बझाङ। बझाङको कोटदेवलका बासिन्दाले गाईभैँसीको दूध बिक्री गर्न थालेका छन् । गाईभैँसीको दूध बेच्न हुँदैन भन्ने अन्धविश्वास बिस्तारै हट्न थालेपछि कोटदेवलका बासिन्दाले दूध बिक्री गर्न थालेका हुन् ।
दूध बिक्री गर्दा गाईभैँसीले दूध कम दिने परम्परागत धारणाका कारण बझाङका धेरै ग्रामीण बस्तिमा दूध बिक्री गरिँदैन । महिला महिनावारी हुँदा समेत दूध, दही घिउ लगायत दूधका परिकार दिन हुन्न भन्ने अन्धविश्वास अझै व्याप्त छ । तर कोटदेवलका किसानका लागि भने दूध बेचेर आउने रकम घर खर्चका लागि मनग्ये हुन थालेको छ ।‘पहिला केहीले दही बिक्री गरेपनि सबैले दूध बिक्री गर्न मान्दैनथे’ स्थानीय बासिन्दा धनलक्ष्मी द्धावलले भन्नुभयो ‘तर अहिले सबैजसो गाउँलेले स्थानीय निलकमल महिला बहुउदेश्य सहकारी संस्थामा दूध बेचेर आम्दानी गर्ने गरेका छन् ।’
स्थानीय बासिन्दा निर्मला सिंहले बिहान दूध बेचेर पैसा लिने र दिउँसो सहकारीमा जम्मा गर्ने गरेको बताउनुभयो । दूध बिक्री गरेको सबै रकम सहकारीमा नै जम्मा गर्ने भएकाले फजुल खर्च पनि नहुने स्थानीय तुलसीदेवी भण्डारीले बताउनुभयो । जसले गर्दा आफूहरुलाई घर खर्च चलाउन सजिलो भएको उहाँको अनुभव छ ।
कोटदेवलको रनाडामा २०७२ सालसम्म दही दूध बिक्री गर्न बजारसम्म जानुपर्ने अवस्था थियो तर अहिले त्यस्तो समस्या छैन । गाउँमा नै दूध संकलन केन्द्र बनाएपछि गाउँ भरीका झण्डै ६० परिवारले दूध संकलन केन्द्रमा दूध पु¥याउँछन् । दूध संकलनको काम पाएका सुरेन्द्रबहादुर सिंहले प्रति लिटर ५ रुपैयाँका दरले पारिश्रमिक पाउनुहुन्छ । जसबाट महिनामा ९ हजार रुपैयाँ पाउनेगरेको उहाँले बताउनुभयो । घरमै बसेर बिहान एकछिन समय दिँदा त्यति आम्दानी हुँदा सुरेन्द्रपनि दंग हुनुहुन्छ ।संकलन केन्द्रमा संकलन गरिएको दूधलाई बजारसम्म पु¥याउने काम रोसनबहादुर सिंहले गर्नुहुन्छ । त्यसबापत उहाँको पारिश्रमिक १० रुपैयाँ प्रति लिटर छ । जसबाट उहाँको महिनाको १८ हजारसम्म आम्दानी हुन्छ ।
गाउँमा दूध प्रति लिटर ५५ रुपैयाँमा बिक्ने गरेको निलकमल महिला बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष रेनु विकले बताउनुभयो ।
दूध बिक्रीसँगै कोटवाडाका बासिन्दाले राम्रो आम्दानी त गरिरहेका छन् नै दूध बिक्री गर्दा र महिनावारी हुँदा दूध खाँदा पनि गाईभैँसीले दूध थोरै दिने कुरा गलत रहेछ भन्ने पनि थाहा पाएका छन् ।