
दाङ।नेपाल खाद्य संस्थानले उपलब्ध गराउने खाद्यान्न बिक्न छाडेको छ । राप्तीका पहाडी गाविसमा सबैभन्दा बढी माग हुने संस्थानको चामल अहिले बिक्न छाडेको हो ।
जिल्लाका सबै क्षेत्रमा सडक र बजारको पहुँच विस्तार भएपछि र स्थानीयले चाहे जस्तो चामल संस्थानले उपलब्ध गराउन नसकेपछि बिक्री हुन छाडेको हो ।
केही वर्षअघिसम्म पनि यहाँका जिल्लाहरूमा खाद्य संस्थानको चामल लिन हप्तौंसम्म लाइन लाग्ने गरेको थियो । तर, अहिले चामल आपूर्तिका लागि ठेक्का आह्वान गर्दासमेत ठेक्का पर्न छाडेको छ । केही वर्ष अघिसम्म राप्तीमा हजारौं क्विन्टल खपत हुने खाद्यको चामल अहिले सयमा झरेको छ । त्यो पनि राप्तीका जिल्लामा होइन कर्णालीको डोल्पामा मात्रै ।
चामलको माग घटेपछि संस्थानले आफ्ना शाखा र डिपोसमेत घटाएको छ । अञ्चल कार्यालयसहित राप्तीमा संस्थानका ७ वटा कार्यालय रहेकोमा अहिले २ वटा कार्यालय र डिपो मात्रै सक्रिय छन् । अञ्चल कार्यालय तुलसीपुर र मुसिकोट शाखा मात्रै सक्रिय भएको अञ्चल कार्यालय खाद्य संस्थान तुलसीपुरले जनाएको छ ।द्वन्द्वकालमा विस्थापित भएका संस्थानका डिपो र कार्यालय क्रमिक रूपमा खाद्यको चामलको माग घटदै गएपछि कार्यालयसमेत पुनःस्थापन हुन नसकेको अञ्चल कार्यालयका प्रमुख शेखर पौडेलले जानकारी दिए ।
उनले संस्थानले रुकुमको शोभा गाउँ डिपोलाई भने यस वर्षदेखि सक्रिय बनाउने प्रयास थालेको बताए ।
संस्थानका रुकुममा १ शाखासँगै चौरजारी र शोभागाउँमा २ डिपो रहेका थिए भने रोल्पामा सदरमुकाममा १ शाखासहित सुलीचौर र घर्तीगाउँमा डिपो स्थापना भएको उनले जानकारी दिए । अहिले लगभग यी सबै निस्क्रिय छन् ।उनले खाद्य संस्थानले स्थानीय उपभोक्ताको मागअनुसार मसिनु चामल उपलब्ध गराएमा र बजारसँग प्रतिस्पर्धा गर्न सक्ने खाद्यान्न पठाएमा मात्रै संस्थानको चामलको माग पूर्व अवस्थामै फर्कने बताए ।