लमजुङ। लमजुङका कांग्रेस नेता द्धारिका मिश्र राजनीतिसगै कुखुरापालनमा लाग्नु भएको छ ।उहाँले कुखुरा पालन मात्र हैन, घरमै किराना पसलसमेत चलाउनुभएको छ । पसल श्रीमती शिवकुमारी पोख्रेलको जिम्मामा छ । ‘किराना पसल पनि राम्रो चलेको छ’ मिश्रले भन्नुभयो ।
सबेरै उठ्नु हुन्छ अनि शिवकुमारीलाई पसलको सामान व्यवस्थापनमा सघाउनुहुन्छ । आफू चाँही मोटरसाइकलमा कुखुरा फार्मतिर लाग्नुहुन्छ । फार्ममा पुगेपछि कुखुरालाई दानापानी दिनुहुन्छ । कुखुराको स्याहारमा मिश्रलाई कामदार अनिल मगर र रमेश थापाले पनि सघाउँछन् । दानापानीको काम सकिएसँगै तीनैजना अण्डा संकलनमा जुट्छन् । ‘संकलित अण्डा फार्म आडैमा रहेको स्टोर रुमसम्म ल्याइन्छ । क्रेटमा राखिन्छ’ उहाँले जानकारी गराउनुभयो ।
संकलित अण्डा बिक्रीका लागि आफैँ बजारसम्म पुग्नुहुन्छ । ‘कोही फार्ममै आउँछन् अण्डा लिनको लागि, बाइकमा अण्डा राखेर बिक्रीका लागि म आफैँ पनि बजारसम्म पुग्छु’ उहाँले भन्नुभयो, ‘मलाई काम गर्न अप्ठेरो लाग्दैन ।’
उहाँका अनुसार उत्पादित अण्डा लमजुङकै पाउँदी, सुन्दरबजार, खत्रीठाँटी, सिउँडीबार, भोटेओडार, उदीपुरमा खपत हुँदै आएको छ । मिश्रको पोल्ट्री फार्ममा अहिले हाइलेन जातको लेयर्स कुखुरा (अण्डा उत्पादन गर्ने कुखुरा) छन् ।
उहा भन्नुहुन्छ “उमेर पुगेपछि परिवारले उहाँको बिहे गराइदिए । सन्तान पनि भए । पढे पनि कुनै आयश्रोत नभएका कारण उहाँलाई परिवार पाल्न पनि गाह्रो भयो ।
‘पढाई थियो । राम्रो जागिर र कमाइ थिएन । एक्लो ज्यान पाल्न त मुस्किल थियो । छोराछोरी र श्रीमती पाल्न त झनै गाह्रो थियो नि’ । मिश्र २०५७ सालमा श्रीमती, एक छोरा र दुई छोरीको साथमा दुराडाँडाबाट भोटेओडार आउनुभयो । कोठा भाडामा लिएर बस्न थाल्नुभयो । ‘भाडाको कोठामै बसेर चार वर्ष बितायौँ’ उहाँले भन्नुभयो । परिवारको गर्जो टार्न उहाँले केही समय स्थानीय नीजी विद्यालयमा पढाउनु पनि भयो । २०६० सालमा किराना पसल पनि चलाउनुभयो । तर पनि उहाँलाई जीवन चलाउन, छोराछोरी पढाउन भने सकसै भयो ।
मिश्रले व्यवस्थापन संकायमा डीग्री पास गर्नुभएको छ । ‘डीग्री पास पनि गरेें तर राम्रो जागिर पाइन,’ उहाँले भन्नुभयो ‘केही समय त्यसै खेर फालें, धेरै काम पनि गरें तर केही उपाय नलागेपछि कृषि कर्ममा लागें ।’
उहाँले २०६८ सालदेखि कुखुरा पाल्न थाल्नुभएको हो । झण्डै १६ लाखको लगानीमा सुरु भएको कुखुरा पालन व्यवसायले पनि गति लिन सकेन । सुरुमा बोइलर कुखुरा पाल्न थाल्नुभएको उहाँको कुखुरा फार्ममा कुखुरालाई रोगले सतायो । ‘समयमै प्राविधिक सेवा पाउन सकिएन । कुखुरा धमाधम मर्न थाले । लगानी पनि डुब्यो । ब्याजले डाँडै काटेको थियो’ उहाँले विगत सम्झनुभयो । ऋण गरी कुखुरापालनमा गरेको लगानी चुर्लम्म डुबेपछि झनै आर्थिक भार थपियो उहाँको थाप्लोमा ।
