सुर्खेत । सरकारले यसै वर्षदेखि लागू हुनेगरी गाईभैंसीलाई सुत्केरी पशुआहारा भत्ता अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको छ । देशभरका १० जिल्लाका कृषकहरुले उक्त सेवा पाउने भएका छन् ।
मध्य–सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका प्यूठान, सुर्खेत, डडेलधुरा र बैतडीका कृषकले पनि सुत्केरी भत्ता पाउने पशु उत्पादन निर्देशनालय ललितपुरका पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए । दुधालु गाईभैंसी, पाडापाडी र बाच्छाबाच्छीहरुको संरक्षणमा चेतना जगाउने उदेश्यले यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको ढकालले बताए । दुधालु भैंसी र नयाँ जन्मिएका पाडापाडी मासुका लागि विक्री बढ्न थालेपछि रोक्ने उद्धेश्यका साथ उक्त कार्यक्र सञ्चालन गर्न लागिएको हो ।
गाईभैंसी सुत्केरी भत्ता पाउन कृषकले पशुको बीमा, सहकारीमा आवद्ध, पशु सेवा केन्द्रबाट पशु ब्याउने र ब्याएको प्रमाण तथा आधिकारीक निकायबाट गरिबी प्रमाणित भएका कृषकलाई प्राथमिकतामा रहेको ढकालको भनाई छ । कार्यक्रम अनुसार हरेक गाईभैंसी ब्याएवापत कृषकले दुई हजार पाँचसय रुपैयाँ पाउँने छन् । यो कार्यक्रम सञ्चालन गर्न निर्देशनालयले सूचना समेत सार्वजनिक गरेको छ ।
गत असोज १० गते निर्देशनालयले सूचना सार्वजनिक गरेको थियो । तर हालसम्म मध्यपश्चिम क्षेत्रीय पशुपंक्षी निर्देशनालय सुर्खेत, जिल्ला पशु सेवा कार्यालय सुर्खेत र प्यूठान समेत कार्यक्रम बारे अनविज्ञ छन् । सूचना सार्वजनिक गरेको आफूहरुलाई जानकारी नै नभएको क्षेत्रीय पशुपंक्षी निर्देशनालय सुर्खेतका सूचना अधिकारी बेचुलाल चौधरीले बताए । उनले यसबारेमा सामान्य जानकारी पाएपनि कार्यक्रम बारे कार्यविधि नआएकाले स्पष्ट नभएको जानकारी दिए ।