नेपालगन्ज। बाँके जिल्लामा दैनिक करिब दुई लाख लिटर दुध उत्पादन हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेका अनुसार जिल्लामा दैनिक एक लाख ९८ हजार ७ सय ८० लिटर दुध उत्पादन हुन्छ । दुधबाट बाँके जिल्ला आत्मनिर्भर हुन थालेको पशुसेवा कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार दुध उत्पादन बढेपछि भारतबाट आउने दुधको माग घट्दै गएको छ । किसानले विभिन्न खरिद केन्द्रमा जम्मा गरेको दुध कोहलपुरको पिपरी स्थित दुग्ध विकास आयोजनाले खरिद गरेर ल्याउने गरेको छ । सो का लागि ठाउ ठाउमा खरिद केन्द्रहरु स्थापना गरिएका छन् ।
पशु कार्यालयका अनुसार जिल्लाबाट दैनिक तीन हजार लिटर दुध राजधानी समेत जाने गरेको छ । यातायातको असुविधाले नेपालगञ्ज ल्याउन नसक्दा जिल्लाको विकट तथा राप्तीपारीको क्षेत्रबाट दैनिक एक हजार लिटर दुध भारतमा बिक्री हुने गरेको छ ।
सो कार्यालयका अनुसार जिल्लाको फत्तेपुरमा १६ सय लिटर बराबरको दुधबाट खुवा बनाएर बिक्री गरिन्छ, भने भारतबाट पनि अझै राम्रै परिमाणमा दुध आयात भैरहेको छ । यसैविच जिल्लामा दुध उत्पादन बढेपनि मूल्य भने नबढेको जनाई किसानले बढाउन माग गरेका छन् ।
बाँकेमा गाई फर्म संचालन गरेर ब्यबसाय अगाडी बढाइरहेका किसानहरुले दुधको उचित मुल्य नपाउँदा उनिहरु निराश भएका छन् । जिल्लाका किसानले प्रतिलिटर ३५ देखि ५० रुपैयाँ सम्म दुध बेचेका छन् । गाई फर्ममा लागेको लगानी अनुसार दुधको मुल्य उचित नभएको गाई पालक किसानहरुको गुनासो छ । उनिहरुले प्रति किलो ४० देखि ६० रुपैयासम्म मूल्य पाउनु पर्ने माग गरेका छन् ।
दुग्ध उत्पादक किसान संघ बाँकेका अनुसार किसानको जीवनस्तर माथि उकास्ने हो भने सरकारी अनुदानको दायरा बढाएर दुधको उचित मुल्य निर्धारण गर्नुपर्छ । दुध ब्यबसायबाट किसान तल पर्दै गएको र दुध खरिद गर्ने व्यवसायी भने मोटाउदै गएको किसानको गुनासो छ । बाँकेका किसानका लागि तत्काल ४० देखि ६० रुपैयासम्मको मूल्य तोक्नु पर्ने उनिहरुको माग छ ।
दुधमा रहेको चिल्लोको मात्रा अनुसार मुल्य निर्धारण गरिने गरिएको पशु सेवा कार्यालयले जनाएको छ । अहिले किसानले पाइरहेको मूल्य धेरै कम र धेरै बढी पनि दुबै नरहेको ठहर गर्दै मूल्य बृद्धिको पक्षमा आफु पनि रहेको कार्यालयको भनाई छ ।सरकारी निकायबाट निरन्तर अनुगमन नहुदाँ जिल्लामा दुधको मुल्यमा एकरुपता नभएको किसानहरुको आरोप छ ।