
रामेछाप । रामेछाप जुनार र तरकारी उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ । तर हरिबहादुरतामाङले सुरु गरेको बंगुर र बाख्रा पालन अनि तरकारी खेतीले नयाँ संभावना देखाएको छ । गाउँमा खेतीपाती गर्ने सबैलाई उत्पादन गरेका बस्तुको बजार खोज्न निक्कै धौ धौ पर्छ तर रामेछापको ओखे्रनीका हरिबहादुरलाई कुनै समस्या छैन ।
उहाँले बंगुर पाल्नुभएको छ । उहाँलाई न हुर्काउनुपर्ने चिन्ता छ न विक्रिका लागि बजार खोज्नुपर्ने पीर नै । ‘माउ पाल्ने हो, त्यसले पाठा पाउने भएपछि नजन्मिँदै ती पाठा पेटमै बुकिङ हुन्छ’ कमाइको काइदा सुनाउँदै हरि बहादुरले भन्नुभयो । आख्रेनीबाट सदरमुकाम मन्थली जाने बाटोमा छ हरिबहादुरको इन्द्रलक्ष्मी बाख्रा तथा बंगुर फर्म । प्राय उहाँलाई फर्ममा भेटिँदैन । उहाँ जिल्ला विकास समितिको गाडी चलाउनुहुन्छ । जेठो छोरो पनि जिल्ला बिकास समितिमा नै जागिरे हुनुहुन्छ । कान्छो छोरा सैनिक विद्यालय साँगामा कक्षा ११ मा बिज्ञान बिषय पढ्दै हुनुहुन्छ ।
चार वटी छोरीमध्य दुई छोरीको बिहे भइसकेको छ । फर्ममा दुई जनालाई काम दिनुभएको छ । बंगुर फर्म भएपनि मान्छे बस्ने ठाउँ भन्दा कम सफा छैन । फर्ममा दुई जनालाई काम गर्न भ्याइ नभ्याइ छ ।
दुई जनालाई खान दिएर वर्षको ८५ हजार दिनुहुन्छ अनि दशैंमा खर्च र लुगा फाटो पनि दिनुहुन्छ । यसले नै आम्दानीको धेरथोर छनक दिन्छ । वास्तविक आम्दानी पनि गज्जवकै छ उहाँको । जन्मिने वित्तिकैको एउटा पाठो पैतालीस सयमा विक्रि हुन्छ ।
उहाँको बंगुर फर्ममा अहिले ड्युरो क्रस, लेन्डरेस क्रस जातका ६ वटा माउ छन, अनि ११ वटा पाठापाठी । माउ बंगुर बर्षमा तीन पटक ब्याउँछन् । एक पटकमा १२ वटा सम्म पाठा पाउने भएकाले बंगुरबाट हुने आम्दानी गज्जवको छ । अहिलेसम्म उहाँले दुई सय भन्दा बढि पाठा बेचिसक्नुभएको छ ।
उहाँले बंगुरसँगै तरकारी खेती र व्यवसायिक बाख्रा पालन पनि गर्नुभएको छ । १५/१५ मिटरका दुई वटा प्लाष्टिक टनेलमा फलेको गोंलभेंडा यसवर्ष मात्रै ८० हजारको बिक्रि गर्नुभयो । व्यवस्थित रुपमा बनाएको बाख्रा खोरमा अहिले ४२ वटा बाख्रा छन् । गएको बर्ष ३७ वटा खसी बिक्री गर्नुभएको उहाँको फर्मका अहिले पनि प्राय सवै बाख्रा व्याउने छन् ।
व्यवसायिक योजना नै बनाएर सुरु गरेको व्यसायमा जिल्ला पशु सेवा कार्यलयले बंगुर ढुवानीको लागि एक लाख सहयोग ग¥यो । खोर निर्माण बाख्रा वंगुरको पाठा अनि बाख्राको लागि मात्र ४० लाख लगानी गरिसक्नु भएको छ हरि बहादुरले । २०७२ सालमा आएको भुकम्पले बाख्राको खोरको दोस्रो तला पुरै भत्कायो । तर पनि उहाँको सफल व्यवसायी बन्ने सपना भत्किएन । छ लाख खर्च गरेर खोर मर्मत गर्नुभयो ।
त्यसैले त बर्षभरी व्यवसायबाट मात्रै बाह्रलाख कमाई भएको अनुभव छ हरीबहादुरसँग । अहिले उहाँको बंगुरको पाठा उत्पादन गरी बिक्रि गर्ने । उन्नत जातका खसी स्थानीय बजार र काठमाण्डौंसम्म पु¥याएर आम्दानी लिने धोको छ । ‘अझै पनि सरोकारवालाले हामी जस्तो व्यवसायिक योजना निर्माण गरी व्यवसाय गर्ने व्यवसायीहरुलाई सहुलियतमा ऋण दिए व्यसायलाई थप टेवा पुग्ने थियो’ उहाँ थप्नुहुन्छ ।
गाँउमा व्यवसायिक रुपमा नै बाख्रापालन गर्न सुरुमा घाँस रोप्नुपर्ने रहेछ भन्ने पनि बुझ्नुभयो । सुरुमा आफ्नै बारीमा भएकै डाले घाँसले पुगिहाल्छ भन्ने सोचेका हरिबहादुरले पछि मात्रै घाँसका बारेमा थाहा पाएपछि डेढ लाख रुपैयाँ खर्च गरेर इपिल, स्टाइलो, अम्रिसो र नेपियर जातका घाँसका बिरुवा रोप्नु भएको छ । अव घाँसको समस्या टर्ने बित्तिकै बाख्रा थप्ने सोच छ उहाँको ।
आफ्नै परिवारको साथ सहयोगबाटै चलाएको फर्म अहिले जिल्लाकै नमुना फर्मको रुपमा चिनिन थालेको छ ।
व्यवसायको लागि जिल्ला कृषि बिकास कार्यालय वा पशुसेवा कार्यालयले निःशुल्क प्राविधिक सेवा दिएपछि पशुपालन र कृषिमा कहिलेकाँहि देखिने समस्या समाधान गर्न सजिलो भएको छ । कामको खोजीमा विदेश जानेको लहर रामेछापमा पनि कम छैन । त्यसैले विदेश जाने तयारीमा रहेका त्यस्ता युवालाई लक्षित गरेर कृषि पाठसाला नै संञ्चालन गर्ने सोच बनाउनु भएको छ हरि बहादुरले ।
काँक्रो, टमाटर, अकवरे खुर्सानी, बुद्धचित्त, जुनार, सुन्तला अनि बंगुर र बाख्रासम्म एकैठाँउमा उत्पादन भएको देख्दा आधुनिक रुपमा व्यवसाय गर्छु भन्नेहरु हरि बहादुरको फर्ममा भेटिन्छन् । गाँउमै सफल उद्यमी बन्नुभएका हरिबहादुरलाई कमाउन बिदेश नै जानुपर्छ भन्ने कुरामा बिश्वास लाग्दैन । भन्नुहुन्छ ‘ गाउँघरमै महिनाको एक डेढ लाख रुपैयाँ कमाइ हुन्छ किन जाने विदेश ?’