लगानी चुर्लुम्म डुबेपछि भोक, प्यास र निद्रा भुलेका मिश्रलाई लेयर्स जातको अण्डा दिने कुखरा पाल्ने सोच आयो । २०७० सालबाट लेयर्स पाल्न थाल्नुभएका मिश्रले अहिले अण्डा बिक्रीबाटै राम्रो आम्दानी गर्न सफल हुनभएको छ । ‘बोइलरभन्दा लेयर्स पालेपछि खस्किएको आर्थिक स्तर केही उकासिएको महसुस गरेको छु,’ उहाँले भन्नुभयो ।
मिश्रले पाउँदीमा ४ रोपनी जग्गा भाडामा लिएर कुखुरा पालन गर्नुभएको छ । फार्ममा ४ वटा टहरा छन् । कामदारको आवासका लागि एक कोठा, स्टोर कोठा र अण्डा संकलन कोठा गरी तीन कोठा सहितको ब्लक लगाएर बनाइएको एउटा घर छ ।
एक हजार लेयर्सबाट सुरु भएको उहाँको फार्ममा अहिले २५ सय ‘हाइलेन’ जातका लेयर्स कुखुरा छन् । कुखुरा फार्मबाट अहिले दैनिक १९ सय अण्डा उत्पादन हुँदै आएको छ । उहाँले एक प्याक अण्डालाई २ हजार ४ सय रुपैयाँमा बेच्दै आउनुभएको छ । उहाँका अनुसार एक प्याकमा २ सय १० वटा अण्डा राखिएको हुन्छ ।
‘अहिले बजारमा अण्डाको माग उच्च छ । त्यसैले पनि आम्दानी राम्रै छ,’ अण्डा संकलन गर्दै गरेका मिश्रले मुस्कुराउँदै सुनाउनुभयो, ‘अहिले तुलनात्मक रुपमा उत्पादन घटेको छ । तर अण्डाको माग उच्च भएकाले राम्रो मूल्य पाएको छु । खासै घाटा छैन ।’ फार्ममा पालिएका कुखुरा पूर्ण वयस्क हुँदै गएकाले उत्पादन घट्दो क्रममा रहेको उहाँले बताउनुभयो । ‘कुखुरा फार्मका सबै खर्च कटाएर मासिक १ लाख ९० हजार रुपैयाँ बचाउन सकिएको छ,’ द्धारिकाले भन्नुभयो ।
‘अण्डा बेचेको रकमले विगतमा डुबेको ऋणको सावाँ÷ब्याज तिर्न सजिलो भएको छ । परिवार चलाउन र छोराछोरीको पढाइ खर्च जुटाउन सजिलै भएको छ’ मिश्रले भन्नुभयो ।
मिश्रका छोरा सुजन कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरमा एमएस्सीएजी पढ्दै हुनुहुन्छ । जेठी छोरी पूजा र कान्छी छोरी सुजाता लमजुङमै बसेर पढ्दै छन् ।
सम्बन्धित निकायबाट प्राविधिक सेवा नपाउँदा आफूहरु समस्यामा पर्ने गरेको गुनासो द्धारिकाको छ । ‘कुखुरा पालनमा उच्च लगानी छ । जोखिम पनि उत्तिक्कै छ । आम्दानी पनि राम्रो छ । तर किसानले समयमा नै प्राविधिक सेवा पाउन नसक्दा लगानी डुब्ने खतरा रहन्छ,’ उहाँले भन्नुभयो ।
आवश्यक ज्ञान, सीप लिएर मात्रै कृषिमा प्रवेश गर्न उहाँको सुझाव छ । राज्यले कृषि क्षेत्रमा बोले अनुसार लगानी नगरेको उहाँको भनाई छ । सीमित सुविधा पनि पहुँचवालाले मात्रै पाएकोमा उहाँले दुःखेसो पोख्नुभयो । ‘पहुँचवाला कृषकले मात्रै राज्यको सुविधा पाएका छन् । वास्तविक किसानले राज्यको सहयोग पाउन सकेका छैनन् । अनि कसरी हुन्छ, मुलुकमा कृषिको विकास ?’ उहाँले प्रश्न गर्नुभयो ।