नवलपरासी । नवलपरासी जिल्लाको मैनाघाटका किसान उखु खेती छाडेर व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन् । सो गाविसमा केही वर्षपहिला उखु खेती गरिँदै आएकोमा धेरै रकम आम्दानी हुने देखेपछि किसानहरू उखु खेती छाडेर कागती खेतीतर्फ आकर्षित भएका हुन् ।
खेती गर्न पनि सजिलो हुने र थौरे लगानीमा धैरे रकम आम्दानी हुने भएकाले कागती खेतीतर्फ उन्मुख भएको किसानहरू बताउँछन् । उखुको खेती गरिँदै आए पनि उखु मिलहरूले समयमा उखुको भुक्तानी नदिने, सरकारले उखुको मूल्य समयमा र उचित मूल्य निर्धारण नगर्नेलगायत समस्याबाट नवलपरासीका किसान पीडित भएको अवस्थामा पछिल्लो केही समयदेखि किसान उखु खेती छाडेको जनाएका छन् ।
मैनाघाट गाविसको ९ नम्बर वडामा अहिले केही किसान व्यावसायिक कागती खेती गरेका छन् भने अन्य केही किसानहरू नगदेबालीहरूलाई व्यावसायिक बनाउँदै लगेका छन् । यहाँका केही वर्षपहिले चितवनको सप्तगण्डकी प्रालिबाट १७ सय बिरूवा ल्याई व्यावसायिक कागती खेती शुरू गरेका किसानहरू अहिले सो खेतीबाट आम्दानी हुन थालिसकेको कागती खेती गर्दै आएका सुन्दर खनालले बताए । अहिले सो क्षेत्रको करीब साढे ३ विगाहमा कागती खेती हुँदै आएको छ । परिवारका सदस्यहरूबाटै समय दिएर कागती खेती गर्न सहज भएकाले यस खेतीतर्फ किसान आकर्षित भएको अर्का किसान कमल भण्डारीले बताउँछन् ।
यस क्षेत्रका किसानले ३ वर्षअघिबाट मात्र कागती खेतीमा आकर्षित रहेको र पछिल्लो समय लगानीबाट आम्दानी लिन शुरू गरेपछि हर्षित रहेका छन् । यहाँ गोल्डेन जातको कागती खेती गरेको कृषक कल्पना खनालले बताइन् । मैनाघाट क्षेत्रमा नै पहिलो पटक व्यावसायिक कागती खेती गर्न थालेपछि यो व्यवसायमा अन्य किसानसमेत यो खेतीतर्फ लागेका छन् । एक पटक कागती रोपेपछि उक्त एउटै बिरूवा २० वर्षसम्म हुर्कने र फल दिने गरेको किसानको भनाइ छ । केही महीनाको अवधिमा मात्रै यहाँ किसानले ३ सय बिरूवाबाट ४० हजार रूपैयाँ आम्दानी गरेका छन् ।