मासिक सातदेखि १५ हजार रूपैयाँ तलब दिएर सातजनालाई रोजगार समेत दिइरहेका छन् ।
जिल्ला पशुसेवा कार्यालयको तथ्याङ्क अनुसार हाल धनकुटामा ४६ ओटा गाई÷भँैसी फार्महरु सञ्चालन भइरहेका छन् । जिल्लामा उत्पादित १७ हजार पाँच सय लिटर दूधमध्ये दैनिक धनकुटाबाट छ लाख ७५ हजार रूपैयाँ बराबरको १५ हजार लिटर दूध तराईका जिल्लामा निर्यात हुने कार्यालयले जानकारी दिएको छ ।